~नेत्र तामाङ~
एउटा दशैं सम्झना छ कपिललाई । त्यतिबेला उसलाई निकै असजिलो लागेको थियो । कारण थियो बुवाले सहरबाट पठाइदिनुभएको कपडा । कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई । जुत्ता र टोपी मात्रै लाइहाल्न मिल्ने ।
यसअघि पठाउनु भएका कपडाहरु लगाइहाल्न मिल्थ्यो । केही महिना अघि बुवाले पठाउनु भएका कपडा सानो भएपछि कपिल रिसाएका थिए । उसले बालाई फोनबाट भनेका थिए, ‘तपाईले आफ्नो छोरा बढ्दैछ भन्ने कुरा विर्सनुभो, यस्तो सानो कपडा लाउदिन म ।’ कपिललाई लाग्यो, ‘सायद् यही कुराले बुवा रिसाउनुभयो अनि मलाई यस्तो कपडा पठाईदिनुभयो ।’
‘आमा तपाई आफै भन्नोस त, यस्तो कपडा कसैले लगाएको देख्नुभएको छ ?’ बुवाले पठाउनु भएको सारी लाउदै गरेकी आमालाई उसले सोधे । ‘त्यो त सिलाएर लाउनु पर्छ नि बाबु,’ आमाले हस्तै जवाफ फर्काइन् । ‘कहिले सिलाउने त,’ कपिल अधैर्य भए, ‘कसले सिलाउने फेरि ।’
‘भोलि सिलाउन जाउ न टेलरमा । तिमी आफै था पाइहाल्छौ नि, कसरी, कसले सिलाउने रहेछ भनेर,’ आमाको ध्यान सारीमै थियो ।
भोलिसम्म पर्खिनु उसले ठुलै यातना ठान्यो । आजै सिलाउन पाए त भइहल्थ्यो नि । उसले आमालाई अनुरोध गरे, ‘भोलि त चाडै स्कुल जानुपर्छ, आज छुट्टी पनि छ, आजै सिलाउनु ठिक होला नि ।’
छुट्टीको दिन नुहाउन, कपडा धुन, घर सफा गर्न आमा व्यस्त हुन्थिन् । त्यसैले आमाले भनिन्, ‘तिमी एक्लै जाउ न त, म घरको काम सकाउछु ।’ आज्ञा पाउनसाथ कपिल हुर्रिएर आँगननेर पुग्यो । आमाले झोलामा कपडा राखिदिनुभयो र केही पैसा उसलाई थमाइदिनुभयो । अनि टेलरसम्म जाने बाटो पनि बताइदिनुभयो । ऊ एकैछिन्मा बजार पुग्यो । टेलरमा थुप्रै मानिस थिए ।
झन्डै आधा घन्टा कुरेपछि उसलाई पसलेले भित्र बोलायो । पसलेले उसको झोलाको कपडा निकाल्यो र नाप्न थाल्यो । पसलेले उसको कम्मर, तिघ्रा, पिडौला नाप्यो । नापेको ठाउँमा पसलेले चकले धर्सो लायो । फेरि गर्दन, पाखुरा, छातीमा पनि मिटर दौडायो । नाप्दै चकले धर्सो तान्दा उसको दुबै कपडा असरल्ल भए । कपडाको रुप विग्रेको देखेर उसलाई अलिअलि नरमाईलो लाग्यो । केही भनिहालौ झै भयो उसलाई । तर चुपै लागेर बसे ।
‘ल बाबु पर्सि लिन आउ ल,’ पसलेको स्वरले उ झस्कियो । कपिललाई भने नयाँ कपडा तुरुन्तै लाउ झै भइरहेको थियो । पहिलेका दशैमा कपडा घर आइपुग्नेवित्तिकै लगाएर गाउँभरि डुल्ने बानी परेको थियो उसलाई ।
पसलेको कुराले उसलाई झनै अतुरी बनायो । ‘आजै लैजाना पाए हुन्थ्यो, पर्सि त स्कुल विदा छैन, मैले पैसा पनि ल्याएको छु नि,’ कपिलले पैसा देखाउदै पसलेलाई अनुरोध ग¥यो ।
कपिलको अतुरीपन पसलेले बुझिहाल्यो । ