~एकु घिमिरे~
१. अध्ययनको पृष्ठभूमि
‘काँडे भ्याकुरको शुभ विवाह’ नामक कृति साहित्यकार ताराबहादुर बुढाथोकी “पाख्रिबासे कान्छो”द्वारा लिखित पन्ध्र लोककथाहरूको सङ्गालो हो । सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा शिक्षण र बरुण बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने साहित्य साधक ताराबहादुरको यो कृति सङ्खुवासभाका राष्ट्रसेवक कार्यालय प्रमुखहरूले वि.सं. २०७५ सालमा प्रकाशन गरिदिएका हुन् । बुढाथोकीका यो भन्दा अघि परमेश्वरको एघारौं अवतार ( हास्य व्यङ्ग्य सङ्ग्रह), सङ्खुवासभा एक चिनारी ( जिल्ला परिचय ), जीवनको सीमारेखा ( उपन्यास ), अरुण उपत्यकाको लोकभाका ( लोकसाहित्य खोज), जिन्दगीका कुइनेटा ( संस्मरण), भाँडाकुटी ( लोककाव्य) गरी छ ओटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
लोक जीवनको मौखिक परम्परामा हस्तान्तरित हुँदै आएका कथाहरू नै लोककथा हुन् । एउटाले भन्ने र अरूले सुन्ने भएकाले यस्ता कथालाई भन्ने कथा पनि भनिन्छ ( बन्धु, २०७१ : २८४)। नेपाली समाजमा गोठालो जाँदा, मकै खोसेल्दा, मकै गोड्दा, बाटो हिँड्दा, चौतारीमा शित्तल ताप्दा अनि दिनभरी काम गरेर बेलुकी सबै परिवार भेला भएपछि आगो ताप्दै वा जूनेली रातमा आँगन अथवा सिकुवामा गुन्द्री, राडी, पिरा आदिमाथि बसेर सुनाइने र सुनिने कथाहरू नै लोककथा हुन् । यीनीहरू मौखिक परम्परामा जीवित हुन्छन् । कथानक एकै भए पनि वाचकको क्षमता अनुसार कथाका कतिपय पक्ष थपघट पनि हुन सक्छन् । लोक जीवनमा प्रचलित काल्पनिक तथा रोमाञ्चक तत्त्वले भरिएका कलात्मक, सरल तथा सरस परम्परित मौखिक गद्याख्यान लोक कथा हो भनी मोतिलाल पराजलीुले उल्लेख गरेका छन् ( पोखरेल र अन्य, २०७६ : २००)।
लोककथा लेखिँदैन, सङ्कलन गरिन्छ । यसरी सङ्कलन गर्दा उक्त कथा कुन ठाउँबाट को मार्फत सङ्कलित हो सो खुलाउनु राम्रो मानिन्छ तर बुढाथोकीको यो कृतिमा स्रोत खुलाइएको छैन । यस विषयमा प्रा. डा. कपिलदेव लामिछानेले पनि भूमिका खण्डमा चर्चा गदै भनेका छन् ‘ …सङ्कलन कहाँबाट कहिले कसबाट गरियो त्यो मुख्य हुन्छ । त्यसको उल्लेख गरिन्छ । स्थान र समय के कारणले मुख्य हुन्छ भने त्यही लोककथा पनि भिन्न स्थान र भिन्न समयमा भिन्नै किसिमले समाख्यान हुने गर्दछ । लोककथाको पाठ हुन्छ, मूलपाठ हुँदैन । जहिले जहाँबाट सङ्कलन गरिए पनि त्यो मूल नै हुन्छ । त्यसैले मूलपाठ नभनेर पाठ भन्ने गरिन्छ । यहाँ लोककथा सङ्कलनको स्थान समय र स्रोत अर्थात संवाहकको उल्लेख छैन (पृ. ज) तर बुढाथोकीले प्रत्येक कथामा उल्लिखित कुराहरू नखुलाएका भए पनि कृतिको अगाडि ‘लेखक्यौली’ शीर्षक राखी आफ्ना कुराहरू राख्ने क्रममा भनेका छन् ‘ अरुण उपत्यकाभित्र आफू सानै छँदा कहिले गोठ बस्न जाँदा पिता खेमबहादुर, दाजु नरेन्द्र, गाउँले साथी त कहिले हजुरआमैबाट सुनेका लोककथा लेखिराखेको थिएँ दिलदिमागका पानामा ( पृ. ठ)।
राम्रो आवरणमा सजाइएको ‘काँडेभ्याकुरको शुभ विवाह’ कृतिमा आवरणकारको नामोनिशान छैन । राम्रो बाइण्डिङ, स्तरीय कागज र छपाइ भएको यो कृतिको आकार पनि सुहाउँदो छ भने मूल्य दुई सय पचास राखिएको छ । यो लेखमा उल्लिखित कृतिका सबै कथाहरूलाई मोतिलाल पराजुलीले दिएका लोककथाका तत्त्वहरू ( पोखरेल र अन्य, २०७६ : २०५) का आधारमा समीक्षा गर्ने प्रयास गरिएको छ ।
पुस्तकका राम्रा र नराम्रा पक्षहरूलाई निष्पक्ष भएर केलाउने कार्यलाई पुस्तक समीक्षा भनिन्छ । प्रा.डा. पारसमणि भण्डारीका अनुसार कुनै ग्रन्थ प्रकाशन भइसकेपछि त्यसलाई गहकिलो ढङ्गले अध्ययन गरी सो पुस्तकका बारेमा टिप्पणी गर्नुलाई पुस्तकसमीक्षा भन्ने गरिन्छ । पुस्तक समीक्षा गर्दा प्रकाशित सामग्रीको आदिदेखि अन्त्यसम्मका समग्र पक्षको विश्लेषण गरिन्छ । यसमा प्रकाशित सामग्रीको तर्कपूर्ण विश्लेषण गरी त्यसको गुणत्मक पक्ष र स्तरीयताको मुल्याङ्कन गरिन्छ ( भण्डारी, २०७४ : ३९) । यसैगरी राष्ट्रिय नेपाली शब्दकोश ( २०६३) ले समीक्षा शब्दको अर्थ गडेर हेर्नु; निहालेर हेर्नु । गुणदोषको निष्पक्ष र यथार्थ विवेचना; समालोचना । राम्रोसँग गरिएको जाँच । आलोचना । मीमांसाशास्त्र । भनी उल्लेख गरेको छ । ( भट्टराई, २०६३ : ९३६) माथिका भनाई र शब्दार्थहरूलाई हेर्दा कुनैपनि पुस्तकमा भएका हरेक पक्षहरूको गहन अध्ययन गरी गुणदोस खुट्याउने कार्यलाई नै पुस्तक समीक्षा वा कृति समीक्षा भन्न सकिन्छ ।
साहित्यकार ताराबहादुर बुढाथोकीको कृति ‘काँडे भ्याकुरको शुभ विवाह’ भित्र जम्मा १५ ओटा लोककथाहरू सङ्ग्रह गएिका छन् । पुस्तकमा अरुण मनकामनाको मुन्धुम, लमाभुँडे र लामहातेको कथा, हिक्मतबहादुर, मान्छेकी छोरी, बित्ते, आमाको देब्रे आँखो, जम्बु मन्त्री, हरिण र कौवा, बलरामको सैंतालसँग जम्काभेट, शोभाकान्तको पितृलोक यात्रा, सुनको थाल, सत्यको धन, गुनले गुन खान्छ, तँलाई म खान्छु, ओइ¥याइदिऊँ, सभापोखरीमा ः पारुहाङ सुम्निमा र काँडे भ्याकुरको शुभ विवाह शीर्षक कथाहरू राखिएका छन् । लोक साहित्यका विद्वान् मोतिलाल पराजुली भन्छन् ‘ कुनैपनि कलात्मक विधाहरूको निर्माणमा त्यसका आन्तरिक अङ्गहरूको समन्वय आवश्यक हुन्छ । लोक कथा आख्यानयुक्त साहित्यिक विधा भएकाले यसको निर्माणमा पनि अख्यान साहित्यमा प्रयोग हुने तत्त्वहरूको संयोजन पाइन्छ ( पोखरेल र अन्य, २०७६ :२०५) । यो लेखमा पराजुलीले दिएका लोककथाका तत्त्वहरू कथानक, अभिप्राय, पात्र, परिवेश, कथोपकथन, द्वन्द्व, उद्देश्य, शैली र भाषाका आधारमा चर्चित कृतिका लोककथाहरूको समीक्षा गरिनेछ ।
लोककथाको विषय विभिन्न स्रोतका हुन सक्छन् तर त्यसका विषयवस्तुहरूको श्रृङ्खलालाई अर्थात घटनाहरूको श्रृङ्खलालालाई कथानक भनिन्छ । लोककथाका घटनाहरू असाधारण र अतिरञ्जित हुने गर्दछन् । यस विषयमा मोतीलाल पराजुली भन्दछन् : ‘….जुनसुकै स्रोतबाट विषयवस्तु लिइए पनि विषयलाई अतिरञ्जित, कुतूहलपूर्ण र रोचक ढङ्गले प्रस्तुत गरिन्छ । त्यसैबाट लोककथा आकर्षक मनोरञ्जक र रोचक बन्न पुग्दछ – पोखरेल र अन्य, २०७६ : २०५)। लोककथामा आउने घटनाहरू अद्भुत किसिमका हुन्छन् । घटनाहरूले अकस्मात चरम उत्कर्षमा पु¥याउँछन् अनि फेरि आश्चर्यजनक मोडबाट सामान्य अवस्थामा कथान्त हुन्छ । ताराबहादुर बुढाथोकीकृत सङ्ग्रहमा समावेश गरिएका लोककथाहरूमा के कस्ता कथानक रहेका छन् भनी यो खण्डमा केलाउने प्रयास गरिएको छ ।
सङ्ग्रहको पहिलो लोककथा ‘अरुण मनकामनाको मुन्धुम’ शीर्षकमा तेत्तीसकोटी देवताको प्रतिकृती भएको एउटा अद्भुत ढुङ्गो तिब्बतको पठारमा सृष्टिकालमै देखापर्छ । त्यही बाटो भएर मानसरोबरको निकास फुङ्चु आउँदै हुन्छ । त्यो ढुङ्गाले आफूलाई पनि काँशी लगिदिन आग्रह गर्दछ । पत्थरले आफूलाई लिएर गए बाटो खोल्न सगाउने भनेपछि फुङ्चुले उक्त पत्थर लिएर आउँछ । तेत्तीसकोटी देवताका साथ फुङ्चु आउँदै गरेको सुनेपछि बरुण पनि तयारीमा रहेको उल्लेख छ । कथामा बरुणले अरुणलाई मामा साइनो समेत लगाएको छ । गर्भ कथाका रूपमा भाट र भटेनीको हाडनाता यौन सम्पर्क अनि भागिरथले तपस्या गरी गंगालाई पृथ्वीमा झारेको प्रसङ्ग पनि जोडिएको छ । अरुण भागीरथी र बरुण सहित मिलेर आउँदै गरेको भन्ने आकाशवाणी भएपछि लुम्बासुम्बा हिमालको काखबाट सभा खोला पनि उनीहरूलाई भेट्न भनी आएको अनि तेत्तीस कोटी देवताकृति भएको पूर्व चर्चित ढुङ्गो मनकामना भएको थाहा पाएपछि अरुण नदीले पाउमा ढोगेको, मनकामनालाई थकाइ लाग्यो होला भनी खोला किनारमा एकछिन बिसाएपछि लिएर जान बिर्सिएको र मनकामनाले पनि सोही ठाउँमा बस्न चाहेपछि अहिलेको अरुण गड्तिरको मनकामना स्थापना भएको कथानक छ । यसरी खोला र ढुङ्गा गफ गर्नु, अन्य खोलाहरू पनि अरुणसँग मिसिन आउनु, भाषिक व्यवहार गर्नुजस्ता श्रृङ्खलाहरूले यो कथाको कथानक लोककथाका दृष्टिले सही भएको देखिन्छ ।
सङ्ग्रहको दोस्रो कथा ‘लामभुँडे र लामहातेको कथा’ राखिएको छ । यो कथाको कथानक लामभुँडे र लामहातेको जादूमय कलाका कारण एउटा राजकुमारले दम्भी राजाकी सुन्दरी राजकुमारीसँग विवाह गरेको प्रसङ्ग छ । कथामा राजाले राजकुमार सामु तेस्र्याएका अत्यासलाग्दा सर्तहरूले लोककथाको कथानकलाई कुतूहलपूर्ण बनाएका छन् भने राजकुमारले ती समस्याहरू समाधान गर्न प्रयोग गरेका काइदाहरूले कथालाई सिर्जनात्मक कथाकाट अलग पारेको देखिन्छ । यसरी कथानकका दृष्टिबाट यो शक्तिशाली लोककथन बन्न सकेको देखिन्छ ।
तेस्रो कथामा मावल हिँडेका दुई दिदीभाइलाई नै खान खोज्ने राक्षस–राक्षसनीको चतुरतापूर्वक बध गर्ने हिक्मत बहादुरको कथा छ । राक्षस, राक्षसनी र हिम्मतिलो हिक्मत बहादुरको कथानकले यो कथालाई स्तरीय बनाएको देखिन्छ ।
सङ्ग्रहको चौथो कथामा देवगुरु वृहस्पतीलाई पितृलोक जान मन लागेपछि जमुना नदीको किनारै किनार हिँड्दै जाँदा सिनो अगाडि राखेर टोलाइरहेको गिद्धसँग कुराकानी हुँदा मान्छेले मामा भान्जा गोरु सँगै नारेर घोर अनर्थ र पाप गरेको थाहा पाएर भोक लाग्दा पनि सिनो नखाएको गिद्धको कुरा सुनेर डाँडा पारि गाउँमा हत्तार हत्तार गरी गएर हेर्दा एउटा किसानले जोत्दै गरेको देखिन्छ । वृहस्पतीले किसानका छेउमा गएर गोरुको बारेमा सोधेपछि गिद्धको कुरा सत्य ठहर्छ । किसानले गोरु खोलेपछि गिद्धलाई सिनो खाऊ भनिराखेर जाने विचार गरी वृहस्पती एकछिन त्यहीँ बस्छन् । किसानले गोरु खोलेपछि हत्तारिएर गिद्ध भएका ठाउँमा पुग्दा आधा सिनो खाइसकेको हुन्छ । गिद्धले आफूसँग दिव्य दृष्टियुक्त चस्मा भएकाले डाँडापारिको भएको घटना पनि तत्कालै देख्न सक्ने बताउँछ । पितृलोक सोझै जान नपाइने हुँदा मान्छेकी छोरीसँग बिहे गर्नुपर्ने तर मत्र्यलोकमा देख्नका लागिमात्र मान्छे भएकाले असली मान्छे पहिचान गर्न उही दिव्य दृष्टियुक्त चस्मा लगाउनुपर्ने गिद्धले देवगुरु वृहस्पतिलाई बताउँछ । आफूसँग दुईवटा त्यस्ता चस्मा भएकाले एउटा वृहस्पतिलाई दिएर पठाउँछ । मत्र्यलोकमा वृहस्पतिले खाली आँखाले करोडौँ मान्छे देख्छन् तर दिव्य आँखाले बल्लतल्ल नेपालको एउटा पहाडी गाउँको झुप्रामा सार्की थरको मान्छे देखिन्छ र उनैकी छोरी जूनेलीसँग विवाह गर्दछन् र त्यहीँ घरजम गरी बस्दैमा अन्य ऋषिगण उनलाई लिन आएको कथानक छ । गर्भे कथाका रूपमा आएको ऋषि पत्नी जूनेलीले भान्न्साघरभित्र टपरीमा गरेको दिशा अकस्मत सेतो मूला भएको प्रसङ्ग पनि रोचक छ । यसरी कथानकलाई हेर्दा यो अब्बल लोककथा भएको पुष्टि हुन्छ ।
सङ्ग्रहको पाँचौ कथा ‘बित्ते’ शीर्षकमा चाहिँ शारीरिक रुपमा होचो र लठेप्रो झैँ लाग्ने भाइ बित्तेलाई बाठो अनि सशक्त भित्तेले आफ्नी श्रीमती सहित लागेर अनेक दुःख दिने, अंशमा ठग्ने र गरी खाएको समेत आरिस गर्ने गर्दछ । तर बित्तकोे बुद्धि अत्यान्त तेज हुन्छ । त्यही बुद्धिलाई उपयोग गरी बित्ते धनी बन्दै गएको र कुबुद्धि भित्ते मारिएको कथानक छ । जुक्ति र बुद्धिको उपयोगको कथानक भएको यो लोककथा पनि राम्रो ठहरिएको छ ।
छैटौं कथा ‘आमाको देब्रे आँखो’ चाहिँ कथानकका दृष्टिले अत्यान्तै कमजोर लोककथा ठहरिएको छ । यो कथामा कुनैपनि घटनाक्रम लोककथाको जस्तो छैन र पात्रहरू पनि सर्वसाधारण छन् । घटना असाधारण र रोमाञ्चकारी पनि छैन । कथानकका दृष्टिले यो एक सिर्जनात्मक बालकथा जस्तो मात्रै देखिन्छ ।
सातौँ कथा ‘जम्बु मन्त्री, हरिण र कौवा’ मा सङ्खुवासभाली कुनै जङ्गलको दुईतर्फ धोद्रो परेको एउटा रूखमा बस्ने स्याल र हरिणको सोही रूखको टुप्पामा बस्ने कागले मीत बोलिदिन्छ तर खानेकुरा नपाएपछि जाली अनि धूर्त स्यालले मान्छेसँग मिलेर हरिणलाई पासोमा पार्छ । पासोमा परिसकेको हरिणलाई कौवाले जुक्ति सिकाइदिएर उम्किन्छ भने स्याल भने नियमित आकस्मिकताका कारण तत्कालै मरेको कथानक छ । यो कथानकले यो लोककथालाई सशक्त बनाएको छ ।
आठौँ लोककथाको शीर्षक ‘बलरामको सैंतालसँग भेट’ रहेको छ । यो कथामा आफ्नो परदेश गएको दाजुले घर नछोड्नु भनेकाले ढुङ्गे घर नाम्लो लगाएर बोकी हिँडेको बलरामको बेहुली लिएर आउँदै गरेको जन्तीसँग भेट हुँदा बाटो छोडिदिन चौतारीको बरमा चढेको तर बेहुली र लोकन्ती पानी खान जाँदा देखिएको सौन्दर्यमा लठ्ठिएर आफ्नो भारी छोड्न पुगेको बलरामका कारण वेहुला सहित सबै जन्ती थिचिएर मरेपछि दुई केटीलाई लिएर हिँड्न वाध्य हुन्छ । दुई केटी सहित बिहेमा ल्याइएका बाजागाजा र सुँगुरको पाठो लिएर बलराम एउटा सुनसान गाउँको कुनै घरमा बास बस्न पुग्छ । उक्त घरकी बुढीलाई त्यही दिन सैंतालले खाने दिन हुन्छ । बलरामको जुक्तिले सैंताल फेरि त्यो गाउँमा नआउने गरी भागेपछि उनीहरू त्यही गाउँमा आमैलाई आमा ठानी बसेको कथानकले यो अब्बल लोककथा बनेको छ ।
यो सङ्ग्रहको अर्को कथा ‘शोभाकान्तको पितृलोक यात्रा’ शीर्षक लोककथामा शोभाकान्त नामक बाह्मण एकका सट्टा दुईओटा पत्ता बेलको पात चुडाएर पाप गरेपछि उक्त पापबाट मुक्ति हुन के गर्नुपर्ला भन्ने जिज्ञासा मेट्न मन्दिरका पुजारीको सल्लाह बमोजिम पितृलोकमा भगवान् श्रीविष्णुलाई भेट्न जान्छन् । उनले दुई बिघा बेलघारी फाँडेर खेती गर्ने किसानको पनि उनकै जस्तो मुक्तिको बाटो खोजिदिनुपर्ने हुन्छ । यसै गरी पानी पिउँन लाग्दा भेटिएको ठूलो माछाको शारीरिक जलनको समेत प्रश्न विष्णुसम्म पु¥याउने गरी उनी अघि बढ्छन् । अर्को ठाउँमा बाह्र वर्षसम्म किन गाई नब्याएको भन्ने पनि प्रश्नको उत्तर विष्णुलाई सोधिदिने गरी उनी अघि बढ्छन् । पितृलोक पुग्नु अघि हरेक बिहान बनाएको घर बेलुकी लडिहाल्ने समस्याको समेत उत्तर खोज्ने गरी उनी श्रीविष्णु सामु पुग्छन् । भगवान्ले शोभाकान्तलाई १०८ गाई दान गरी सय बाह्मणलाई भोजन गराउनुपर्ने बताउँछन् । दुई बिघा बेलघारी फाँडेर खेती लगाउनेलाई चाहिँ एउटा गाईदान र एक बाह्मणलाई मात्र भोजन गराउँदा हुने किनकी किसानको परिश्रम र उत्पादनले धेरैलाई बचाएको हुन्छ तर शोभाकान्त चाहिँ आफू कहिल्यै खेती नगर्ने अनि अर्काको भर पर्ने बाह्मण भएकाले पाप कटाउन धेरै दान गर्नुपर्ने विष्णुले बुझादिन्छन् । यस्तै ठूलो माछाले खाफ्नो ज्ञान अरूलाई नबाँडेको बरू उल्टै साना माछालाई खाने गरेकाले पानी भित्र हुँदा पनि जीउ पोलेको अनि बाह्र वर्षसम्म गाई नब्याउनुको कारण उक्त किसानले कहिल्यै गाई दान नगर्नु भएको विष्णुले बताइदिए । यसैगरी ‘कन्यादान गरेर अर्काको भित्तो पोत्न के पाठाउनू ?’ भनी कन्यादान नगरेका कारण भित्तो पोत्नै नपरोस् भनी हरेक दिन लडेको कुरा विष्णु भगवानले भनेपछि शोभाकान्तले उत्पादन र दान महान् रहेछन् भन्ने बुझेको भन्ने कथानकले यसलाई राम्रो लोककथा बनाएको छ ।
सङ्ग्रहको अर्को कथाको शीर्षक ‘सुनको थाल’ रहेको छ जसमा जग्गा जमिन नभएको धनबहादुर र मनकुमारीको बच्चा जन्मिएपछि घरमा खानेकुरा नभए पछि अर्काको खेतबाट धान चोर्ने विचार गरी गएको धनबहादुर जून झुल्किएपछि चन्द्रभगावानले देख्नुभयो भनी रित्तै फिर्दै हुन्छ । यसै बेला एउटा अनौठो मान्छेले उसलाई सुनको थाल उपहार दिन्छ । त्यही सुनको थाल बन्धकी राखेर आएको पैसाले जमिन किनी धनबहादुर र मनमाया परिश्रम गर्न थाल्छन् । पछि साहूकामा ऋण तिर्न जाँदा थाल भेटिँदैन, भरे घरमा आएर हेर्दा आफ्नै घरको आडमालीमा त्यो सुनको थाल पहिलाकै बोराभित्र पाइन्छ । यसरी अलौकिक थालको कथानकले यो लोककथा सान्दर्भिक बनेको छ ।
सङ्ग्रहको एघारौँ कथाको शीर्षक ‘सत्यको धन’ राखिएको छ जसमा पशु बोली बुझ्नसक्ने क्षमता भएकी रूपा र नवीन मैतालु फिर्काउन जाँदा बास बसेको ठाउँमा स्यालहरूले कराएर नजिकैको खोलामा हिराको हार लगाएको लास बगेर आउँदै गरेको सूचना पाएपछि रुपा खोलामा गएर हिराको हार ल्याउँछिन् तर पशु बाक्य नबुझ्ने उसको श्रीमान् नवीनले रूपाले मूर्दा खाँदिरहिछे भन्ने ठानेर माइतमै छोडेर बेपत्ता हुन्छ । पछि रूपाका सासू ससुरा गएर उनलाई घर लिएर आउँदा कागको भनाइ बुझेर उनीहरूले असर्फी हात पार्छन् र धनी बन्दछन् । असर्फीको भारी बोकेर आउने भरियाहरूको योजनामा उनीहरूको सम्पत्ती चोरिन्छ तर चोरहरूको आपसी लोभका कारण मृत्यु भएको र आफ्नो धन सुरक्षित रहेको रूपाले सपनामा देखेर थाहा पाउँछिन् । उक्त धन लिन जाँदा नवीन पनि त्यहीँ आइपुग्छ र पुनर्मिलनमा कथान्त हुन्छ । यसरी कथानकलाई हेर्दा पशुभाषा बुझ्ने र सत्य सपना देख्ने असाधारण बुहारी रूपाको कथानकले यो लोककथा स्तरीय बनेको छ ।
अर्को कथा ‘गुनले गुन खान्छ, तँलाई म खान्छु’ शीर्षकको लोककथामा भोजपुरको सोझो र दयालु किसानले डडेलोबाट एउटा नरभक्षी अजिङ्गरलाई बचाएपछि उल्टै किसानलाई खना तम्सिएको अजिङ्गरकै पक्षमा बरको रूख र गोरुले बोलेछन् तर एउटा स्यालले चाहिँ जुक्ति लगाएर सो अजिङ्गरलाई मार्ने योजना बनाइदिएछ भन्ने कथानक भएको यो निक्के राम्रो लोककथा हो ।
सङ्ग्रहको तेह्रौँ कथा ‘आइ¥याइदिऊँ !’ मा आसाममा उखु खेतीबाट केही पैसा कमाएर ल्याई नेपालको कुनै पहाडी गाउँमा राम्रो घर बनाएर एउटी केटी खोजी विहे पछि नयाँ घरमा बस्न थालेको सन्तमानको कथा छ जहाँ पहिलो राती बाह्र बजे आकाशबाट हो कि घरको छानाबाट ‘ओइ¥याइदिऊँ, ओइ¥याइदिऊँ …’ भन्ने आवाज आएछ । ती नव दम्पतीले तर्साएको ठानी नसुती रात काटेछन् । भोलिपल्ट पनि त्यस्तै आवाज आएपछि भने उनीहरूले डरले घर नै छोडेछन् । केही पछि कुनै बिहेको जन्ती आएर सन्तमानले छोडेका घरमा बसेछन् । धन्दापात गर्ने केटोमात्र सुत्न बाँकी रहेछ । त्यो रात पनि पहिला जस्तै ‘ओइ¥याइदिऊँ, ओइ¥याइदिऊँ …’ भन्ने आवाज आएछ । केटाले लगत्तै ‘ओइ¥याइदेऊ ’ भनेपछि सुनका असर्फी भो नभन्जेल ओइरिएछन् । यो कुरा एक कान, दो कान हुँदै सन्तमानले पनि सुनेर आफ्नो घरमा आई हेदा जन्तीले लान छुटाएको एउटा असर्फी भेट्छ र आफ्नो घरमा सर्छ तर ‘ओइ¥याइदिऊँ, ओइ¥याइदिऊँ …’ भन्ने आवाज चाहिँ कहिल्यै आउँदैन । यसरी अद्भूत घटना भएकाले यो लोककथाको कथानक स्तरीय भएको देखिन्छ । अर्को कथा ‘सभापोखरीमा ः पारुहाङ सुम्निमा’ मा चाहिँ सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा अवस्थित सभापोखरी सम्बन्धी अरुण उपत्यकामा प्रचलित अनेक किंवदन्तीहरूलाई हिम–मुनाल चरीले पारुहाङ र सुम्निमाका अगाडि प्रस्तुत गरेको भन्ने कथा बनाएर प्रस्तुत गरिएको छ । यस कथामा उल्लेख किंवदन्तीहरूले मात्र यो आख्यानलाई लोककथातर्फ धकेलेको छ ।
सङ्ग्रहको अन्तिम तथा शीर्षकथा ‘काँडे भ्याकुरको शुभ विवाह’ मा मकालु बरुणको काँडे भ्याकुरको विवाह मुगुको रारा क्षेत्रकी कन्यासँग भएको र देशका अनेक धार्मिक तथा पर्यटकीय स्थल घुम्दै गएको कथानक छ । भाषा प्रयोग गर्ने धेरै पक्षी र जनावरहरूको अनौठो कथानकले लोककथाको झल्को दिए पनि लेखकको विद्वता मिसिएर कता कता लोककथाको मर्म भाँचिएर सहित्यिक कथातर्फ पनि मोडिन खोजेको कथानक छ ।
यसरी समग्रतामा हेर्दा ‘आमाको देब्रे आँखो’ बाहेक सम्पूर्ण कथाहरूको कथानक लोककथाका विद्वानहरूले स्वीकार गरेका दायराभित्र पाइएका छन् ।
लोककथामा प्रयोग भएका आश्चर्यजनक पात्र, घटना र विश्वासहरू जुन पटक पटक दोहोरिन्छन् तिनै रुढ तत्त्वहरूलाई नै लोककथाका अभिप्राय भन्ने गरिन्छ । यस्ता अभिप्रायहरू असामान्य हुनुपर्दछ । अभिप्रायका विषयमा विद्वान मोतीलाल पराजुलीले लेखेका छन् : ‘…विशिष्ट वा असामान्य घटना, चरित्र, कार्य तथा विश्वासहरू मात्र अभिप्राय हुन् ……..जसरी एउटा घर बनाउँदा धेरै इँटाहरूको संयोग र संरचना हुन्छ, त्यसै गरी लोक कथाको निर्माणमा अभिप्रायहरूले इँटाको काम गर्दछन् ( पोखरेल र अन्य, २०७६ :२०५–६) । यो खण्डमा ताराबहादुर बुढाथोकीले सङ्कलन गरेका लोककथाहरूको अभिप्राय के कस्ता रहेका छन् भनी मुल्याङ्कन गरिनेछ ।
यो सङ्ग्रहको पहिलो कथा ‘अरुण मनकामनाको मुन्धुम’ मा तेत्तीस कोटी देवताको प्रतिकृती भएको ढुङ्गो खोलासँग गफगाफ गर्न सक्ने हुनु, यहाँका खेलाहरू बोल्ने, भाषिक सीपयुक्त हुनु आदि अभिप्राय भएकाले यो लोककथा आभिप्रायको दृष्टिले राम्रो छ भन्ने आधार दिएको छ ।
सङ्ग्रहको दोस्रो कथामा भएका पात्रहरू राजकुमार, नाग, लामभुँडे, लामहाते, दम्भी राजाका आनीबानी अनि तलाउभन्दा पनि तलको परिवेश र राजकुमार सामु दम्भी राजाले तेस्र्याएका प्रश्न तथा तिनका समाधानहरू आश्चर्यजनक अभिप्रायहरू हुन् । अभिप्रायका नजरबाट यो कथा अत्यान्तै सशक्त लोककथा हो ।
यो सङ्ग्रहको तस्रो कथामा आएका राक्षस, राक्षसनी र हिक्मत बहादुरको अक्कल नै अभिप्रायका रूपमा आएका छन् भने दिदी मनरूपालाई मारेर भारमा सुकुटी सुकाएको घटना पनि अभिप्रायकै रूपमा आएको छ । यसरी अभिप्रायका दृष्टिले यो कथा उच्च श्रेणीको लोककथा बनेको छ ।
चर्चित कृतिको चौथो कथा ‘मान्छेकी छोरी’ मा वृहस्पति ऋषि, बोल्ने तथा दिव्य दृष्टियुक्त चस्मा भएको गिद्ध, मत्र्यलोकका करोडौं मान्छे दिव्य दृष्टियुक्त चस्मा लगाएर हेर्दा बाँदर, भेडो, राँगो, सुँगुर, ब्वाँसो आदिमात्र देखिएका र बल्ल एक सार्की मान्छे देखिएको आदि अभिप्रायहरू छन् । साथमा ऋषिपत्नीको दिशा मुला बनिनु पनि अभिप्राय नै हो । यसरी अभिप्रायका नजरबाट यो कथा अब्बल छ ।
सङ्ग्रहको पाँचौ कथामा बित्तेको शारीरिक संरचना र तेजिलो दिमाग अभिप्राय हुन् भने यसको संयोगलाई पनि अभिप्रायकै दर्जामा खाख्न सकिने हुँदा यो कथा पनि अभिप्रायको दृष्टिले स्तरीय देखिन्छ ।
सङ्ग्रहको छैटौ कथामा लोककथामा हुनुपर्ने केही पनि अभिप्राय नै छैन । अभिप्रयाको दृष्टिले यो सामान्य साहित्यिक बालकथा मात्र भएको ठहरिन्छ ।
सातौँ कथा ‘जम्बु मन्त्री, हरिण र कौवा’ मा कौवाले स्याल र हरिणको मीत बोलिदिएको, पछि खान नपाएपछि स्यालले मान्छेसँग कुरा गरी हरिणलाई पासोमा पारेको तर कौवाले जुीक्त सिकाइदिएर हरिण पासोमुक्त भए पनि स्याल चाहिँ मानिसको हातबाट झुक्किएर मरेका जस्ता अभिप्राय छन् । बोल्ने, मीत लगाउने अनि त्यही मीतलाई नै खान खोज्नु जस्ता अभिप्रायले यो लोेककथालाई जीवन्त बनाएको छ ।
