~रमा अधिकारी ‘कादम्बरी’~
हिट्लरको देशमा
हुनसम्म झेल हुँदो रहेछ
बुुद्धलाई बाँध्ने जेल हुँदो रहेछ।
बनाइदो रहेछ
विभेदको विशाल ग्याँस च्याम्बर
र, थुनिदो रहेछ समानताका बेजोड पुजारीहरु।
फाँडेर सभ्यताको सौम्य फुलबारी
हुर्काइदो रहेछ
विध्वंसको त्रासद गन्धेझार
खोसिदो रहेछ
निलो आकाश कोरीरहेका
कलिला नानीहरुको सुन्दर क्यानभास
र, उजाडिदो रहेछ उनीहरुको मीठो सपना।
के मात्र हुँदो रहेनछ
हिट्लरको देशमा
देवताहरुको सत्यानास हुँदोरहेछ
दानवहरुको सहवास हुँदोरहेछ
निर्भिक राज गर्दारहेछन्
मुसोलिनी,इदि अमिन र निरोहरु
अब्राहम र गान्धीलाई वेपत्ता पारिदो रहेछ
घन्किदो रहेछ बस्तीमा
रावणको जिन्दावाद
बबुरो रामको मूर्दावाद चल्दो रहेछ
अन्धकारमा छट्पटाउदा रहेछन्
सेता परेवाहरु
आलोकमा गिद्दहरुको रङ्गमञ्च जम्दोरहेछ।
उफ्! कसरी भनूँ?
नरभक्षीको दाउमा
दधिचीलाई पारिदो रहेछ
आफ्नै आमाको अस्मिता उधारिदो रहेछ
हिटलरको देशमा।।
– कुशादेवी-७, काभ्रे, नेपाल