कथा : प्रमिश

~शिशिर पराजुली~Shishir Parajuli

बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु चाहाना अनि आवश्यकता केहि थिएनन् । मेरो चाहाना अनि आवश्यकता केवल उ थिई । बिहानै उठेर कलेज जानु पर्ने अनि दिन भर कलेज बसेर घर फर्किँदा अब उसंग बोल्न पाइन्छ भन्ने कल्पनाले पनि यो मन फुरुंग हुने गर्थ्यो । अझ बुरुक बुरुक हुने गर्थ्यो । लाग्थ्यो ति दिन सधै यसरी नै चलिरहेछन् । त्यो समयको मिठास अनि कल्पनाले पनि मन रमाउने गर्छ ।

आज बर्सौँ पछी यो एक कुनामा मदिराको हल्का मातमा सबै पुराना दिन हरु छर्लक्कै याद आउदै छन् । सिनेमा मा आउँछ नि फ्ल्यास ब्याक, हो त्यसरी नै सबै छर्लक्कै याद आउदै छन् । बिहान सुर्य को किरण मेरो बिस्तारामा पर्नु अघि कलेज जानु पर्थ्यो अनि सुर्य को किरणले धर्ति उज्यालो बनाउँदै गर्दा मेरो धर्ति अनि मेरो संसारलाई पनि उसले उज्यालो बनाउन सुरु गरिसकेकी हुन्थी । सुर्य ले कति बेला धर्ति उज्यालो बनाउछ मलाइ मतलब थिएन किनकि मेरो मनमा उज्यालो केवल उसैले ल्याउन सक्थी तर सुर्य नै हराएर बनाउने अध्यारो संग चाहि मलाइ औधि रिस उठ्ने गर्थ्यो । अध्यारो हुनुको मतलव हो उ संग छुट्टिएर जानु पर्ने अनि मिलनको लागि फेरी अर्को बिहानीको पर्खाइमा रात कटाउनु पर्ने । दिनका उज्याला पल हरु उ संगै बित्ने गर्थ्यो । दिनको उज्यालो हामि कहिले घुम्न गएर बिताउने गर्थ्यौ त कहिले कलेजको लाइब्रेरी मा । कहिले सिद्धपोखरी त कहिले गार्डेन अफ ड्रिम्स तिर । अनि फेरी कहिले क्लासमा त कहिले प्राक्टिकल ल्याबमा । हामि जता भए पनि दिन रमाइलो नै हुन्थ्यो । उज्यालो समयको सदुपयोग हामीले अत्यन्तै राम्रो संग गर्ने गर्थ्यौ । अनि जब जब अध्यारो हुन थाल्थ्यो हामि एक अर्का संग छुट्टिनु नै पर्थ्यो । साँझ आएर गाडी चढ्न सहनु पर्ने कस्ट अनि जामको व्यथा उफ् ! त्यो समय संग कति रिस उठ्ने गर्थ्यो । कहिले गाडी आउला अनि कहिले त्यो जाम काटेर घर पुगम्ला भन्ने कल्पनामै मेरो यात्रा बित्ने गर्थ्यो । अनि अबको अध्यारो समय चाहि फेसबुकमा उसंगै बित्ने गर्थ्यो ।

त्यो अध्यारो संग पनि अर्कै खालको सम्बन्ध थियो । फेसबुकमा रात भर उसंग बोलेका अनि जिस्केका पल हरु अझै याद आउछन । उसंगै बस्न नपाए पनि फेसबुकका ति गफ हरुमा छुट्टै मज्जा आउने गर्थ्यो । कतिपय कुराहरु जुन मान्छे संग सिधै भन्न सकिन्न अझ भनु डर लाग्छ ति कुरा हरु फेसबुकमा भने निसंकोच भन्न सकिने रहेछ । त्यो म्यासेन्जरको साउण्ड संग पनि एउटा लगाव भइसकेको थियो । त्यो साउण्ड संग छुट्टै आशा पनि हुने गर्थ्यो । साउण्ड आउने तर म्यासेज अरुको देख्दा मेरा आशा माथि तुसारापात हुने गर्थ्यो । अनि जब उसैको म्यासेज आउथ्यो तब रात बितेको पत्तै हुन्थेन । रमाइला गफ अनि विभिन्न बहानामा झगडा ; यहि नै हुने गर्थ्यो हाम्रो रातको कहानी । दुइ जना दुइ फरक ठाउमा कहिले रमाई रहेका हुन्थे त कहिले रिसाई रहेका हुन्थे अनि कहिले वियोगमा हुन्थे त कहिले खुसीमा हुन्थे । समय यस्तो थियो कि एउटाको खुसि अर्कोको खुसि थियो । एउटाको वियोग अर्को को दुख थियो अनि एउटा को खुसि अर्काको लागि रमाइलो अनुभूति थियो । अझ भनु कि एउटाले जे आभास गर्थ्यो अर्को ले पनि त्यहि आभास गर्थ्यो । समयको रफ्तार संगै सम्बन्धको रफ्तार पनि बढ्न थालेको थियो । हामि अझै नजिक हुदै थियौ अनि अझै खुसि हुदै थियौ । लाग्थ्यो त्यो समयमा हामि दुइ भन्दा खुसि यो संसारमा कोहि थिएन होला । त्यो एक एक पल हरु अत्यन्त्यै मुल्यवान हुने गर्थ्यो अनि सुनौलो पनि । जता ततै मायाको आभास हुन्थ्यो । यो हास्न जानेको मुहारमा अझ धेरै हासो छारीइ रहेको हुन्थ्यो । सुनमा सुगन्ध भन्छन नि हो त्यस्तै थियो हाम्रो सम्बन्ध पनि । एउटा सुन भए अर्को सुगन्ध । दुनियाको नजर थियो हाम्रो सम्बन्ध माथि अनि सम्बन्ध माथि इर्ष्या गर्नेको संख्या पनि धेरै नै थियो ।

हामि हरेक समय संगै हुने गर्थ्यौ । एक पटक उ कलेज नआएको बेला म एक्लै बाटोमा हिड्दै थिए, अचानक छेउको पसल भित्र बाट आवाज आयो “बाबु आज नानि खोइ त । संगै हिडेको कस्तो सुहाउथ्यो” । त्यस दिन छुट्टै आनन्द आयो मनमा । अपरिचित बाट पनि त्यस्तो आवाज आउनु भनेको मलाइ ठुलै कुरो लाग्यो । अर्को दिन हामि बिहान संगै हिड्दा फेरी त्यहि पसल भित्र बाट आवाज आयो “आहा कस्तो राम्रो जोडी । कसैको आखा नलागोस है बाबु अनि नानि लाइ सधै खुसि राख्नु ।” त्यस दिन अझ आनन्द को सिमा नै रहेन । हाम्रो सम्बन्धले नया आयाम चुम्दै थियो अनि हाम्रो खुसीले सगरमाथाको सिखर चुम्दै थियो । त्यो दिन हामि एक पिरियड पढेर कलेज बाट निस्कियौ । हाम्रो गन्तव्य थियो : धुलिखेल । धुलिखेलको यात्रा पछी माथि डाडाको चिसो हावामा उ मेरो अंगालोमा बाधिएर भनि “आज के हो थाहा छ ।”

“छैन ” मैले उत्तर फर्काए ।

“प्रमिश डे” उसले उत्तर फर्काइ ।

“हाहा ल प्रमिश गर न त ” मैले भने ।

“आज हामि दुबैले एउटै प्रमिश गरौ ” उसले भनि ।

“के प्रमिश ?” मैले भने ।

“पहिला प्रमिश पुरा गर्ने प्रमिश गर ” उसले भनि ।

मेरो मुहारमा हासोको फोहोरा छुट्यो अनि भने “ल प्रमिश ।”

“प्रमिश गर कि तिमीले मेरो साथ कहिल्यै छोड्ने छैनौ” उसले भनि ।

निसंकोच मैले प्रमिश गरे । अनि उसले पनि त्यहि प्रमिश दोहोर्याई ।

*********************************************************************

बियरको अर्को बोत्तल पनि सकियो । बोत्तल सकिए संगै यसो मोबाइल हेरे । फेसबुक खोले । फेसबुकको वाल भरि प्रमिश डे भन्ने पोस्ट हरु देखे अनि न्युज फिड अझै सार्दै गएको “6 Months of our relationship” क्याप्सन सहितको फोटो देखे । फोटोको अनुहार चिर परिचित थियो । अनुहार उसैको थियो जसले मलाइ एक वर्ष अगाडी मसंग यहि दिन कहिल्यै साथ नछोड्ने कसम खाएकी थिई अनि खुवाएकी थिई । ति फ्ल्यास ब्याक फेरी आउन थाल्यो अनि यस पालि आवेग, घृणा , रुवाइ अनि दुखका साथ आउन थाल्यो । मनमा व्यथा अझै बढ्न थाल्यो अनि व्यथा घटाउन फेरी अर्को एक बोतल बियर मगाएर खनाउन थाले ति याद अनि उसले आज फेरी नया प्रमिश खाएको मान्छे संगको फोटो हेर्दै ।”

समाप्त !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.