आठौँ कथामा सिङ्गै ढुङ्गे घरलाई नाम्लो लगाएर बोक्नु, त्यही भारी बोकेर बरको रूखमा चढ्नु, सैंताल बुढीलाई खान आउनु तर बलरामले अनेक अभिप्राययुक्त जुक्ति लगाई भगाउनु जस्ता धेरै अभिप्राय भएको यो कथा निक्कै राम्रो लोककथा हो ।
अर्को कथा ‘शोभाकान्तको पितृलोक यात्रा’ शीर्षक नै अभिप्राययुक्त छ भने विष्णु भगवान भएका ठाउँसम्म जाने शोभाकान्त, शोभाकान्तलाई एक पत्ता धेरै बेलपत्ता टिपिँदा भएको पछुतो पनि अभिप्राययुत्त छन् । यसैगरी शरीर पोल्ने माछा शोभाकान्तसँग गफ गर्छ भने बाह्र वर्षसम्म नब्याउने गाई र हरेक दिन लड्ने भित्तो भएको राजको घर पनि रोचक अभिप्राय हुन् । लोक कथाको तत्त्व अभिप्रायका दृष्टिले यो कथा राम्रो छ । अर्को लोककथा ‘सुनको थाल’ मा चाहिँ त्यही सुनको थाल दिने व्यक्ति र सुनको थाल नै अभिप्राय बनेर लोककथालाई रोचक बनाएका छन् ।
अर्को कथा ‘सत्यको धन’ मा पशु बाक्य बुझ्ने र सत्य सपना देख्ने पात्र रूपा नै अभिप्रायको रूपमा आएकी छिन् भने बाह्रौँ कथा ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ मा मान्छेसँग बोल्ने अजिङ्गर, बरको रूख, गोरु र स्याल अनि तिनीहरूसँग भाषिक आदानप्रदान गर्ने किसान र उसको काम अभिप्रायका रूपमा आएर लोककथालाई पठनीय बनाएका छन् ।
सङ्ग्रहको अर्को कथा ‘ओइ¥याइदिऊँ’ को अभिप्राय सुनको असर्फी ओइरिनु रहेको छ भने अर्को कथा ‘सभापोखरीमाः पारुहाङ सुम्निमा’ मा चाहिँ सभापोखरी बारेका अनेक किंवदन्तीहरू अभिप्राय बनेर आएकाले आख्यानहरूलाई लोककथाको स्थान दिलाएका छन् । सङ्ग्रहको अन्तिम कथा शीर्ष कथा पनि हो जसमा भाषिक व्यवहार गर्ने अनेक पशु–पक्षीहरू अभिप्राय बनी आएका छन् ।
यसरी यो सङ्ग्रमा राखिएका धेरैजसो कथाका अभिप्राय लोककथाको मानक अभिप्रायसँग निकट देखिएका छन् ।
कथावस्तुमा भएका घटना र विचारहरूलाई बोक्ने ब्यक्ति, वस्तु वा पदार्थ नै पात्र हुन् । लोककथाका पात्र भौतिक तथा अभौतिक हुन सक्दछन् । भौतिकमा पनि मानव र मनवेत्तर पात्र हुन सक्दछन् । मानब पनि अचम्मको स्वभाव, व्यवहार वा शक्ति भएको हुनसक्छ । अर्थात हरेक पात्र असामान्य हुनु लोकथाका पात्रको विशेषता हो । पात्रका विषयमा मोतीलाल पराजुलीको मत यस्तो रहेको छ ‘ सधारणतया असाधारण चरित्र, खुबी, शारीरिक बनोट, चतु¥याइँ र विशेष शक्ति भएका असामान्य चरित्रहरू लोक कथाका पत्रका रूपमा रहन्छन् । सामान्य मानिस लोक कथाको पात्र हुँन सक्दैन उसमा असाधारण खुबी वा विशेषता हुनै पर्दछ ( पोखरेल र अन्य, २०७६ : २०६)।’
चर्चित लोककथा सङ्ग्रह ‘काँडे भ्याकुरको शुभ विवाह’ नामक कृतिमा भएका हरेक कथाका पात्रहरू के कस्ता रहेका छन् भनी यो खण्डमा समीक्षा गरिन्छ । यो सङ्ग्रहको पहिलो कथा ‘अरुण मनकामनाको मुन्धुम’ शीर्षक कथामा तेत्तीस कोटी देवताहरूको प्रतिकृति भएको एउटा ढुङ्गो तिब्बतबाट खोलासँग गफ गर्दै अरुण उपत्यकाको अरुण गड्तिरमा आएर बसेको छ । उक्त ढुङ्गो हाल मनकामना भनी पुजिन्छ र आजतक अरुण नदी किनारको पूर्वपट्टि सङ्खुवासभा जिल्लाको तुम्लिङटार नजिकै देख्न पाइन्छ । कथानक पढ्दा यो ढुङ्गो र त्यसलाई बोकी ल्याउने खोला असाधारण लाग्ने भएकाले पात्रका दृष्टिले लोककथा स्तरीय भएको पुष्टि हुन्छ ।
सङ्ग्रहको दोस्रो कथाका पात्रहरू राजकुमार, नागराजा, लामभुँडे, लामहाते, दम्भी राजा, सुन्दरी राजकुमारी आदि लोककथामा हुनुपर्ने भनेर निर्दिष्ट गरिएकै जस्ता पात्रहरू छन् जसका क्रियाकलाप असाधारण छन् । लामहाते र लामभुँडे अलौकिक मानव हुन् । यसरी यो कथामा आएका पात्रहरूलाई केलाउँदा दोस्रो कथा राम्रो लोककथाको श्रेणीमा राख्न सकिने देखिन्छ ।
यो सङ्ग्रहमा भएको तेस्रो लोककथाका पात्रहरू हिक्मत बहादुर, मनरूपा, राक्षस र राक्षसनी रहेका छन् । मान्छे खाने राक्षस राक्षसनीको प्रसङ्ग आएको र हिक्मतबहादुरले अक्कल लगाएर आफ्नी दिदी मार्नेको बध गरेको छ । लोककथामा यस्तै अलौकिक पात्र अनि हिम्मतिला लौकिक पात्र हुने हुँदा पात्रविधानका नजरबाट यो कथा स्तरीय देखिन्छ ।
यो सङ्ग्रहको चौथो कथामा वृहस्पति ऋषि, दिव्य दृष्टियुक्त चस्मा भएको बोल्ने गिद्ध, सार्की, किसान, सर्कीनी, सार्कीकी छोरी जूनेली , नारद ऋषि र अन्य ऋषिगणहरू पात्र छन् । असाधारण र अनौठा लाग्ने अलौकिक तथा लौकिक पात्रहरू भएकाले यो कथा लोककथाको नजरमा पात्रका दृष्टिले राम्रो देखिन्छ ।
‘बित्ते’ शीर्षकको पाँचौं कथाम अनौठो शारीरिक अवस्था भएको तर दिमागको तेजिलो पात्र बित्ते, वित्तेको दाजु हाते मुख्य पात्रहरू छन् । असाधारण कार्यहरू गर्ने भएकाले यी दुई पात्रका कारण यो लोककथा राम्रो बनेको छ ।
सङ्ग्रहित छैटौँ कथा चाहिँ अर्जुन वा रोशन र कानी आमा सामान्य पात्रहरू भएको, कुनै असाधारण र तिलस्मी काम नगर्ने भएकाले पात्र वा चरित्रका आधारबाट यो कथा अत्यान्तै कमजोर बन्न गई लोककथाको श्रेणीमा नै राख्न नहुने किसिमको बनेको छ ।सङ्ग्रहको सातौँ कथाका पात्रहरू कौवा, स्याल, हरिण र किसान रहेका छन् । उनीहरू सामान्य जनावर मात्र नभएर बोल्ने अनि विचार विनिमय समेत गर्ने भएकाले लोक यो लोककथा चरित्रका आधारमा राम्रो रहेको छ । आठौँ कथामा घर नै लाम्लो लगाएर बोक्ने बलराम, बेहुली, लोकन्ती, बुढी र सैंतालजस्ता पात्र रहेका छन् । असाधारण लौकिक पात्र र सैंताल जस्तो अलौकिक पात्रले यो कथालाई शक्तिशाली लोककथा बनाएको छ ।
पितृलोकसम्म यात्रामा जाने शोभाकान्त, भगवान् विष्णु, शरीर पोल्ने व्यथा भएको माछा आदि अनौठो गुण भएका पात्रहरूले अर्को लोककथा ‘शोभाकान्तको पितृलोक यात्रा’ राम्रो र शक्तिशाली बनेको छ । अर्को कथा ‘सुनको थाल’ मा भएका धनबहादुर, मनमाया र साहू सामान्य पात्र हुन् भने धनबहादुरलाई साँझमा सुनको थाल दिने पात्र चाहिँ असाधारण पात्र हो । यही असाधारण पात्रले दिएको असामान्य सुनको थालले यो लोककथालाई जीवन दिएको छ ।
सङ्ग्रहको अर्को कथा ‘ओइ¥याइदिऊँ’ को पात्र सन्तमान र जन्तीहरूमा कुनैपनि अनौठो गुण नदेखिएकाले लोककथाका चरित्र विधान अनुुसार यो कथा अलिक फितलो देखापर्छ । अर्को कथा ‘सभापेखरीमा ः पारुहाङ सुम्निमा’ मा चाहिँ पारुहाङ र सुम्निमा अनि हिम–मुनालका केही आश्चार्यजनक घटनाले आख्यानलाई लोककथातर्फ उन्मुख गरेको छ । यहाँ मुनालले सुनाएका भनिएका किंवदन्तीहरू चाहिँ निक्कै राम्रा लोककथाहरू हुन् र त्यका पात्रहरू पनि असङ्ख्य छन् ।
सङ्ग्रहको अन्तिम तथा शीर्षकथा ‘काँडे भ्याकुरको शुभ विवाह’ मा मकालु बरुणको काँडे भ्याकुरको विवाह मुगुको रारा क्षेत्रकी कन्यासँग भएको र देशका अनेक धार्मिक तथा पर्यटकीय स्थल घुम्दै गएको कथानक छ । भाषा प्रयोग गर्ने धेरै पक्षी र जनावरहरूको अनौठो मानवीय बानी भएका पात्रहरू भएको यो लोकथा चरित्रका आधारमा राम्रै देखिन्छ ।
यसरी समग्रतामा हेर्दा ‘आमाको देब्रे आँखो’ र ‘ओइ¥याइदिऊँ’ बाहेक सम्पूर्ण कथाहरूमा आएका पात्र वा चरित्रको दृष्टिले चर्चित सङ्ग्रहका लोककथाहरू विद्वानहरूले स्वीकार गरेका दायराभित्र पाइएको छन् ।
परिवेश भनेको कथाको श्रृङ्खला घटित स्थान हो । लोक कथाका परिवेशहरू लौकिक वा अलौकिक हुने गर्दछन् । यसमा भएका आन्तरिक परिवेश चाहिँ लोक विश्वासमा आधारित हुन्छ । परिवेशका बारेमा मोतीलाल पराजुलीको धारणा यस्तो छ ‘ लोककथामा घटनाहरू घट्ने स्थान, समय र वातावरणको समुचित व्यवस्था गरिएको हुन्छ, यसलाई परिवेश भनिन्छ ।……नेपाली लोककथामा स्वर्गलोक, नरकलोक, परीलोक, नागलोक, सूर्यलोक, पितृलोक आदि विभिन्न लोकहरूको चित्रण गरिएको छ र त्यहाँ रहेका जीवहरूमा पाइने असाधारण एवम् अलौकिक शक्तिका बारेमा पनि वर्णन गरिएको छ । लौकिक परिवेशमा राजदरबार, गाउँसमाज, वनजङ्गल, ओडार÷गुफा, समुद्र, खोलानाला, अगम्य स्थलहरू, देवालय तथा ऋषि आश्रमहरूको चित्रण गरिएको पाइन्छ । प्रकृतिको उज्याला पक्षहरू र अँध्यारा पक्षहरूको पनि सुन्दर चित्रण पाइन्छ ( पोखरेल र अन्य, २०७६ : २०६)।
माथिको भनाइलाई आधार मानी साहित्यकार ताराबहादुर बुढाथोकीले सङ्कलन गरेका कथाहरूमा के कस्ता परिवेश आएका छन् भनी यो खण्डमा मुल्याङ्कन गरिनेछ । यसै क्रममा पहिलो कथामा अरुण उपत्यकामा रहेको मनकामनाको पत्थरका बारेमा उल्लेख गर्दै सो ढुङ्गालाई तिब्बतको पठारबाट अरुणले बगाएर ल्याएको प्रशङ्ग छ । अरुण नदीसँग मिसिएका बरुण र सभाजस्ता खोला पनि कथाको परिवेशमा समेटिएका छन् । यसै गरी भाटभटेनी घाँटी, हाल अरुण तेस्रो जलविद्युत आयोजनाको ड््याम निर्माण भइरहेको फासक्सिन्दा बेँसी र त्यहाँ उत्तर मोडिएको अरुण आदि सत्य लौकिक परिवेश यो कथामा आएका हुँदा चर्चित कथाको परिवेशलाई हेर्दा यो कथा अरुण उपत्यकाकै हो भनी पहिल्याउन सकिन्छ । बुढाथोकीले सङ्कलन गरेको यो कथाको परिवेशलाई मुल्याङ्कन गर्दा कथा स्तरीय देखिन्छ ।
सङ्ग्रहको दोस्रो कथाको परिवेश अलिकति लौकिक र अलिकति अलौकिक (तालभन्दा भित्र) रहेको छ भने आन्तरिक परिवेश चाहिँ नागहरूको लोक पाताल वा नागलोक हो भन्ने आडमा अडिएको छ । त्यस्तै यहाँ वर्णन गरिएका लामहाते र लामभुँडे जस्ता असाधारण पात्र र अलौकिक क्षमतायुक्त परिवेशले यो लोककथालाई दरिलो बनाएको छ ।
सङ्ग्रहको तेस्रो लोककथाको परिवेश सङ्खुवासभाको भोटखोला गड्तिर अनि आसपासको बाक्लो जङ्गल रहेको छ भने आन्तरिक परिवेशमा राक्षस राक्षसनीले मान्छे खान्छन् भन्ने नेपाली विश्वास रहेको देखिन्छ । लोककथाका परिवेशहरू यस्तै हुने भएकाले यो कथालाई परिवेशका आधारमा सफल मान्न सकिन्छ ।
‘मान्छेकी छोरी’ शीर्षक चौथो लोककथाको परिवेश अलिकति ऋषिलोक र बाँकी मत्र्यलोककै नेपाल स्थित पूर्वी पहाडी गाउँ रहेको छ भने आन्तरिक परिवेश चाहिँ मामा भान्जा गोरु जोत्न नहुने लोक चलन, जातजाति र छुवाछूतको प्रचलन अनि खाना बनाउने भान्से चर्पी जान हुँदैन भन्ने प्राचीन बाह्मणहरूको लोक नियममा आधारित देखिन्छ । यसैले परिवेशका आधारमा यो कथा अब्बल ठहरिएको छ ।
पाँचौ कथा ‘बित्ते’ चाहिँ नेपालकै तराई क्षेत्रको परिवेशमा आधारित छ । आन्तरिक परिवेशमा चाहिँ लाटा, लठेब्रा अनि शारीरिक रूपमा अशक्तहरूलाई अंशमा समेत ठग्ने नेपाली कुसंस्कृति तथा अर्काको राम्रो भएको देख्न नसक्ने प्रवृत्तिको जगमा अडिएको देखिन्छ । यसरी परिवेशका आधारमा यो कथा सामान्य लोककथा बन्न पुगेको छ ।
छैटौ कथाको परिवेश चाहिँ राणा शासन लगत्तैको कुनै नेपाली गाउँजस्तो लाग्छ तर कारमा गएको, सम्मान गरिएको, संचय कोष झिकिएको, आँखा प्रत्यारोपण गरिएको आदि कथा र परिवेशले लोककथाको परिवेशलाई जिस्क्याएको भान हुन्छ । परिवेशका आधारमा यो लोककथा कामजोर बनेको छ ।
सङ्ग्रहको छैटौँ कथाको बाह्य परिवेश सङ्खुवासभाको चिचिला स्थित सलङ्गेको जङ्गल रहेको छ भने आन्तरिक परिवेश चाहिँ मीत लगाउने नेपाली चलन र मीतसँग दुरी (साँध) लगाउनुपर्ने लोक विश्वास अनि स्याल खानको लागि जे पनि गर्दछ भन्ने लोक मान्यताका आधारमा बुनिएको देखिन्छ । परिवेशका दृष्टिले यो कथा उपयुक्त लोककथा बनेको छ । आठौँ कथाको परिवेश भोजपुरको साङ्पाङ क्षेत्र भनिएको छ जस्को आन्तरिक विश्वास मान्छे खाने सैंताल र सैंताल समेत खाने घैंताल हुन्छ भन्ने लोक विश्वासमा आधारित भएकाले राम्रो लोककथा बनेको देखिन्छ । सङ्ग्रहको अर्को ‘शाोभाकान्तको पितृलोक यात्रा’ शीर्षक लोककथामा लौकिक खोला किनार र शिवालय देखि अलौकिक पितृलोकसम्मको परिवेश छ । आन्तरिक परिवेश चाहिँ हिन्दू धर्मको गोदान, बाह्मण भोजन र कन्यादान लगायतका विश्वाससँग आधारित छ । यी परिवेशलाई विश्लेषण गर्दा यो लोककथा स्तरीय बन्न पुगेको देखिन्छ ।
‘सुनको थाल’ लोककथाको परिवेश चाहिँ सामान्य ग्रामिण नेपाली बस्तीको छ । आन्तरिक परिवेश चाहिँ अलौकिक शक्तिले गरिबहरूलाई सहयोग गर्न सक्छन् भन्ने लोक विश्वासमा आधारित छ । यिनै परिवेशले यो लोककथालाई शक्तिशाली बनाएको छ ।
अर्को कथा ‘सत्यको धन’ मा नेपालको मध्यपश्चिमको भनी उल्लेख गरिएको एक सामान्य ग्रामिण परिवेश छ । आन्तरिक परिवेश चाहिँ पशुप्राणीले पनि मान्छेले सरह नै गफगाफ गर्न सक्छन् भन्ने नेपाली लोक विश्वास आएर कथालाई स्तरीय पारेको देखिन्छ । ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ शीर्षक अर्को लोककथामा पनि पशु र बोटबिरूवा समेत भाषिक क्षमता राख्छन् भन्ने विश्वास आन्तरिक परिवेश अनि भोजपुरको कुनै जङ्गल बाह्य परिवेशका रूपमा आएर लोककथाको प्राण भरेका छन् ।
‘ओइर्याइदिऊँ ’ शीर्षक तेह्रौ कथामा सामान्य पहाडी ग्रामिण परिवेश देखाइएको छ भने आन्तरिक परिवेशका रूपमा आकाशमा मान्छेको भलो गर्ने शक्ति छ भन्ने लोकविश्वास आएको छ । चौधौँ कथामा चाहिँ सङ्खुवासभाको अरुण नदी तिरैतिर तुम्लिङटार भएर बाह्रविसे, पाँचखपन र सभापोखरीको परिवेश देखाउन खोजिएको । आन्तरिक परिवेशका रूपमा चाहिँ सभापोखरीको हिन्दू धार्मिक महत्त्व आएको देखिन्छ ।
यो सङ्ग्रहको अन्त्यमा राखिएको शीर्षकथा चाहिँ नेपालको पूर्व मकालु अरुण देखि मुगुको रारा क्षेत्रसम्मका अनेकौँ परिवेशमा आएका छन् । लेखकले कतिपय परिवेशको धेरै बौद्धिक वर्णन गरेर लोककथाको परिवेशीय सीमालाई मिच्न समेत खोजेका देखिन्छन् ।
समग्रतामा हेर्दा चर्चित कृतिका लोककथाहरूको परिवेशलाई केलाउँदा राम्रो पाइएको छ ।
कथोपकथन भन्नाले पात्र–पात्रबीचको संवाद हो । यो कथाको पाठसँग भन्दा पनि कथा वाचकको क्षमतासँग निर्भर हुन्छ । कथालाई राम्रो भन्ने सीप भएकाले कथोपकथनको अनेक रूप प्रयोग गर्न सक्दछन् । जस्तै राक्षसको चित्कार, भगवान आदिको आकाशवाणी, परीको भनाइ आदिलाई कथाकारले सामान्य भन्दा फरक आवाजमा भन्ने, उनीहरू बीचको संवादलाई सोही अनुरूप प्रस्तुत गर्ने प्रचलन हुन्छ । कथोपकथनका बारेमा मोतीलाल पराजुली भन्दछन् ‘कथोपकथनबाट दुई पात्रहरूका मानसिक भावहरू आदान–प्रदान हुने, विचारहरूको विनिमय हुने, कथामा रहेका रहस्यहरू प्रकट हुने, कुनै गुह्य कुराको जानकारी हुने हुनाले लोक कथामा यसको विशिष्ट भूमिका रहन्छ ( पोखरेल र अन्य, २०७६ :२०६)।’
यो खण्डमा पराजुलीकै मतका आधारमा बुढाथोकीकृत सङ्ग्रहका कथाहरूमा प्रयुक्त कथोपकथनका आधारमा कथाहरूको मुल्याङ्कन गरिनेछ । यो सङ्ग्रहको पहिलो कथामा तेत्तीस कोटी देवताको प्रतिकृति भएको ढुङ्गो र फुचुङबीच भएको संवादलाई निम्नमनुसार राखिएको छ
‘मलाई पनि काशी पुर्याइदेऊ न है ।’
‘खै आफैँ त कति मुस्किलले जाँदै छु । तिमीलाई कसरी बोकौँ ?’
‘तिमी मलाई स्पर्श मात्र गर, म बाटो खोज्न सघाउँला ।’
यस्तै यस्तै थुप्रै संवादलाई मध्यनजर गर्दा यो कथा कथोपकथनका दृष्टिले राम्रो र स्तरीय नै देखिन्छ ।
सङ्ग्रहको दोस्रो कथामा कथाकारले राम्रो संवादहरू प्रस्तुत गरेका छन् । धेरै मध्ये एक उदाहण यहाँ प्रस्तुत गरिन्छ :
‘नागराजा ! को हौ ? के चाहन्छौ ? नाग हौ कि अरू क्वै नागको रूप लिएर आयौ । भन मैले के गर्नुप¥यो ?’
‘ भोलि बिहान तेरो कान्छो छोरालाई म कहाँ पठाउनू ।’
यी र यस्ता अनेक कथोपकथनले सजाएर बुढाथोकीले यो कथालाई सुन्दर लोककथा बनाएर प्रस्तुत गरेका छन् ।
यो सङ्ग्रहको तेस्रो कथामा पनि कथाकारले राम्रोसँग कथोपकथनको प्रयोग गरेका छन् । उदाहरणका लागि एउटा संवाद प्रस्तुत गरिन्छ :
‘ए ! आज धेरै दिनपछि नातिनातिना आएका रहेछन् । मीठोमसिनो बना है बुढी ।’
‘तिमीले भन्नु अगाडि नै मैले गरिसकेँ बूढा । बल्लबल्ल आफ्नो मावली आएका नातिनातिना (पृ. ४७) ।’ यो त एउटा उदाहरण मात्र हो । यस्ता थुप्रै संवाद कथामा छन् । यसकारण कथोपकथनका आधारमा यो कथा सफल मान्नुपर्दछ ।
सङ्ग्रहमा चौथो कथा बनेर ‘मान्छेकी छोरी’ आएको छ जसमा भएको संवादको एक नमूना यहाँ प्रस्तुत गरिन्छ :
‘यता बस्नुहोस् ।’
‘आमा बाउ खोइ नानी ?’
‘ आमा मान्छेले खाने घाँस लिन जानु भा’छ । बाउ घाम छेल्ने लिन जानुभएको छ । त्यो आयो भने आउनु हुन्न, त्यो आएन भने आउनुहुन्छ (पृ. ५८) ।’
यी र यस्ता थुप्रै कथोपकथन भएकाले यो लोककथा स्तरीय छ भन्ने निष्कर्ष निकालिएको छ ।
अर्को कथा ‘वित्ते’ मा पनि कथोपकथनको थोरै मात्रा भए पनि निम्नानुसारको बान्की भेट्न सकिन्छ :
‘को हो ? के बात मारेको ?’
‘ म हो, यहाँ पितृहरूसँग कुरा गर्दैछु ।’
‘हैन पितृहरूसँग रे ! हैन पितृ कहाँ छन् र ! कुरा गर्नु ?(पृ. ७३) ?’ यी र यस्ता कथोपकथनहरूले यो कथालाई राम्रो लोककथा बनाएको छ ।
छैटौँ कथाको कथोपकथन पनि राम्रो छ । उदाहरणका लागि एक संवाद हेरौँ :
‘अर्जुन यो बुहारी हो ?’
‘को अर्जुन ? को बुहारी ? वाइयात !!! कस्ता मान्छे आउँछन् । जाऊँ भित्र ।’
‘भित्र गल्लीमा सुत्न दिऊँ, जे भए पनि मान्छे हो । साँझमा आइछे ।’
‘ जेसुकै गर्नु तिम्री आमालाई (पृ. ८४)?’ यसरी कथोपकथनका दृष्टिले यो कथा राम्रो भएको ठहर्छ ।
सङ्ग्रहको सातौँ कथामा पनि कथाकारले मित बोलिदिएका बेलाको कौवाको बोली लगायत अन्य धेरै ठाउँमा संवादको प्रयोग गरी कथोपकथनका दृष्टिले कथालाई राम्रो बनाएका छन् । आठौँ कथाको बलराम र सैंतालबीचको संवाद यहाँ प्रस्तुत गरिन्छ :
‘ढोका खोल ।’
‘खोल्दिनँ ।’
‘ को हो खोदिनँ भन्ने ?’
‘तेरो बाऊ, चिनिनस् ?’
‘नाम भन साला बलिको बोको ।’
‘तेरो भन साला काल पर्खिने ।’
‘ म मान्छे खाने सैंताल हुँ ।’
‘म सैंताल खाने घैंताल हुँ (पृ. ८४)।’
यस्ता संवादले यो कथाको कथोपकथन राम्रो बनेको देखिन्छ । माथिका कथाहरूमा जस्तै कथोपकथनले संग्रहको अर्को कथा ‘शोभाकान्तको पितृलोक यात्रा’ राम्रो भएको देखिन्छ । अर्को कथा ‘सुनको थाल’ मा पनि कथोपकथनको प्रयोग राम्रो छ । उदाहरणका लागि यहाँ एक संवाद प्रस्तुत गरिन्छ :
‘तिमी कहाँबाट आएको ?’
‘खेतबाट ।’
‘किन गएका थियौ, किन रित्तै फर्कियौ (पृ. ११३)?’
अर्को कथा ‘सत्यको धन’ मा अन्य कथामा भन्दा कम संवाद भए पनि कथोपकथनका दृष्टिले यो कथा राम्रो नै देखिन्छ । बाह्रौँ कथा ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ मा अझ राम्रो निम्नानुसारको संवाद प्रयोग गरी कथोपकथनका नजरबाट कथालाई स्तरीय बनाइएको छ :
‘मुख खोलेर तँलाई मुक्त गरेपछि तैंले मलाई खाइस् भने नि ?’
‘आगो आइपुग्न आँट्यो । अहिले शङ्का गर्ने बेला होइन । बचाऊ म ठूलो गुन मान्नेछु (पृ. १२७)।’
सङ्ग्रहको अर्को ‘ओइर्याइदिऊँ !’ कथामा कथोपकथनको प्रयोग तुलनात्मक रूपमा कम देखिन्छ भने चौधौँ कथा ‘सभापोखरीमाः पारुहाङ सुम्निमा’ भने हिम–मुनाल र पारुहाङ–सुम्निमम बीच भएका लामा लामा संवादले कथालाई स्तरीय लोककथा बनाएको छ ।
द्वन्द्व भनेको कुनै कथाका फरक दुई पात्रहरूबीच हुने सङ्र्घष हो । द्वन्द्वका बारेमा मोतीलाल पराजुलीको तर्क छ ‘ वैचारिकसङ्घर्षलाई आन्तरिक द्वन्द्व र शक्ति सङ्घर्षलाई बाह््य द्वन्द्व भन्ने गरिन्छ । बाह््य द्वन्द्व भौतिक (शारीरिक ) द्वन्द्व पनि हो । लोक कथामा नायक र खलनायकमा रहेका विपरित चिन्तन र शक्तिका बीचमा सङ्घर्ष भएका धेरै घटनाहरू चित्रण गरिएका हुन्छन् ( पोखरेल र अन्य, २०७६ : २०७)।’
अतः लोक कथाका विभिन्न तत्त्वमध्ये एक द्वन्द्व पनि भएकाले यो खण्डमा द्वन्द्वका आधारमा चर्चित कृतिका कथाहरूको मुल्याङ्कन गरिएको छ । यो सङ्ग्रहको पहिलो लोककथामा कुनै पनि प्रकारको द्वन्द्व छैन ।
चर्चित सङ्ग्रहको दोस्रो कथामा राजकुमार र दम्भी राजका बीचमा द्वन्द्व भएको छ । यो द्वन्दको श्रगणेश चाहिँ दभ्भी राजाले कुनै नागलाई अपमान गरेका कारण सुरु भएको हुन्छ । यसरी हेर्दा राजा र नाग बीचको शक्ति सङघर्षमा राजकुमार प्रयोग भएको भन्न पनि सकिन्छ । द्वन्द्वको सुन्दर संयोजनले यो कथा राम्रो बनेको देखिन्छ ।
सङ्ग्रहको तेस्रो कथामा हठी बाल स्वभाभयुक्त भाइ हिक्मतबहादुर र दिदी मनरूपाका बीचमा सामान्य वैचारिक द्वन्द्व देखिन्छ । लिँढे ढिपीले आफ्नो कुरा लागू गराउन बानी परेको भाइ हिक्मतकै कारण सफा बाटोबाट जाने हुँदा राक्षसको घरमा पुगेपछि चाहिँ हिक्मतको द्वन्द्व तिनै राक्षस र राक्षसनीसँग भएको देखाइएको हुँदा द्वन्द्वका दृष्टिले यो कथा राम्रो बनेको छ ।
मान्छेकी छोरी भन्ने चौथो कथामा खासै प्रत्यक्ष देखिने द्वन्द्व छैन तर छुवाछूतयुक्त समाजमा कथित अछूत भनिएका र अन्य बीचको द्वन्द्व देखिन्छ । अर्को कथा ‘बित्ते’मा चाहिँ आरिसे दाजु हाते र शारीरिक रूपमा असामान्य लाग्ने लठेब्रो भाइ बित्तेका बीचमा द्वन्द्वदेखाइएको छ । छैटौं कथामा आफ्नै कानी आमा र छोराका अर्जुनका बीचको वैचारिक र सामाजिक द्वन्द्व देखाइएका हुँदा यी तीन कथालाई द्वन्द्वका हिसाबले राम्रो श्रेणीमा राख्न सकिन्छ ।
कथा सङ्ग्रको सातौँ कथामा भोकमारी र पापी पेटसँग जनावरहरूले गर्नुपरेको बाध्यात्मक द्वन्द्वले लोककथालाई सार्थक पारेको देखिन्छ भने आठौँ कथामा चाहिँ बलराम लगायत मानिसहरूको मानवभक्षी सैंतालसँगको भौतिक द्वन्द्व अनि बलराम र उसको दाजुको आन्तरिक द्वन्द्व देखाइएको हुँदा लोककथा राम्रो र सशक्त बन्न सफल भएको छ । सङ्ग्रहको नवौँ कथामा कुनैपनि किसिमको द्वन्द्व देखिँदैन तर कथाको आधार चाहिँ धार्मिक प्रवृत्तिका शोभाकान्तको मनमा आएको मानसिक द्वन्द्वलाई लिन सकिन्छ । अर्को कथा ‘सुनको थाल’ मा पनि अघिल्लो कथामा जस्तै गरिब परिवारको भोकमारीसँगको द्वन्द्व देखाइएको छ ।
