कथा : एकादेशकी सुजिमा

~दिल थापा~

उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न मन पदैन । फोनमा धेरै समय बिताउँदिन पनि ।उनी आफैं फेरि बोली ।मलाई चिनेनौँ । मलाई भुलि सकेको ?उसको प्रश्नले मलाई न्युरोड सडकको दायाँ बायाँ सडकपेटीको याद दिलायो । यतिका वर्षपछि उसले मलाई कसरी सम्झ्यो ? किन सम्झ्यो ? मैले त उसलाई भुलि सकेको रहेछु। पहिला आफ्नै जस्तो लाग्ने स्वरलाई विरानो बनाई सकेको पो रहेछु। त्यसैले फोन उठाउने बित्तिकै चिन्न सकिन ।

आज छुट्टिको दिन । यो मनलाई गजबको काम मिल्यो । उसलाई फेरि सम्झने । खाजा खाना पनि भुलिएछ । भोलि अफिस जाँदा लगाउने कपडा धुननी भुलिएछ । म यत्तिका वर्ष जिन्दगी भुलेको मान्छे आज एकदिनको आफ्नै दैनिकी भुलेर गल्ती महशुस भएन ।

उसको र मेरो अन्तिम भेट लेकसाइडको कुनै एउटा क्याँफेको टेबलबाट भएको हो। बेलुकाको समय थियो । घामले फेवातालसंग बिदा माग्दै थियो । पोखरा सहरले रातलाई पर्खिदै थियो । क्याँफेको टेबल र मैले उसलाई । मलाई लागेको थियो ।त्यो भेट सदाको जस्तो सामान्य भेट होला भनेर । तर त्यो भेट मेरो जीवनकै असमान्य भेट भईदियो । साँच्ची भन्नुभन्दा उनीसंग त्यो मेरो अन्तिम भेट थियो । र आफ्नै सम्झने अन्तिम दिन पनि ।

अब हाम्रो भेट कैले हुने छैन । एक अर्काले चिन्ने पनि छैन । उसले यसरी कुरा सुरु गरेकी थिई । मैले किन भन्न पनि सकिन । हाम्रो सम्बन्धले एउटा स्वरुप लिन नपाउँदै उसले बिट मार्न लागि रहेको थियो त्यसैले । मैले कसरी सहर्ष स्वीकार गरे l उसको निर्णयहरुलाई । उनको आंखामा खुसीको ताराहरु उडाई सकेको थियो । अनि मेरो सपनाको घाम क्षितिजमा छट्पटाई रहेको थियो । उसलाई खुसीले बिदाई गरेको म । त्यो दिनदेखि म खुसी हुन सकिन । मेरो खुसी पनि उनीसंगै गयो । र अनुहारमा अतितका दोबहरु बाहेक केही रहेन ।

आजभोलि फेवातालको डिलतिर टहलिन जादा फेवातालको पानीले मलाई सोधी रहन्छ । खै तिम्रो सुजिमा ? अनि पो पानीलाई भन्छु । तिमीनिरको उसलाई विदाई गर्ने सडकलाई सोध भनेर । उनीसंग छुट्टिएपछि यो सहर मलाई रमाइलो लाग्न छाड्‌यो । बस्न मन पनि लागेन । र काठमाडौ सरुवा मिलाउन खोजे तर मिलेन ।

पर्वत जिल्लाको कुनै एउटा गाँउबाट पोखरा पढ्न झरेको म ।उनीसंग जोडिन पो पुगेको रहेछु । भविष्य बनाउन आएको म । उसलाई पो आफनो भविष्य सम्झन थालेछु। प्लस टुदेखिको हाम्रो सम्बन्धले विविएस पढ्दासम्म एउटा आकार लियो । तर अमूर्त आर्टजस्तै । हामी पढ्ने कलेज , क्लास रुम र खाजा खाने क्यानटिन घर हाम्रो सम्बधको बिम्बहरुजस्तै लाग्थ्यो । अनि साँझपख भेट्ने पृथ्वीचोक पनि ।

पोखराको डेरावाला बसाई । पढाई , बैङ्कको जागिर र उनी । मेरो जिन्दगी त खिचडीजस्तै पो भयो । मिठो अनि रमाईलो पनि । त्यो बेला अफिसबाट सिधै उसलाई महेन्द्रपुल भेट्न गएको पनि यो खुट्टाले घरीघरी सम्झन्छ । यी हातहरुले मोइबाल छुंदा उसको नम्बर पो सम्झन्छ । मैले उनीसँग थोरै समयको जिन्दगी बिताए हुंम्ला । तर खुसीको जिन्दगी बिताए । आज उसको जिन्दगीको मेलोमा धेरै चीज छ । त्यो मलाई थाहा छ। . आज सम्म मेरो जिन्दगीको मेलोमा केही चीज छैन । त्यो उसलाई थाहा छ।

सुजिमाले हिजो पनि मलाई फोन गरेकी थिइँन । हिजो त झन् आफ्नो छोरासंग बोल्न अनुरोध पो री। मैले पनि हुन्छ भने । उसले आफ्नो चार वर्षको छोरालाई मलाई अङ्कल भन पो भनी । मैले उसको छोरालाई मलाई ठुलोबाबा भन्न अनुरोध गरे । तर उसको छोराले पटक्कै मानेन । उसको छोराको जिद्धीपनले मलाई फेरि मेरी सुजिमाको जिद्धीपनको याद दिलाई दियो । तिम्रो गुण/ बानी त छोरामा पनि सरे छ त । मैले यसो भन्दा ऊ हाँसी । जिस्किदै भनी । तिम्रो गुण पनि छ मेरो छोरामा । जुन मलाई औधी मन पर्छ । अनि तिम्रो यादमा बाँच्न सजिलो बनाउँछ । मेरो छोरा तिमीजस्तै गरी हाँसेर बोल्छ । तिमीलाई पनि थाहा भयो होला । म हाँसेर बोलेको उसलाई मन पर्थ्यो । अनि उनको जिद्धीपनलाई नबोलेरै स्वीकृति दिने बानीहरू । र उसलाई औधी विश्वास गर्ने मेरो आंखाहरू।

म समर लभको अतित जस्तो त थिइन । तर समर लभको अतितले सायालाई जस्तीकै मायाँ गर्ने पात्र चाँहि थिएँ । मायाँ पाउनेले मायाँ दिनु पनि पर्छ। तर मायाँ गर्ने आफ्नो मान्छेलाई अकैंलाई दिनु पर्‍यो भने ? चाइनिज गुम्बाको छेउबाट फेवाताललाई हेरेर सोच्थ्यो । त्यसो भयो भने पानीबिनाको ताल हुन्छु की । जहाँ पानीबिनाको तालको कुनै सौन्दर्य हुदैन । अनि ताल हो भन्नुको अर्थ पनि। आजभोलि पनि मेरा हातहरुले उसको हातहरुलाई खोजी रहन्छ । खुला आकासमा हातहरु फिजाउँदा शीतको स्वरूपमा आकासले उसलाई पठाउछ । अनि पो सोच्छु यी मेरा हातका आखाहरु l फेवातालमाथिको बनमा एक्लै एक्लै रोईरहने न्याउली चरीहरु हुन्। न्याउली चरीलाई रुन जसरी कुनै बाहाना चाहिदैन । त्यसरी नै मेरा आँखाहरुलाई रुन कुनै बाहाना चाहिदैन ।

उसलाई बिदाई गरेर फर्केको रात । खाना पनि खाइन । त्यस्तीकै सुते । म सुते । तर मेरो आँखाहरु सुत्नै मानेन । तेस्रो वर्षको परीक्षा आउँदै थियो । पढ्न खोज्दा मन पनि मानेन । अनि पुराना डोकोको खुट्टाहरुझैं दिमागको खुट्टाहरु भाँजिएर होला अर्धचेतनमा नै रात कटाए ।

भोलि पल्ट सबैभन्दा अगाडि अफिस म पो पुगेछु । सधै ढिलो पुग्ने म । ढिलो भएर हाकिमको सँधै गाली खाने म । आज त हाकिमको गाली खान पनि परेन । अनुहारमा वर्खा सिजन लागेको छ । आखाहरु लुम्लेजस्तै रुन तमतयार छ । तर सबैको अगाडी खुसी भएको देखाउनु त पाप्यो । म सँगै अफिसमा काम गर्ने प्रभा मिससंग सुजिमाको पनि राम्रो चिनजान थियो । अनि हाम्रो सम्बधको बारेमा पनि । उसले हिजो राति प्रभा मिससंग हामी अलग भएको कुरा फोनमा सुनाईकी रहिछिन् । ब्रेक टाइममा प्रभा मिसले मलाई सुनाउनु भएको थियो । भन्दै थिई रे उसले मलाई ” अविनासले मलाई किन भनेर प्रश्न सम्म पनि गरेन । मैले भन्न पनि सकिन । अफिस टाइम सकिएपछि प्रभा मिसले मलाई सबै कुरा सुनाउन भयो । म सहरबीचको भ्युउटावरझै एकदीक नचलि सुनी रहे।

उसले मलाई ब्रेकप दिनुमा यति ठुलो कारण देख्दिन । आजभोलि पनि । थिएन पनि । तर हाम्रो सम्बधमा समाजको सीमा रेखाहरु भने पक्कै थिए। म आजभोलि पनि सोच्छु मान्छेहरु किन ? बिहेकै लागि सम्बन्धहरु तोड्छन् ? मायाँ गर्ने मान्छेहरू गुमाउन किन तयार हुन्छन् ? हो उसले म एउटा पुरुषलाई छोडेर अर्को पुरुषलाई रोजेको मात्र त हो। अनि उसले आफ्नो संसार झन साँघुरो बनाएको मात्र हो। नत्र यतिका वर्षपछि पनि उसले आफ्नो जीन्दगीको संसारबाट मेरो जिन्दगीको संसार चिहाउन किन कोशिस गरिरहन्छ ?

मसँग अलग भएको तीन दिनपछि उसको बिहे भएको हो। हेड अफिसमा मेल गर्न चटारो गरिरहदा प्रभा मिसले मलाई सुनाउनु भएको थियो। अनि मेरा लागि सुजिमाले पठाएकी अन्तिम सन्देशका हरफहरु पनि । मेरो खुसीको खेतमा डढेलो लाग्ने नै भयो। म हाँस्ने कुनै आधार नै रहेन। त्यसैले पोखाराबाट देखिने हिमालहरूलाई मैले देखिने गरी नमुस्कुँराउँनु भन्थे ।

आज भोलि पनि मलाई यो पोखारा सहर । आधा सहर मन पर्छ । आधा सहर मन पदैन । यो पोखराको आधा सहर मेरी सुजिमालाई विदाई गरेको सहर हो भने बाँकी आधा सहर मेरो पीडामा आँशु बगाउने सहर हो।

तेस्रो वर्षको परीक्षा पनि राम्रो गर्न सकिन । मलाई छोडेर टाढाको सहर जानेलाई पनि भुल्न सकिन । मायाँ गर्ने मान्छेको याद त टाढा भएपछि पो आउंदो रहेछ। जति नजिक हुँदा आउदैन्थ्यो । समयको गतिसँगै उसको यादको डोरीहरू पनि मसिनो हुँदै गयो । अनि बल्ल म सामान्य दैनिकीमा फर्कन थाले।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.