कथा : बर्मेली दम्पती

~घनश्याम ढकाल~

“बाबु, एक पाथी चामल देऊ न ।” बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् ।

“पैसो छ कि छैन ?” बसेको ठाउँबाट नउठी पसलेले सोध्यो ।

“छैन बाबु ।” बुढी आमाका नजर तल झुके ।

“तिन चार हजार उधारो भइसक्यो, अब काँबाट दिनु ? मैले नि किनेरै ल्याउने हो ।”

“यत्ति छ, तिरम्ला नि चाँडै नै ।” उनले मैलो चोलाको खल्तीबाट दुई सय रुपैयाँ झिकेर पसलेको हातमा राखिदिइन् ।

“खोइ ! काँबाट ल्याएर तिछ्र्यौ ?”

“केही नलागे जग्गा बेचेर पनि तिरम्ला, तिम्रो पैसा खाएर मरम्ला त !”

“पैसा कमाउनेहरूले सहरबजार ताकिसके, त्यो पाखो कसले किन्छ ?”

“सबै सहरबजाराँ काँ जालान् र ? याँ बस्नेलाई जग्गा चाहिन्न र ? खसालेर लिन पाए तिम्ले नै लिने थियौ ।”

“लौ थाप ।” पसलेले चामल भरेर बुढीको झोलामा खन्याइदियो ।

“दुई पोका नुन देऊ न बाबु, मैले त भुसुक्कै बिर्सेकी ।”

“ए साँच्चै, तिमेर्लाई त सर्खारले पैसा दिएको छ रे नि त । जाँदैनौ लिन ?” नुनका पोका दिँदै पसलेले भन्यो ।

“हाम्लाई केको पैसा दिनु ?” बुढी आमाले अपत्यारिलो स्वरमा भनिन् ।

“हो मैले साँच्चै सुनेको हो । लडाइँका बेलाँ मरेकालाई दिएका छन् रे । अझ तिम्रा त छोरो र छोरी दुइटा… ।” पसलेले पछिल्लो वाक्य पूरा गरेन ।

छोराछोरीको प्रसङ्गले बुढीको छातीभित्र कसैले सियोले घोचेजस्तो भयो । भक्कानिँदै गरेको छातीलाई एउटा हातले बलपूर्वक थिचिन् र अर्को हातले झोलाको फिता टाउकोमा लगाइन् । उमेरले सत्तरी वर्ष काटिसकेकी थिइन् । कपाल सेतै फुलेको थियो । अग्लो कद हुनाले उनका हातखुट्टा मुरलीबाँसको लामो तरी जस्ता देखिन्थे ।

उनलाई चिनाउने गाउँघरको नाम थियो –बाटामुनिकी जेठी । उनका लोग्ने जेठो भएर नै उनी पनि जेठी भएकी थिइन् । जेठाको नाम जगतलाल थियो । उनी अहिले पचहत्तर वर्षका छन् । दुबै आँखामा मोतीबिन्दु हुनाले राम्ररी देख्न सक्दैनन् । बिस वर्षको उमेरमा उनी पैसा कमाउन भनी बर्मातिर गएका थिए । अर्को बिस वर्ष बिना चिठीपत्र त्यतै हराए । यता घरतिर दाजुभाइले आश मारिसकेका थिए र छुट्टीभिन्न हुँदा उनलाई अंश पनि राखेका थिएनन् । बिस वर्षपछि एक्कासि घर आउँदा एकातिर सबै दङ्ग परे भने अर्कातिर अंशवण्डामा खैलाबैला भयो । जगतलालका बारेमा अनेकथरि अनुमान गरिए । कसैले उनलाई बर्मामै स्वास्नी छोराछोरी छोडेर आएको भन्ने गर्दथे भने कसैले सरकारले लखेटेर आएको भन्दथे । ऊ आफैले भने त्यहाँको सरकारले नेपालीलाई बस्न नदिएको र कमाएको पनि केही ल्याउन नदिएको बताउँथे । त्यसैले होला, त्यतिका वर्ष बसे पनि उनले पैसो ल्याउन सकेनन् ।

