~बिपना ढुङ्गाना~
सपना पुरा गर्न घर छोडेर हिडेकि म,मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर।
जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए,मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर।घडीको सुइरोको दौडलाई महशुस गर्नै सकिनछु।मैले कहिलै सोचेकी थिइन ती बाल्यकालका स-साना पल आज मेरो जिबनको अबिस्मरणिय क्षणहरु बन्नेछन् भनेर।आज धेरै बर्षपछि बालपन कापीका पन्नामा कोरिरहदा मेरा आँखाले प्रत्यक्ष मेरो जन्मघर र मेरा ती पुराना साथीहरु देखिरहेका छन,मेरा कानले ती गल्लीमा गुन्जियेका हाम्रो हासो सुनिरहेका छन अनि मेरो मनले त्यो धुलो,हिलो,घाम नभनी मडारिरहेको चाैरिहरु महसुस गरिरहेको छ।अचानक् मैले बिगत सम्झिये,मेरा हात कापिरहे,ध्यान पन्छाउदै बर्तमान सम्झिन पुगेछु,मेरा खुट्टा लर्बरिरहे अनि सोच्दै नसोचेको भबिस्य देख्न पुगेछु जहाँ मेरो भाग्य टाढा बसि मलाई नै टुलुटुलु हेरिरहेको रहेछ।यही चिन्ताले मन पिरोलि रह्यो।
म बिबश छु,जिन्दगीको उतारचढावमा कैद एक लाचारताको प्रतिमुर्ती।कास,म समयलाई फर्काउन सक्थे।यदि समय मेरो बस मा हुन्थ्यो त म जिबनको भागदौडबाट फुत्किऐर एकै सासमा दौडिदै घर पुग्ने थिए।भो मलाइ चाहिएन मृगतृष्णा, पैसामा अडिएका सम्बन्ध अनि क्षणिक सुख।बरु म त्यही निर्मल बाल्यकालमा आफुलाइ खोज्न चाहान्छु किनकी घरबाट धेरै टाढा यो दुर देशमा हजारौंको भिडमा पनि एक्लिएकि छु म।कठै! मेरा बा-आमा भने हरेक साझ मेरै बाटो हेर्दा हुन्।साच्चै मेरा बा-आमा के गर्दै होलान?के म कुदेका गल्ली देख्दा मेरि आमा अझै मलाई सम्झेर, साझ पर्यो नानी घर आइज भन्दिहुन?मेरा बा त्यसै गरि दुईहात कम्मर पछाडी बाधेर हिड्दै छन कि हिड्न सक्न छोडे होलान?के मेरि आमा अझै “बा” सङ त्यसैगरि गनगन गर्दैछिन?कि छोडिन् होला?मनमा प्रश्नको पहरो खस्यो अनि अतालिदै सम्झिए,”धेरै बर्षपछि म घर फर्किदा के मेरा बा-आमाका चाहुरिएका गालामा त्यही त्यस्तै जवानीको जस्तो मुस्कान होला?”यी सारा कुरा मनमा कल्पिरहेकी छु,आज घरको खुब याद आइरहेछ।
सानो छ्दा घरको पेटीमा बसि सृष्टि,लिजा,बर्षा,मनिसा सङ खेलेका ती गट्टिहरु मैले घर छाड्नु अघि,घरै अगाडीको धुपिको फेदमुनि लुकाएकि थिए।के ती “पाँचढुङ्गगे” गट्टि अझै त्यही होलान् ??कि हाम्रो मित्रता जस्तै कोहि कता कोहि कता छरिए होलान??त्यो समय कति स्वर्णीम थियो जब टोलैभरिका केटाकेटी घरबाट भागी-भागी कमिलाको तातीझैँ लस्करै घघरुका हागा र ऐसेलु टिप्न घारिघारी बरालिने गर्थ्यौ।काँडामा अल्झिएर कति लुगा च्यात्तिए,औंलामा कति हुन कति काँडा पनि बिझाए।घर फर्किदा गतिगरास सकेर आएछन भन्दै पिटाइ नखाको पनि कहाँ होर?च्यात्तिएका ती कपडा पुराना भए,बिझेका ती काडा पनि कता पुगे पुगे।त्यही ऐसेलुको काडामा कोतृएर सम्झना बनेका घाउ चाहि भने अझैसम्म पनि खत बनेर हातैभरी छपिएका छन् तर ती हराएका साथी अनि बिर्सिनसक्नु क्षण भने मनको गहिरो कुनामा बिझाइरहन्छन।चस्स,चस्स!के ती घघरु तिप्न जाँदाका साथी आस्मिता,सपना र जुनुलाइ यी सब कुराहरु याद होलान् ?के उनीहरु पनि मलाई यसरी सम्झिदा हुन?
कुनै कुनै साथी त्यस्ता पनि थिए जो भूत भनेपछी पिसाब नै झार्न खोज्थे, हाहा। सानैबाट छुदृया प्रवृत्तिको थिए म,त्यसैले डराएकालाइ अझै डर देखाउन ,”टृङ,टृङ,टृङ”
कौन आया? पोस्टम्यान आया।
क्या लाया? चिट्ठी लाया।
क्या लिखा?आज रात १२ बजे भूत आएगा
भन्दै खेदाउने गर्थे।बाल्यकालमा भूत सङ डराउने मेरा ती साथिहरु ,कहालीलाग्दो भबिस्य सम्झेर अहिले तर्सिन्छन कि तर्सिदैनन् होला?
खेलै खेलमा राजाले भनेको एउटा गिलो फर्सी दिनु हरे भन्दै २,४जना सिपाही बनेर आउथे।हामी पनि के कम?७,८जना लाईन बनाएर भेटेरिनरि अफिसको पेटीमा गमक्क पर्दै बस्थ्यौ,त्यो पनि आफू पहिला फर्सी छनिनलाइ।बिचरा!उनीहरु हामिलाइ उठाउन नसकेर लछारपछार पार्दै लइजान्थे।आखिर जसरी भए नि खेल त खेल्नै पर्थ्यो। मज्जै बेग्लै थियो त्यो बाल्यकालको।के त्यो बेला फर्सी छानिन पाउँदा को जस्तै खुशी ,मेरा साथी अहिले आफ्नो जिबनमा होलान् ?
सम्झिन्छु कति अमुल्य थियो त्यो समय जहाँ नाच्नलाई अहिलेको जस्तो रेडियो,मोबाईल केहि चाहिदैन थियो।बस्,रंगीचंगी कपडाको सानो टुत्रा टाउकोमा कस्ना साथ ती कलिला ओठले आफै गीत बर्बराउन थाल्थे- “हरियो जंगल क्या राम्रो मङल हिमाल हासेको,घन्काइ मादल लच्काइ कम्मर हामीले नाचेको हो हो…हामिले नाचेको👏कुनै लाज बिना बाटो,कुना,कन्दरा नाच्दै हिडेको के”एस्तरले” यी कुरा सम्झिदी हो???म भने ती पल सम्झिरहन्छु।
त्यो बेला मन मुटावकाे अर्थ त थाहा नै थिएन।डन्डी बियो खेलमा हार्नेलाई अफ्ट्यारो-अफ्ट्यारो ठाउमा “चुउवा” कुदाउथे।एकदिनको कुरा हो,खेल्दै जादा म हारे अनि “चुउवा” कुद्ने पालो मेरो आयो।सास नफेरी कुद्नु पर्थियो,झुक्केर मात्र सास फेरे फेरि सुरु देखि कुदाउथे। आखिर अरुले जिते पनि हार कहिलै स्विकार्य थिएन मलाई ।भयो म खेल्दिन भन्दै सन्किदै घर आए।अहिले सम्झिदा-त्यो रिस हैन,आफैसङको एउटा डर रहेछ।को भन्दा को पो कम थिए र।बालपन न हो।भोलिपल्ट बिहान ७ नबज्दै “सन्जय” हिजोको चुउवा कुद्न बोलाउन घरमै लिन आएपुगेछ।अब के नै गर्न सक्थे र?भिजेको बिरालो जस्तो लसक्क पर्दै उस्को पछि पछि हिडे।भोकै पेट तारा अान्टिकाे घर पछाडिकाे बारी देखि काराघरको भित्तासम्म मलाई दौडाइ-दौडाइ चुवा-बुवा कुदाको के उसलाई याद होला??
निबिप,मेरो काकाको छोरा थियो।सानैबाट सङै पढेकाले हामी खुबै मिल्थियौ।लुकिडुम खेल्दा उस्ले सुरुमै मलाई देखेपनि,मेरो एक आखाको इसारामा नदेखे जस्तो गर्दै जान्थ्यो।कयौं पटक खेलमा मलाई ‘डुम’ हुन बचाएको उस्को त्यो गुन मैले उसलाई खै कहिले तिर्न सकुला?के उ मलाई अहिले सम्झिदो हो?
सुरज र म स्कुल क्याप्टेन थियौं। स्कुल असेम्ब्लीमा अगाडि गएर कमाण्ड गर्न पर्थ्यो। आफू जान पर्छ भनेर हतार हतार ,”टुडे इट्स बिपनाज ट्रन् “भन्दै कैयौं पटक मलाई फसाको उस्लाई याद होला ?ऊ अझै त्यसरी नै अरूलाई अगाडि बढ्न प्रोत्साहन गर्दै छ कि आफुपनि जीवनमा अगाडि बढ्यो होला? धेरै सम्झिन्छु म , यी विद्यार्थी जीवनका भयानक क्षणहरु।
जब कुरा खुशीको आउँथ्यो, हामी धेरै स-साना कुरामा खुशी महसुस गर्थ्यौं ।२०रुपैयाँमा झोला भरी हुर्रे चाउचाउ,ग्लूकोज विस्कुट, ल्याक्टोफन चकलेट र बाबा बल्गम बोकेर प्लास्टिक हल्लाउँदै पिक्निक खान जाने,हाम्रो त्यो शिक्षा अफिस परतिरको बासकाे झ्याङ अझै त्यहि छ कि कसैले मासिदिए होलान्?
सिन्काले कोरेर बालुवा माथि बनाएका हाम्रा ति घर ,स – साना गिट्टी खोजेर चिटिक्क पारेका ती घर छेउका बाटा अनि छिमेकीका फूलबारीबाट राम्रा-राम्रा फूलका थुँगा चोरेर बालुवामै कोरेर सजाएका ती बगैंचा के त्यस्तै होलान् ? कि हाम्रो मित्रतालाई झै पापी समयले कतै बगाईदियो त?
समय पनि कति चाँडै फुतकिदो रहेछ।पहिला हेरि,अहिले त्यही मित्रता पनि कति फितलो भएको आभास हुन्छ । कति व्यस्तता छाएछ जीवनमा ।जून साथीहरु सँग आधा जीवन बिताइयो आज उनीहरुलाई खबर सोध्ने म सङ फुर्सद छैन न उनीहरुनै मलाई सम्झिन्छ्न।
‘बम ब्लाष्ट ‘खेल्दा चुंगी सँग डराउँदै छक्किने हामीलाई आज पत्तै नदिई समयले यसरी छक्काईदिएछ कि हामीे एक अर्कालाई नै बिर्सन बाध्य भएछौ। हेर्दा हेर्दै मित्रता मासिँदै गयो अनि त्यो बाल्यकालको माया पनि ।के हामिले बारिको माटाे खनेर बनाएका भगवानको मुर्तिले मेरो मनको कुरा सुन्लान?
अब,केवल एउटै मात्र घिडघिडो छ मनमा कि बस समयलाई एकपटक फर्काउन सकु ताकी सुन्यतामा बित्दै गएका मेरा हरेक साझले पुन जीवनको सुन्दरता महसुस गर्न सकोस्।फेरि यो मनले बाल्यकालको आभास गर्न सकोस् ।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)