~टोप बहादुर राई~
आउँदै छु आमा
वर्षौ पछिको यसपाली त आउँदै छु
आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु
सायद यसपाली त रोकिए होलान,
भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु
सायद यसपाली त आफ्नै छानो छाउदै होलान
त्यसैले
आउँदै छु आमा
वर्षौ पछिको यसपाली त आउंदै छु
फाटेको गुन्यु, चोली र धोतिहरु फेर्न फर्कि आउँदै छु ।
वर्षौ आलो रगत ले लतपतिएका ति आँगनहरु
सायद यसपाली त दुबोले सजिए होलान
आतंकले सुन्य बनेका ति गाउंहरु
सायद यसपाली त हाक्पारे र झयाउरे भाकाले गुञ्जिए होलान
त्यसैले
आउंदै छु आमा
वर्षौ पछिको यसपाली त आउंदै छु
निधार भरि टिका, जमरा र आर्शिवाद थाप्न फर्कि आउंदै छु ।
वर्षौ ओइलाएका ति मखमली र सयपत्रीहरु
सायद यसपाली त फुले होलान,
ओझेलमा परेका ति देउरालीका रोटे पिङहरु
सायद यसपाली त घुमे होलान
त्यसैले
आउंदै छु आमा
वर्षौ पछिको यसपाली त आउंदै छु
चेलीबाट गलाभरी माला भिरी रोटे र लिङ्गे पिङ्ग मच्चिन फर्कि आउंदै छु ।
वर्षौ लेउ र झयाउले कुरुप बनेका ति झुप्राहरु
सायद यसपाली त रातो माटो र कमेरोले पोतिए होलान
बम र बारुदले भत्किएका ति चौतारीहरु
सायद यसपाली त परदेशिएका आफन्तहरुको आगमनलाइ नै नियाल्दै होलान
त्यसैले
आउंदै छु आमा
वर्षौ पछिको यसपाली त आउंदै छु
विदेशी महल र विलाशिता बीच भोग्नु परेका पिडाहरु संगाल्दै आफ्नै देश फर्कि आउंदै छु ।
टोप बहादुर राई
संखुवासभा, हाल हङकङ
October 5, 2008
(स्रोत : खोटाङ डट अर्ग)