२०१९ सालतिर जगतलाल नेपाल फर्केका हुन् । त्यतिबेला बर्माबाट धेरै नेपालीहरू लखेटिएका थिए । उताबाट आउनेलाई पुनर्वासका लागि तराईतिर जमिन पनि उपलब्ध गराइएको थियो । जगतलाल भने त्यता गएनन् र यतै आफूले अंशमा पाएको जग्गामै गुजारा गरेर बस्ने निधो गरे । अब उनी बाटामुनिका जेठाबाट बर्मेली जेठा भएका थिए भने बुढी बर्मेल्नी जेठी । यिनको खास नाम भने तुलसा थियो । उनी बालविधवा थिइन् । बर्मेली जेठाले कसैले भनेको सुनेनन् र विधवा विवाह गर्न हुन्छ भने तुलसालाई बिहे गरेका थिए । तुलसाले सात ओटा सन्तान जन्माए पनि आखिरको छोरो महेश र छोरी निरजा मात्र बाँचेका थिए । महेश जनयुद्ध सुरु हुनुभन्दा पहिले नै पार्टीको पूर्णकालीन कार्यकर्ता बनिसकेको थियो भने निरजा युद्ध सुरु भएको तिन वर्षपछि मात्र छापामारमा सामेल भएकी थिई ।

जगतलाल पहिले निकै खाइलाग्दो अग्लो जिउडाल र लाम्चो अनुहार भएका व्यक्ति थिए । अहिले भने बस्दाखेरि उनका खुट्टा सारसका जस्ता देखिन्छन् । आँखाको समस्या नभएको भए हिँडडुल गर्न अझै पनि दरा थिए । अहिले उनका घरमा कोही फर्कँदैन । छोराछोरी हुँदा आउने जाने मानिसहरूको लेखो हुँदैनथ्यो । उनी आफै फरासिला मात्र थिएनन्, विद्रोहका समर्थक पनि थिए । त्यसैले उनकै प्रभाव र प्रेरणाबाट छोराछोरी विद्रोहमा सरिक भएका थिए । आउने मान्छेहरू उनीबाट प्रभावित भएर फर्कन्थे ।

“म बर्माका करिन विद्रोहीहरूसँग काम गरेको मान्छे हुँ । उनीहरू मकहाँ आइरहन्थे ।” पार्टीका मानिसहरूसँग बर्मेली बुढाले भन्दथे र करिन छापामारहरूका अनेकौँ कौशलहरू सुनाउँथे । उनी माओका खुला प्रशंसक थिए ।

“राम्रो हो नि नयाँ जनवाद, चिनमा माओले ल्याएको । स्वदेशी र विदेशीहरूले कसैलाई चुस्न नपाउने व्यवस्था ।” जगतलाल भनिरहन्थे । “हाम्ले पनि त्यस्तै व्यवस्था ल्याउन खोजेको हो ।” बहसमा सरिक हुनेको जवाफ हुन्थ्यो ।

“आफ्नै किसिमले गर्न खोजे त सफल होला, चिनको नक्कल गर्न खोज्दा धेरै ठाउँका लडाइँहरू असफल भएर तुहेका छन् ।” बुढा सुझाव दिन पछि पर्दैनथे ।

पीडा भरिएको मन लिएर बुढी घर आइपुगिन् । झोला पिँढीको डिलमा राखेर आफू पनि थचक्क पिँढीमै बसिन् ।

“आइपुगिस् ?” खाटमा टुक्रुक्क बसेका बुढाले सोधे ।

“हो, आइपुगेँ ।” रुन्चे स्वरमा बुढीले भनिन् ।

“के भयो फेरि ? कि कतै लोटिस् र हो ?”

“केही भको छैन ।” यस बेला त बुढीको डाँको फुट्यो ।

“यसलाई आज अवश्य केही न केही भको छ ।” मनभित्र कुरा खेलाउँदै बुढी भएका ठाउँमा पुगेर बुढाले उनको टाउको मुसारे । बुढाको छातीमा टाउको राखेर बुढी झन् भक्कानिएर रोइन् ।

“भन् त भन्, के भयो ?”

“हाम्रो अवस्था देखेर रुन मन लागेको हो । अब त दुई छाक जुटाउन पनि गाह्रो हुन थाल्यो । तिमी आँखा देख्दैनौ, मेरो मनले हरेस खान थालेको छ । हिँड्दा गोडा लगलग काम्छन् ।”

बुढाको पौरुषयुक्त स्वर छुनेबित्तिकै लोझाउने लज्जावती झार झैँ लोझायो । उनको छातीमा के के बिझाए जस्तो भयो ।

“तँ भन्दा म अघि जान पाए त हुन्थ्यो नत्र भने…” बुढाका आँखाबाट बररर्र आँसु खसे ।

“बरु एकै पटक जान पाए …” रुन्चे स्वरमा बुढीले भनिन् ।

“जस्तो भए पनि बेहोर्नुपर्छ, हेर्ने नभएपछि…” केही क्षण रोकिएर बुढाले फेरि अगाडि भन्न थाले–“अब त नातिनातिनाका औँला समातेर हिँड्ने बेला हो ।”

“त्यो त पुछिइसक्यो ।”

“अहिलेसम्म अलि अलि हातखुट्टा चल्दै छन्, चल्न छोडेपछि जे त होला ।” यसपटक बुढाले धैर्य बटुल्दै भने ।

“पार्टीले हेर्छ भन्थ्यो छोराले ।” घुँक्क घुँक्क गर्दै बुढीले पुराना कुरा सम्झिन् ।

महेश छँदै बा आमाका बारेमा कुरा नचलेको होइन । पटकपटक युद्धको परिणामका बारेमा पनि छलफल चलेको हो ।

“लडाइँको के भर हुन्छ र ? दुश्मनले फेला नपार्ने बेलासम्म मात्र हो, फेला पारेपछि…” एकपटक घर आउँदा महेशले बाआमासँग भनेको थियो ।

“त्यस्तो अलच्छिनी कुरो नगर बाबु ।” तुलसाले भनिन् ।

“यो सत्य हो आमा, त्यसलाई सहने क्षमता अहिलेदेखि नै विकास गर्नुपर्छ ।” महेशले सम्झायो ।

“तैँले यस्ता कुरा गर्छस्, हाम्रो के हालत होला ?” आमाले सुस्केरा काढ्दै भनिन् । छोराको माया मान्दै उनले उसको मृत्युको असहज कल्पना गर्न पुगिन् ।

“क्रान्ति सम्पन्न नहुने बेलासम्म सहिद परिवारलाई पार्टीले हेर्छ, त्यसपछि सरकारको दायित्व हुन्छ ।” उसले सम्झायो । यसो भन्दा त्यहाँ असजिलो मौनता छायो । केही बेरसम्म कसैले बोल्ने रुचि देखाएनन् ।

“पहिले त्यतिका मान्छे आउँथे पार्टीका, अहिले त खै …?” बुढाले लामो सास ताने ।

“उतिबेला त छोरो थियो, छोरी थिई, तिनलाई कजाउन पाइन्थ्यो र पो आउँथे । अहिले किन आउँथे ? हामीसँग लिने फाइदा लिइसके । अब हामीसँग के छ र दुःख भन्दा । हामीले उनीहरूलाई खुवाउन पाल्न सक्दैनौँ ।”

“त्यसो भन्नु हुँदैन, जे भए नि छोराछोरीले रगत बगाएको पार्टी हो ।” बुढाले सम्झाउने प्रयास गरे ।

“अँ साँच्चै, लडाइँमा मारिएका परिवारलाई सर्खारले पैसा दिएको छ रे । दोकानदारले त्यसै भन्थ्यो ।” बिर्सेको कुरा सम्झे झैँ बुढीले भनिन् ।

“कहाँ दिएको रैच ?”

“जिल्लाको सिडिओकोमा ।”

“खै, कोसँग बुझ्ने ? त्यतै जानुपर्ला ।” जगतलालले भन्यो ।

भोलिपल्ट बिहानै बर्मेल्नी बुढीले खाना तयार बनाइन् । सात बज्दा नबज्दै तिनीहरू भात खाएर हिँडिसकेका थिए । घुर्मैलो देखे पनि जगतलाल फटाफट हिँड्न सक्दैनथे, बुढीको सहारामा हिँड्नुपथ्र्यो । बलियो मान्छेलाई त्यहाँबाट सदरमुकाम पुग्न दुई घण्टा लाग्दथ्यो । तर, ती दम्पती त्यसरी हिँड्न सक्दैनथे । उनीहरू सदरमुकाम पुग्न पूरा छ घण्टा लाग्यो । तिनीहरू जिल्ला कार्यालय पुग्दा एक बजिसकेको थियो ।

