कविता : अन्तिम सम्बोधन

~मनु आभास~

सक्छौ भने फिर्ता पठाइदेऊ
तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र ।
जहाँ लेखिएको थिएन,
सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश ।
सिनेमाको नामुद नायकको
‘रेडिमेड डाईलग ।
तिम्रो लागि खुर्पे जून टिपेर
शिरमा सिउरिदिने कुरा ।
सापटी लिएर–
हिमालसँग अलिकति मुस्कान
फूलसँग अलिकति सुवास
इन्द्रेणीसँग अलिकति रङ्ग
हृदय तप्काएर,
हृदयकै मसीले पोतेको थिएँ–
भावनाको क्यानभास र, त्यसैमा अल्झाइपठाएको थिएँ– मन ।
तिमी आकाशझैँ मौन बसिरह्यौ
केबल मौन ।
समयसँगै
तिमी घाम भयौ र म जून ।
तिमीसित छुटेपछिका सयौँ रात,
सम्भँmदै सम्झादै पत्रका
एक–एक अक्षरहरू
हुबहु उतार्ने कोसिस नगरेको होइन तर, हराए शब्दहरू
जसरी हराएका थियौ तिमी ।
हरेक पहिलोहरू
अक्सर प्रिय हुँदा रहेछन्
ज्यादै प्रिय, जस्तो—
पहिलो प्रेम
पहिलो भेट
पहिलो स्पर्श
पहिलो चुम्बन
पहिलो बिछोड ।
सक्छौ भने फिर्ता पठाइदेऊ
तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको
मेरो पहिलो प्रेमपत्र ।

प्रकाशित :माघ २३, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.