‘सत्यको धन’ लोककथामा नव विवाहित नवीनको मानसिक द्वन्द्व, चोरहरूसँग रूपाको परिवारको भौतिक र आर्थिक द्वन्द्व आदिका कारण राम्रो लोककथा बनेको देखिन्छ भने ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ कथामा चाहिँ हिँस्रक अजिङ्गर र सोझो किसानबीचको द्वन्द्व नै कथाको प्राण बनेर आएको देखिन्छ ।
सङ्ग्रहको तेह्रौँ कथामा धन्दा गर्ने केटो र अन्य जन्तीहरूका बीचमा भएको आर्थिक द्वन्द्व बाहिरी रूपमा देखिन्छ भने कथित भूतप्रेतहरूसँगको सन्तमान दम्पतीको मनभित्रको डरमय द्वन्द्वले आख्यानलाई राम्रो लोककथा बनाएको छ । यो सङ्ग्रहको ‘सभापोखरीमा ः पारुहाङ सुम्निमा’ द्वन्द्व नै नभएको लोककथा हो भने शीर्ष कथा ‘काँडे भ्याकुरको शुभ विवाह’ पनि द्वन्द्व विहिन लोककथा हो ।
द्वन्द्व लोककथाको एक महत्वपूर्ण तत्त्व मानिएको छ तर पनि बुढाथोकीका केही कथा द्वन्द्वविहीन पाइएका छन् ।
लोककथाको लक्ष्यलाई नै त्यसको उद्देश्य भनिन्छ । उद्देश्य वा लक्ष्य नै नभएका कुनैपनि लोककथा हुँदैनन् । नेपाली लोककथाका उद्देश्यका बारेमा मोतीलाल पराजुलीको भनाइ छ ‘नेपाली लोककथाहरूको अध्ययन गर्दा धर्मको अध्ययन, व्याख्या, प्रचार र धार्मिक रहस्यको प्रस्तुति, दुःख निवारण, नीतिशिक्षा र उपदेश, शिक्षा र मनोरञ्जन नै लोककथाको प्रस्तुतिको उद्देश्य भएको भेटिन्छ ( पोखरेल र अन्य, २०७६ : २०७)।’
ताराबहादुर बुढाथोकीले सङ्कलन गरेका उल्लेखित पुस्तकका कथाहरूमा के कस्ता उद्देश्यहरू रहेका छन् भनी यो खण्डमा खोजी गरिएको छ । यो सङ्ग्रहको पहिलो कथाको उद्देश्य धर्मको प्रचार र धार्मिक रहस्यको प्रस्तुति देखिन्छ किनभने यो कथाले अरुण किनारको मनकामनामा भएको पत्थर तिब्बतबाट अरुणले ल्याएको र अरुण लगायत अन्य नदीहरूले मनकामना भनी भक्तिभावले पूजा अर्चना गरेका कुरा उल्लेख गरिएको छ ।
यो सङ्ग्रहको दोस्रो कथा दम्भ धेरै गर्नुहुँदैन, जस्तोसुकै समस्याको पनि समाधान हुने हुँदा नआत्तिइकन कार्य गर्नु पर्छ भन्ने नीतिशिक्ष र उपदेश दिनु रहेको देखिन्छ । साथमा कथाले मनोरञ्जन पनि बोकेको छ । यसरी उद्देश्यका दृष्टिले यो लोककथा राम्रो रहेको छ ।
यो सङ्ग्रहको तेस्रो कथाको पनि उद्देश्य जिद्धी गर्दा फन्दामा परिन्छ अनि आशावादी भएर अक्कल लगाए फन्दाबाट सजिलै उम्कन सकिन्छ भन्ने उपदेश दिने उद्देश्य बोकेको देखिन्छ । यसरी उदेश्यका आधारमा यो कथा राम्रो मान्न सकिन्छ ।
सङ्ग्रहको चौथो कथाको उद्देश्य मानिसहरूलाई वास्तविक मान्छे बनाउने र जातीय छुवाछूत गर्नुहुन्न भन्ने उपदेश दिनु रहेको देखिन्छ । पाँचौं कथा ‘बित्ते’ शारीरिक अपाङ्गहरू पनि बौद्धिक रूपमा शसक्त हुन सक्छन्, उनीहरूलाई हेप्नु र दुव्र्यवहार गर्नु हुँदैन भन्ने उपदेशका साथमा बुद्धिको प्रयोग गर्नसके अरुले हेप्दैमा केही नहुने उपदेश दिने उद्देश्य राखेको देखिन्छ । छैटौँ कथाको उद्देश्य असल आमाको कर्तव्य र छोराछोरीको बाबुआमाप्रतिको जिम्मेवारी देखउने रहेको छ । यसरी उद्देश्यका नजरबाट यी तीन कथा राम्रा र स्तरीय देखिन्छन् ।
सङ्ग्रहको सातौँ कथाले विपरीत प्रकृति (घाँस खाने र मासु खाने) बीचको मित्रता स्थायी हुँदैन भन्ने र अरूको कुभलो चिताउँदा आफ्नै खती हुने उपदेश दिने उद्देश्य रहेको छ भने आठौँ कथाको उद्देश्य चाहिँ जुक्ति र बुद्धिको प्रयोग गरी मानवका शत्रुलाई परास्त गर्न सकिन्छ तर यसको लागि धैर्यता, अठोठ र आँट चाहिन्छ भन्ने उपदेश दिनु रहेको देखिन्छ । यी उदेश्यहरूका आधारमा यी कथा स्तरीय ठहर्छन् ।
सङ्ग्रहको अर्को कथा ‘शोभाकान्तको पितृलोक यात्रा’ को उद्देश्य चाहिँ उत्पादन र दानको महत्त्व उजागर गर्नु रहेको देखिन्छ । अर्को कथा ‘सुनको थाल’ मा इमान्दार मानिसलाई भगवान्ले सहयोग गर्ने हुँदा चोरी गर्नु हुँदैन भन्ने उपदेश दिने उद्देश्य रहेको देखिन्छ । अर्को कथा ‘सत्यको धन’ को उद्देश्य चाहिँ आफ्नो अक्कल, मेहनत र बुद्धिले कमाएको धन अर्काले लान सक्दैन भन्ने उपदेश दिनु र अर्काको सम्पतीमा आँखा लगाउँदा आफ्नै अन्त्य हुने भएकाले चोरी नराम्रो काम हो भन्ने नीति शिक्षा दिनु रहेको छ । यसैगरी बाह्रौँ कथा ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ ले बैगुनीले गुन नदेख्ने हुँदा बैगुनीलाई सहयोग गर्न नहुने उपदेश दिँदै सोझो मनले काम गर्नेको जय हुने तथा अक्कल र बुद्धिले मानवलाई अप्ठेरोबाट बचाउने शिक्षा दिने उद्देश्य देखिन्छ ।
‘ओइर्याइदिऊँ’ लोककथाको उद्देश्य आफ्नो घरजग्गा सामान्य समस्या आउँदैमा छोड्न नहुने र मनको डरका पछि कुद्न नहुने शिक्ष दिनु रहेको छ भने ‘सभापोखरीमा : पारुहाङ सुम्निमा’ कथाको उद्देश्य सङ्खुवासभाको धार्मिक पर्यटकीय हिमाली क्षेत्रको धार्मिक मत्त्व प्रचार–प्रसार गर्नु रहेको देखिन्छ । सङ्ग्रहको शीर्ष कथा ‘काँडे भ्याकुरको शुभ विवाह’ को उद्देश्य लोपोन्मुख जनावरको संरक्षण गर्नुपर्ने चेतना फैलाउन केन्द्रित देखिन्छ भने नेपालका केही धार्मिक र पर्यटकीय क्षेत्रको वर्णन गर्ने अको ध्येय देखिन्छ ।
यसरी साहित्यकार तारा बहादुर बुढाथोकीद्वारा सङ्कलित लोककथाहरूको सङ्ग्रहका कथाहरू उद्देश्यका हिसाबले सबल पाइएका छन् ।
लोककथा के कसरी प्रस्तुत गरिन्छ, त्यसलाई शैली भनिन्छ । यो कथा वाचकको क्षमतामा भर पर्दछ । साधारणतया लोककथा वर्णनात्मक शैलीमा नै प्रस्तुत गरिन्छ भने कतिपय लोक नाटक तथा लोक काव्यका कथा गीति लयमा पनि प्रस्तुत हुने गरेका छन् । कुनै कुनै नेपाली लोककथाहरू चाहिँ पद्य र गद्य मिसाएर चम्पू शैलीमा पनि प्रस्तुत गरिन्छ । यस विषयमा मोतिलाल पराजुलीले व्याख्यात्मक–विश्लेषणात्मक, व्याख्यात्मक र तार्किक, गर्भकथात्मक शैली, क्रमसंवर्धनात्मक शैली, चम्पू शैली आदिको वर्णन गरेका छन् ( पोखरेल र अन्य, २०७६ : २०८)।
यो खण्डमा लोककथाहरूको प्रस्तुतिमा चर्चित कृतिका कथाहरूमा प्रयुक्त शैलीका नजरबाट कथाहरूको मुल्याङ्कन गरिनेछ । शैलीका हिसाबले हेर्दा यो सङ्ग्रहको पहिलो कथा वर्णनात्मक शैलीको प्रयोग गर्दै गर्भकथात्मक शैलीबाट अगाडि बढाइएको हुँदा भागिरथको कथा, भाट र भेटेनीको कथा आदि पनि जोडिएर आएका छन् । शैलीको हिसाबले यो कथा स्तरीय लोककथाको रूपमा प्रस्तुत गरिएको छ ।
यो सङ्ग्रहको दोस्रो कथा पनि वर्णनात्मक शैलीबाट नै अघि बढाइएको छ तर शुरुमा आएको कथा भन्दा पछि आएको कथा चाहिँ मुख्य कथा बनेको छ । विसाउनी पनि शुरुकै कथासँग जोडेर गरिएको छ । अतः गर्भकथात्मक शैली पनि यो कथामा पाइन्छ । शैलीका दृष्टिबाट यो कथा अत्यान्त स्तरीय देखिन्छ ।
प्रस्तुत सङ्ग्रहको तेस्रो कथाले पनि पहिलो र दोस्रोले जस्तै वर्णनात्मक शैली प्रयोग गरेको देखिन्छ तर यसमा कुनै गर्भे कथा छैन । शैलीका हिसावले यो कथा अब्बल छ ।
