कविता : समाधि

~सामना पहाड~

नदीका किनाराहरुमा
हरेक तिथि ब्रतहरुमा
घुइँचो देखिने गर्छ
कैयौँ आमाहरुको
पाप पखाल्ने र पुण्य कमाउने
लाग्छ यो प्रतियोगिता हो आमाहरुको
अझै क्रम जारी छ आमाहरुको
पाप पखाल्ने र पुण्य कमाउने
आखिर आमाहरुले
किन गरेका ? यतिका धेरै पापहरु
आजीवन पखालेर नसकिने पापहरु

कमाउनु छैन उनीहरुलाई
आफ्नै निम्ति पुण्यको फल
जगतको पुण्य सन्तानको पुण्य
चाहान्छन् जुन आमाहरु
पूजा आरती, धूप, नैवेद्य
स्तुति गानहरु
प्रेम, स्नेह, समर्पण
र आशीर्वादहरु
सबै सबै कर्महरु,
पुण्यकै निम्ति गर्छन् आमाहरु
धर्तीमा पुण्य आमाहरु
धर्तीमा पुज्य आमाहरु

परोपकार पुण्याय, पापाय परपीडनम्
अहिंसा परमोधर्म स्वीकार्छन् उनीहरु
अधर्मको नाश होस् चाहन्छन् आमाहरु
खोलियोस् मुक्तिको ढोका
सबका निम्ति चाहन्छन् उनीहरु
तर छन् सदियौँदेखि
कैद किन आमाहरु ?
समय छ स्वतन्त्र
हर प्राणी स्वतन्त्र
आखिर छन् कैद किन ?
स्वतन्त्रताको पाठ सिकाउने
महान् हाम्रा आमाहरु

परिवर्तन स्थिर छ
आमाहरुका निम्ति
परिवर्तनको खबर लिएर
फर्किएका छैनन् अझैसम्म
पतिको समाधिमा लीन भएका आमाहरु
शान्तिको प्रवाह लिएर
आएका छैनन् अझैसम्म
जलसमाधिमा जीवनदान
गरेका योगमायाहरु

तर, बाँचिरहेका छन्
विवेक समाधिमा राखेर
आजकलका मान्छेहरु
तर हाँसिरहेका छन्
हाँसो समाधिमा राखेर
आजकलका मान्छेहरु
त्यसैले चाहँदैनन्
आजकलका धेरै आमाहरु
दुर्गन्धित पारिएका नदी किनारहरुमा
स्नान गर्न पवित्रताका निम्ति
चाहँदैनन् जीवन समाधिमा
अर्पण गर्न परिवर्तनका निम्ति
किनकि
निर्माण गर्दैछन् उनीहरु
परिवर्तनका बाधक तत्वहरुको समाधि
खिया लागेका र मक्किएका
संस्कृतिहरुको समाधि ।

– रत्ननगर-८ चितवन

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.