“यहाँ पीडितलाई सर्खारले सहायता बाँडेको छ रे ।” उनीहरूले त्यहाँको एउटा कर्मचारीसँग कुरा राखे ।

“हो, बाँडेको छ, तपाईँहरूको को के भएको हो ?” कुरा सुन्ने कर्मचारीले भन्यो ।

“हाम्रा छोरा र छोरी दुबै सर्खारबाट मारिएका हुन् ।” बुढाले बेलीबिस्तार लगाए ।

“ती मर्ने तपाईँका छोराछोरी हुन् भनेर नाता सम्बन्ध प्रमाणित गरेर आउनुपर्छ ।”

“महेश र निरजा हाम्रै छोराछोरी हुन् । हाम्ले ढाँटौँला त ? महेशलाई समातेर मारेका हुन् । निरजा बेनी हो कि कता हो मारिएकी हो ।” बुढीले भनिन् ।

“तपाईँहरूले भनेका कुरामा हाम्रो अविश्वास छैन तर तपार्इँहरूलाई हामी चिन्दैनौँ । न ती मारिएका व्यक्तिहरू तपाईँहरूका छोराछोरी नै हुन् भन्ने जानकारी छ । त्यसैले गाविसबाट ती मारिएको प्रमाणपत्र र नातासम्बन्ध प्रमाणित गरी लिएर आउनुपर्छ । तबमात्र पैसा दिन मिल्छ ।” कर्मचारीले फेरि पनि अथ्र्यायो ।

“जाऊँ त अब, मिल्दैन भनेपछि ।” बुढाबुढी त्यहाँबाट हिँडे । दिन ढल्कँदै गएको थियो । सिमसिम पानी पर्न थालेको थियो । बुढाबुढी ढुकुरको चल्ला रुझे झैँ निथु्रक्क भिजेर जाडोले लगलग काम्दै राती नौ बजेमात्र घरमा आइपुगे ।

अँध्यारोमा सुनसान उभिएको रित्तो घरले तिनीहरूलाई पर्खिरहेको थियो । जाडो कक्रक्क परेका हातले बुढी आमाले बल्लबल्ल साँचो खोलेर ढोका उघारिन् । त्यसपछि दुई हातले छाम्दै अँगेनामा पुगिन् । बिहान खरानीमा घुसारेको मुढोमा आगो ज्युँदै रहेछ । त्यसलाई ठोसेर आगो सल्काएर दाउरा हालिन् । एकैछिनमा आगो ह्वारह्वार्ती बल्न थाल्यो । भोकतिर्खा बिर्सेर बुढाबुढीले आगो ताप्न थाले ।

भोक र थकाइले ती दुबै आक्लान्त थिए । भोकले जति आत्तिए पनि झटपट उठेर खाने कुरा पकाउने ताकत कसैमा थिएन । अघिपछि बुढीले उज्यालैमा भात पकाउँथिन् । साँझ परेपछि जिउ त्यसैत्यसै भारी हुन्छ, उठ्नै सक्तिनथिन् । आज त झन् दिनभरि हिँडेर थाकेको जिउ, उठेर केही गर्ने आँट नै भएन । तैपनि नउठी हुँदैन । आफू मात्रै भए घुत्रुक्क पल्टन्थिन् । बुढाका आँखा बसेपछि उनलाई पस्केर खान दिने कोही भएन, न त एक खेप पानी ल्याइदिने मान्छे नै ।

“यिनै बुढा हुन् सहारा, यी पनि भएनन् भने…” बुढाको मायाले उनलाई केही शक्ति दियो । बिस्तारै हात टेकेर उठिन् । डालीमा कोदाको पिठो थियो । त्यसैको पुवा बनाइन् र नुन पिँधिन् । तिनीहरूले आज पुवा र पानीले छाक टारे ।

“भोलि सिफारिस बनाउन जान प¥यो ।” बुढाले भने ।

“त्यहाँ पनि के के झमेला लगाउने हुन् ।” बुढीलाई सिफारिस पाइएला भन्ने कुरामा विश्वास थिएन ।

“बुढी, मेरो त पेट काट्यो कटक्क, दिसा जान पर्ला जस्तो पो भयो ।”

“लौ मा¥यो, अँध्यारो छ, कसरी जाने हो ?” बुढीका मुखबाट एकाएक निस्कियो र तिनले फेरि भनिन्, “लौ हिँड ।”

अँध्यारोमा खुट्टाको सारले बुढालाई डो¥याएर चर्पीतिर लाँदै थिइन् । बाटो अग्लो कान्लाको डिलबाट थियो । बुढाका खुट्टा चिप्लिएर शरीरको सन्तुलन बिग्रियो । बुढीले धान्न सकिनन् र बुढा तल लड्न पुगे ।

“लौ न नि गुहार ! गुहार !!” हंसले ठाउँ छोड्यो र उनी जोडले चिच्याउन थालिन् ।

“ए, के भयो हँ ?” नजिकको छिमेकी बुढीको हारगुहार सुनेर आइपुग्यो ।

“बर्मेली बुढा लडेछन् ।” उसले अरूलाई बोलायो र सबै मिलेर बुढालाई माथि ल्याए । देखिने चोटपटक केही लागेको रहेनछ ।

सधैँ सबेरै उठेर यताउति गर्ने बुढा भोलिपल्ट बिहान अबेलासम्म पनि उठेनन् । बुढी आफ्नै धन्दामा थिइन् । उनी पकाउने तरखरमा लागिन् तैपनि बुढा उठेका थिएनन् ।

“थाकेका बुढा निदाउन् न ।” पहिला त उनले उठाउन चाहिनन् तर मन मानेन ।

“उठ्ने होइन ?” बुढालाई घच्घचाइन् ।

“म त उठ्न सकिनँ, देबे्र खुट्टो चलाउनै हुँदैन ।” कहराउँदै बुढाले भने । बुढीले हेरिन् – घुँडो सुन्निएको रहेछ ।

“हे भगवान् ! आँखा त यसै बसेका थिए, अब खुट्टा पनि नचल्ने भए …” पार लगाउन नसक्ने विपत् आइलागेको देखेपछि बुढी अत्तालिइन् ।

“सन्चो हुन्छ औषधीमूलो गरेपछि ।” बर्मेली बुढाले बुढीलाई ढाडस दिए ।

“खै, केले औषधी गर्ने हो ? अनि कसले लगिदिन्छ ?”

“पिर नगर, घरगाउँको दबाई गरौँला ।” बुढा एक किसिमले ढुक्क थिए । उनी चार पाँच दिनसम्म ओछ्यानमै थलिए । उठेर दिसापिसाब गर्न जानसम्म पनि सकेनन् । भुईचम्पा पिँधेर बुढीले घुँडामा छापिदिइन् । घिउ खोजेर ल्याई सुप, चम्सुर र चौटाजोरको जरो मिसाएर पुवा बनाएर खान दिइन् । सात दिनपछि बुढा पहिला जस्तै हिँड्न सक्ने भए । बर्मेल्नीको मनमा खुसीको सीमा नै रहेन ।

“बाबु, हामीलाई महेश र निरजाको नाता प्रमाणित गरेको कागज बनाइदिनुप¥यो ।” बुढाबुढी दुबैले गाउँ विकास समितिको कार्यालयमा गएर सचिवसँग आग्रह गरे । सचिव भर्खरको युवा तन्नेरी थियो ।

“बर्मेली बा ! किन चाहियो सिफारिस ?”

“सर्खारले राहत दिन्छ रे ।”

“सिफारिस लगेर पैसा पनि झिकिसके, तपाईँहरूलाई खबर गरेनन् ?”

“गरेनन् बाबु, कसले लग्यो सिफारिस ?”

“तपाईँहरूकै बुहारी र जुवाइँले नि, अरू कसले लान मिल्छ र ?”

बुढाबुढी छाँगाबाट खसेजस्तै भए, केही बोल्न सकेनन् ।

“बिहे त भएको थियो, होइन र ?”

“भएको थियो ।”

“मृतकका सबैभन्दा नजिककालाई सहयोग गर्ने नियम छ । श्रीमान् श्रीमती नै अरूभन्दा नजिकका नातेदार हुन् । त्यसैले उनीहरूले नै सहयोग पाएका हुन् ।” सचिवले बुढाबुढीको चित्त बुझाउन खोज्यो ।