सङ्ग्रहको सातौ कथाको शैली वर्णनात्मक र स्तरीय नै देखिन्छ भने आठौँ कथाको शैली वर्णनात्मक एवम् संवादात्मक शैलीको भएकाले लोककथा अझ राम्रो र सशक्त बन्न सकेको देखिन्छ । अन्य कथाहरूमा जस्तै अर्को कथा ‘सुनको थाल’ मा पनि लोककथामा प्रयोग गरिने वर्णनात्मक एवम् सरल शैलीको प्रयोग पाइन्छ । यसैगरी ‘सत्यको धन’ र ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ कथाहरूमा पनि माथिकै वर्णनात्मक र संवादात्मक शैलीको प्रयोग गरिएको छ ।
सङ्ग्रहको तेह्रौँ कथाको शैली वर्णनात्मक छ भने चौधौँ कथा ‘सभापोखरीमा ः पारुहाङ सुम्निमा’ को शैली वर्णनात्मक र संवाद सहित गर्भकथात्मक शैलीमा किंवदन्तीहरूलाई जोडेर गरिएकाले राम्रो लोककथा बनेको छ । सङ्ग्रहको शीर्ष कथा अन्त्यमा राखिएको छ जसमा पनि अन्य कथाहरूकै शैलीलाई निरन्तरता दिइएको भए पनि परिवेशको बौद्धिक वर्णन अलि धेरै गरिएको छ ।
यसरी बुढाथोकीले सङ्कलन गरी लेखेका चर्चित सङ्ग्रहका अधिकाशं लोककथामा प्रयुक्त शैली राम्रो पाइएको छ ।
भाषा लोककथा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पु¥याउने विचार विनिमयको साधन हो । भाषा बिना लोककथाको कल्पना सम्म गर्न सकिँदैन । तर लोककथामा प्रयुक्त भाषा चाहिँ एकदमै सरल, स्थानीय कथ्य ठेट शब्द र पदावलीहरूको प्रयोग भएको हुने गर्छ । लोककथामा प्रयुक्त भाषा सरल, सरस र लयालु हुन्छ । यस प्रसङ्गमा मोतीलाल पराजुलीले प्रतक्ष्य वा अप्रत्यक्ष कथन शैली, भूतकालीन त्रियापदको प्रयोग, श्रोताको स्तर अनुरूपको भाषिक प्रयोग आदि हुने उल्लेख गरेका छन् ( पोखरेल र अन्य, २०७६ : २०८)।
अतः यो खण्डमा चर्चित कृतिका लोककथाहरूको भाषा के कस्तो छ भनी समीक्षात्मक टिप्पणी गरिनेछ । यो सङ्ग्रहको पहिलो ‘अरुण मनकामनाको मुन्धुम’ शीर्षक लोककथामा सरल, सरस र स्थानीय कथ्य भापाको प्रयोग गरिएको छ । उदाहरणका लागि ‘बरुण हामफाल्दा एकठाउँ हटिया फिमेम्बा र अर्को ठाउँ बरुण फिमेम्बा बन्न पुगेछ ।’ फिमेम्बा भनेको किराँत भाषामा झरना हो तथापि अरुण उपत्यकाकातिर झरनालाई धेरैले फिमेम्बा नै भन्दछन् । यसरी हेर्दा बुढाथोकीको यो कथा भाषा शिल्पका दृष्टिले स्तरीय लोककथा बन्न सकेको देखिन्छ ।
सङ्ग्रहको तेस्रो कथामा प्रशस्त नेपाली उखानहरूको प्रयोग पाइन्छ । उदाहरणका लागि ‘ दुःख पाए माइती–मावली, सुख पाए ससुराली (पृ. ४४)’, ‘उहिलेका कुरा खुइले (पृ. ४३)’ आदि । यसमा प्रयुक्त शब्दहरू पनि झर्रो नेपाली भएकाले भाषाका नजरबाट यो कथा राम्रो ठहर्छ ।
यो कृतिमा सङ्ग्रहित दोस्रो कथामा थुप्रै स्थानीय र ठेट नेपाली शब्दहरू तथा पदावलीहरू गबुवा, न्यूनी आइज, कोरली गाई, १८ मुरी तोरी र रायोको गेडा, बरियात आदि शब्दहरू प्रयुक्त भएकाले लोककथाको भाषाका दृष्टिले यो कथा राम्रो ठहरिएको छ ।
मामा भानिज गोरु नार्ने प्रसङ्ग, ह ह.. भनेर हिँड्दै गरेका गोरु रोक्ने शब्दावली, अड्को जस्तो लाग्ने किसानकी छोरीको उत्तर, फर्सीका मुन्टा र निघुरो आदि अनेकौ ग्रमिण ठेट नेपाली शब्दहरूको प्रयोगले ‘मान्छेकी छोरी’ शीर्षक कथाको भाषा लोककथा सुहाउँदो बनेको छ । ‘पशु मारेको रिपोर्ट चौकीमा पुग्यो भने मुखमा घाँस र पछाडि गोबर दलेर दाम्लोले डो¥याउँदै चार पाउ टेकेर कैद गर्थे (पृ. ६८)’ जस्ता बाक्य र सङ्कथनले ‘बित्ते’ कथाको भाषालाई राम्रो लोककथा बनाएको छ । छैटौँ कथाकाको भाषा चाहिँ साहित्यिक कथाको जस्तै छ , यसको भाषामा पनि थुप्रै लोक–कथ्य शब्दहरू आएका भए पनि भाषिक हिसाबले अन्य कथाजस्तो दरिलो देखिँदैन ।
सङ्ग्रहको सातौँ कथामा प्रयुक्त मित बोल्दा भनिने बाक्याशंले नै यो लोककथाको मौलिकतालाई बचाएको छ । यहाँ प्रयोग भएका अन्य लोक शब्द र ठेट नेपाली शब्दहरूका कारण भाषाका नजरबाट यो कथा उत्कृष्ट बनेको देखिन्छ । सङ्ग्रहको आठौँ कथामा चाहिँ कथाकारले अनावश्यक ठाउँमा धेरै नै रतीरागात्मक प्रशङ्गहरू प्रयोग नगरेका भए बाँकी भाषा प्रयोग लोककथाका दृष्टिले राम्रो ठहर्छ । अर्को कथा ‘शोभाकान्तको पितृलोक यात्रा’ पनि भाषिक प्रयोगका हिसाबले राम्रो नै देखिन्छ । भाषिक प्रयोगका दृष्टिले अर्को कथा ‘सुनको थाल’ पनि स्तरीय नै देखिन्छ । अन्य कथाहरूमा जस्तै अर्को कथा ‘सुनको थाल’ मा पनि लोककथामा प्रयोग गरिने वर्णनात्मक एवम् सरल शैलीको प्रयोग पाइन्छ । यसैगरी अन्य धेरैजसो कथामा जस्तै ‘सत्यको धन’ र ‘गुनले गुन खान्छ, म तँलाई खान्छु’ कथाहरूमा विभिन्न नेपाली उखान, टुक्का र ठेठ नेपाली भाषाको ग्रामिण शब्दहरूको प्रयोग गरिएकाले लोककथा श्रवणीय बनेका छन् ।
सङ्ग्रहको तेह्रौँ कथा ‘ ओइ¥याइदिऊँ !’ निम्नानुसारका लोकगीत आएर लोककथालाई स्तरीय भाषिक स्वरूप दिएका छन् :
‘असामै जाउँला, धन कमाई ल्याउँला, नाङ्लामा सुकाउँला…. ( पृ. १३३)’
‘ आयो लाहुरे बुट पेटी कसेर, गयो लाहुरे खरानी धसेर ……. ( पृ. १३४)’ यसैगरी बुढाथोकीले चौधौँ कथामा पनि विभिन्न ठेट नेपाली शब्दयुक्त भाषाको प्रयोग गरी स्तरीय लोककथा बनाएका छन् ।
सङ्ग्रहको शीर्ष कथा समेत रहेको अन्तिम पन्ध्रौं कथामा पनि थुप्रै कथ्य नेपाली शब्दहरू राखिएकाले लोककथा स्तरीय भएको छ तर यसको अन्त्यमा ‘सुन्नेलाई सुनको माला……’ भन्ने तमाम कथाहरूको अन्त्यमा राखिएको पदावली चाहिँ राखिएको छैन ।
यसरी भाषाका दृष्टिबाट हेर्दा बुढाथोकीका हरेक कथाहरू स्तरीय लोककथामा दरिएका छन् ।
यसरी पूर्वी नेपालको लोकसाहित्यक क्षेत्रमा कलम चलाइरहेकासाहित्यकार ताराबहादुर बुढाथोकीले सङ्कलन गरेका पन्ध्र नेपाली लोककथाहरूको यो सङ्ग्रहमा भएका हरेक कथाहरूलाई लोककथाका नौ तत्वहरूका आधारमा विश्लेषण गरेर हेर्दा धेरै हदसम्म राम्रो पाइएको निष्कर्ष निस्किएको छ । लोककथामा मौलिकता मिसिन सक्छ । मिसिनु पनि पर्दछ तर यसो भन्दैमा साहित्यिक आख्यानमा जस्तो सामान्य पात्र, परिवेश र साहित्यिक भाषा प्रयोग गर्दा लोककथाको मर्म बिग्रनेतर्फ बुढाथोकीले आगामी सङ्कलनमा ध्यान पुर्याउन सके सुनमा सुगन्ध हुने देखिन्छ ।
जेशी, सत्यमोहन (२०७३, दो.सं.), नेपाली चाडपर्व, ललितपुरं : साझा प्रकाशन ।
पोखरेल, माधवप्रसाद र अन्य (२०७६), जगदम्बा नेपाली साहित्यको बृहत इतिहास, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
बन्धु, चुडामणि (२०७१), नेपाली लोकसाहित्य, काठमाडौं : एकता बुक्स ।
भण्डारी, पारसमणि (२०७४), प्राज्ञिक लेखन तथा सम्पादन, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
भट्टराई, हर्षनाथ (२०६३), राष्ट्रिय नेपाली शव्दकोश, काठमाडौं : एडुकेशनल पब्लिशिंग हाउस ।
शर्मा, नगेन्द्र (२०७४, चौ.सं.), नेपाली जनजीवन, ललितपुरं : साझा प्रकाशन
एकु घिमिरे
अन्तुडाँडा ,इलाम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )