~रुपिन्द्र प्रभावी ‘कटु’~
झट्कारेर जीवन– गति
ओर्लिरहेको जोवन साक्षी राखेर
पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती
खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर ।
गाँस त काबुमा रहेन
खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ
मानौं,
यो मुलुककै नागरिक होइनन् उनीहरु
वा
सुकुम्बासीलाई यो देशको नागरिक हुने अधिकार छैन ।
एकलास जङ्गललाई सुन्दर बस्ती मानेरै पनि
बाँच्ने अभिलाषामा झुण्डिदो रहे्छ जीवन
उही अभिलाषाको विसौनी खोज्दै बस्ती बसाले उनीहरुले
तर दुर्जन
दुष्टहरु ठोक्छन् गोली र तसाउँछन् बस्ती
मानौं,
सर्वहाराको यो धर्तीमा बाँच्ने अधिकार छैन
बेसहाराले यो पृथ्वीमा बास बस्नै पाउँदैनन् ।
बस्ती आफैंले निर्माण गरेका
टहरा आफैंले सिर्जना गरेका
जलाइन्छ
जब तब बञ्चरो उठाउनुको विकल्प के ?
हँसिया, हथौडा र खँुडा उचाल्नुकोे विकल्प के ?
भाला, लाठा र खुकुरी जुर्मुराउनुको विकल्प के ?
निर्विकल्प सुकुम्बासी बस्ती उर्लेर बस्तीमा उम्लिन्छ रगत
मानौं,
उम्लेर पोखिनुमा सन्देह छैन कुनै
बस्ती नै जलाइएपछि
उम्लेको रगतमा आफैं वाफिनुको पर्वाह छैन कुनै ।
हो मात्र जिजीविषा बोकेर
जिन्दगीको खोजीमा सुकुम्बासी बस्तीहरु
आकासमुनि बाँच्ने अधिकार खोज्दै
रक्तक्रान्तिको ज्वालामुखीमा हामिइरहेछन्
रणसङ्ग्रामको अविजितयात्रा ललकारिरहेछन् ।
– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)