कविता : यो देशमा सरकार छ

~यकिना अगाध~

मानिसहरु
मन्दिर
गुम्बा
गिर्जाघर
मस्जिदमा छन् ।

उनीहरु भनिरहेका छन्–
हे ईश्वर !
हे प्रभु !
हे अल्लाह !
हाम्रो रक्षा गर ।
हाम्रो रक्षा गर ।

लाम लाग्नेहरुमा छन्–
काखमा बच्चा चेपेकी दुखी आईमाईहरु
आँखा, कान, हात, खुट्टा नभएकाहरु
गरीबीले निचोरिएका साह्रै अभागी पुरुषहरु ।

धन्न !
मन्दिर, गुम्बा, गिर्जाघर र मस्जिदहरु छन्
दुखको डडेलोले डढेका छातीहरु पिटेर रुन पाएका छन् ।

देशमा सरकार भईदिएको भए
देशमा भएको सरकारसँग विश्वास भएको भए
दुखी, अभागीहरु
मन्दिरको ढोकामा उभिएर ईश्वर भाग्नुभन्दा
सरकारसँग भन्थे होलान्–
हे सरकार हाम्रो रक्षा गर ।
हे सरकार हाम्रो रक्षा गर ।

सरकार जो छ
ढुङ्गाको मुर्ति जति पनि दयावान हुन सकेनन्
सरकारमाथि
ढुङ्गालाई जति पनि विश्वास गर्न सकेनन्
कस्तो लाजमर्दो कुरो त
तर सरकारलाई केही लाज छैन
उ भन्छ–
यो देशमा सरकार छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.