“पार्टीमै बिहे गरेँ, टाढा भएर बोलाउन सकिनँ, पछि बुहारी लिएर आउँछु ।” महेशले बाबुआमालाई खबर गरेको थियो । बिहेमा जान नपाएर बुढाबुढी दुःखित भएनन् बरु हर्षविभोर बनेका थिए । आफ्नो बिहे भएको एक वर्षपछि निरजाको पनि महेशले पार्टीभित्रै बिहा गरिदिएको थियो । बुढाबुढीले त न बुहारीलाई चिन्न पाएका थिए न जुवाइँलाई । कतैबाट पनि बच्चाबच्ची हुन पाएका थिएनन् । पछि जुवाइँले अर्को बिहा गरे र बुहारीले पनि । त्यसैले उनीहरूको खोजीनीति गर्न बुढाबुढीले जरुरी ठानेनन् ।

“उनीहरूले बिहे गरेपछि पनि हाम्रा छोराछोरीको नजिक भइराख्छन् कि क्या हो ?” बुढीको आक्रोश थियो ।

“पछि बिहे गरेको प्रमाण हामीसँग छैन ।”

“बेइमान कहीँका ! हाम्रा छोराछोरीको नाममा आएको पैसा लिने भएपछि त हाम्लाई पाल्न पनि त प¥यो नि ।” बुढीले फेरि भनिन् ।

“भो नकरा बुढी, छोराछोरीको ज्यान त गयो भने जाबो पैसा जसले खाए पनि खाऊन् ।” विरक्त भावमा बर्मेली बुढाले भने ।

“त्यसो भनेर कहाँ हुन्छ ? अन्याय मास्ने भनेर पो छोराछोरीले ज्यान अर्पेका हुन् । झन् उनीहरूकै नाममा अन्याय ?” बुढी पनि भावुक बनिन् ।

“सहिद र सहिद परिवार खोलो तरेपछिका लौरा हुन्, तिनरूलाई बिर्सन्छन् अरूले । हाम्रो बोली कहाँ बिक्छ र ? भो हिँड् जाऊँ घर ।”

दुबै बुढाबुढी गाविस कार्यालयबाट बाहिर निस्के । सचिवले उनीहरू गएतिर ट्वाल्ल परेर हेरिरह्यो ।

**********************************

दुई वर्ष अरू बिते । यस बिचमा पार्टीको तर्फबाट बर्मेली दम्पतीलाई भेट्न कोही आएनन् । कोही आउँछन् भन्ने आशा पनि उनीहरूले गरेका थिएनन् ।

पुस महिनाको पाहारिलो दिन थियो । बुढाबुढी आँगनमा बसेर घाम तापिरहेका थिए । त्यसैबेला एउटा युवक र युवती टुप्लुक्क आइपुगे ।

“नमस्कार बा, आमा । हामी महेश र निरजाका साथी ।” उनीहरूले आफ्नो परिचय दिए ।

“साथी रे !” बुढाबुढी एकछिनसम्म त अक्क न बक्क भए । बुढी आमैका नयनबाट आँसुका धारा बगे । बुढा पनि सुरुमा त थामिन सकेनन् । आगन्तुकहरू छोराछोरीका साथी थिए थिएनन् कुन्नि तर बुढाबुढीलाई भने धेरै वर्षपछि छोराछोरी घर फर्केर आएको जस्तो
भयो ।

“नरुनोस् हामी पनि तपाईँहरूकै छोराछोरी हौँ ।”

“कहाँ छौ त आजभोलि ?”

“पार्टीमै छौँ ।”

“पार्टीले त सर्खार बनाएको, सबै मोजमस्तीतिर छन् रे नि त ।” बुढाले भने ।

“कोही मोजमस्तीमा पनि छन् तर हामीले पार्टीमै काम गरिरहेका छौँ ।”

“नपाएर त होला नि, पाएपछि कसले छोड्छ र?” बुढी आमाको भनाइ थियो ।

“त्यसो होइन आमा, हामी आफूले मात्र पाउने प्रयास गरेनौँ । जनक्रान्ति पूरा भएको छैन, सहिदका सपना बाँकी नै छन् । हामीले केही पाउनुभन्दा जनक्रान्ति सम्पन्न हुनुपर्छ । यो अभियान रोकिनु हुँदैन ।”

“अझै पनि मान्छे बाँकी रहेछन् ।” थोरै भए पनि बर्मेली बुढालाई सन्तोष लाग्यो ।

“बाबुहरू भोकै छौ होला ?” बुढी आमाले सोधिन् ।

“होइन आमा, हामीले खाएर आएका हौँ ।” महिलाले जवाफ दिइन् । बर्मेल्नीको मन हलुङ्गो भयो । कथंकदाचित भोकै छौँ भनेका भए उनीसँग खाना खान दिनका लागि केही थिएन ।

आगन्तुकले घरभित्र र बाहिर हेरे । जताततै फोहोरको डङ्गुर थियो । तिनीहरूले आँखाले केही सङ्केत गरे र युवतीले भनी, “आमा, हामीले घर सफा गर्छौँ है ।”

“भो पर्दैन, हाम्रा लागि किन दुःख गर्छौ ?” बर्मेल्नी बुढीको मुखले इन्कारीको भाषा बोले पनि मनले गरिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । केटाकेटी भने काममा लागिसकेका थिए । उनीहरूले काम गर्न थालेपछि बुढी उठेर सघाउन खोजिन् तर ‘बस्नोस्, पर्दैन, हामी गर्छौँ’ भन्दै युवतीले रोकी । भित्र सफा गर्ने क्रममा तिनीहरूले भित्रका सबै भाँडाकुँडा हेरे । अन्नका नाममा चार पाथी जति कोदो थियो । चामलको गेडो थिएन । दुई माना जति पिठो हुँदो हो ।

युवकले बाहिर निस्केर कसैलाई फोन ग¥यो । युवतीले यताउति हेरेर दाउरा जम्मा पारी । साँझपख दुईजना अरू मानिस आए । तिनीहरूले चामल र खाने तेल ल्याएका थिए ।

“के खान्छौ बाबु हो, कोदो पनि पिसेको छैन ।” बुढी आमा फटफटिन थालिन् ।

“आमा, पिर नगर्नोस् । तपाईँ बस्नोस् । खाना हामी बनाउँछौँ । खर्चको व्यवस्था भइसकेको छ ।”

खाना खुवाइसकेपछि आगन्तुकहरूले तत्काल गर्नुपर्ने कामको विषयमा छलफल गरे । उनीहरूले घरनजिकै एउटा चर्पी बनाउने, दाउराको व्यवस्था गर्ने, कपडा धोइदिने कुरालाई प्राथमिकतामा राखे । अनि यहाँ पार्टी सेल बनाउनुपर्ने आवश्यकता देखियो । त्यसो भएमा सहिद परिवारको रेखदेख गर्न सहज हुन्थ्यो ।

भोलिपल्ट बिहानैदेखि तिनीहरू काममा जुटे । युवती कपडा धुनतिर लागी भने युवकहरू चर्पीका लागि खाल्डो खन्न थाले । खाल्डो खन्ने, त्यसलाई ढक्कन हाल्ने र मानिथ छाना समेत बनाउनुपर्ने हुँदा चर्पीको कामले तिन दिन खायो । चौथो दिन उनीहरूले खरबारीको एउटा रूख काटेर दाउरा बनाए । पाँचौँ दिनमा तिनीहरू त्यहाँबाट हिँड्ने तरखरमा थिए ।

“तपार्इँहरूसँग पार्टी छ, हामी छौँ, एक्लै नठान्नुहोला ।” हिँड्ने बेलामा एउटाले भन्यो ।

“महेशले त्यसै भन्थ्यो ।” बुढा भावुक भए ।

“अहिले बारीमा मकै रोप्नुपर्छ, खनजोत गर्न हामी आउँछौँ ।” अर्कोले भन्यो ।

“बाबुहरू आउँदै गर्नुहोला ।” बर्मेल्नी बुढीले भनिन् ।

“चिन्ता नगर्नोस्, आइरहन्छौँ, हामी फेरि सङ्गठित भएका छौँ ।”

“लौ त, हामी जान्छौँ, बस्नोस् है त । त्यस्तो अपर्झट केही परेछ भने यो खर्च गर्नुहोला ।” एउटा युवकले बर्मेली बुढाको हातमा एक हजारको नोट थमाइदियो ।

अनि तिनीहरू त्यहाँबाट बिदा भए ।

उनीहरूले आँगन छोड्ने बित्तिकै बर्मेली बुढाले तिनीहरूको छाया जस्तो आकृति पनि देख्न छोडे भने बर्मेल्नी बुढीले पर नछोपिने बेलासम्म तिनीहरूलाई हेरिरहिन् ।

(स्रोत : कथालय – अङ्क १ – साउन–असोज, २०७४)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.