~प्रकाश लामिछाने~
लागे लागोस् रिन बरु, दीन नलागोस्,
आफ्नै कर्म आफैलाई हीन नलागोस् ।
आत्मीय छन् मेरा निम्ति सजीव निर्जीव सबैथोक,
छिःछिः दुरदुर भन्नेगरी घिन नलागोस् ।
हरेक चीजको गहिराईमा पुगी मनन् गर्नसकूँ,
बैचैनी यो मनमा कुनै छिन नलागोस् ।
न विश्वास छ आशिषमा, न त पाप नै चिताउँछु,
शुभ असुभ शूर असुर जिन नलागोस् ।
खरकै छानो न्यानो मलाई, किन चाईयो पथ्थरी घर !
मीन पचासमा शीत चुहिने टिन नलागोस् ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)