कविता : गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म

~डा.मधु माधुर्य~

समयको कालखण्डमा
स्पेसको अन्तरकुनाहरूमा
खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा
स्वरहरुको तरंगमा …

हिजो गाउँमा बजिरहेको थिएँ
झरनाको आवाजसंग इर्ष्या हुन्थ्यो
नदीको सुसाइसंग इर्ष्या हुन्थ्यो
हुरीको सुसेलीसंग
जोरी खोज्थें –
आकासको गड्याङ्ग गुरुङसँग !

“म” को प्रतिध्वनी पहरामा ठोकिँदा
कुनै मेलाको कोलाहलजस्तो
आवाजहरुको गुञ्जन
रमाइलै थियो
त्यसैमा अभ्यस्त थिएँ म

चरा-चुरुँगीको चिरविरसँग प्रतिस्प्रधा हुन्थ्यो
झ्याउँकिरीसँग रत्यौली चल्थ्यो …
प्रकृतिको रंगमंचमा
नैसर्गिक सिम्फोनी आवाजमा
म –
सिंगो
बाँचिरहेको थिएँ …

सभ्यताको अनुहार हेर्न
जब म शहरमा आएँ –
निस्ससिएर
ध्वनी प्रदुषणमा
हराएँ …

याद छ :
हराउनुअघि
कुनै दिन म त्यहाँको ओपेरा थिएटरमा छिरेको क्षण
कुनै कार्लोसको गलाबाट
जोड जोडले घन्किरहेको थिएँ
श्रोताहरुको मन उद्द्वेलित गराउँदै
बलिरहेका चिमहरु पट-पट फुटाल्दै…

जब
रातको आगमन भयो
शहरलाई हुचीलहरुले कब्जा गर्यो
बारहरुबाट छुटेको कर्कश ध्वनीको ऐठनले
म वेहोस वेहोस भएर
शुन्यतामा म हराउन थालें …
गाउँको परिवेशमा रमाइरहेको
म –
शहरमा हराएँ |

अभयपुर, दोलखा,
हाल: अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.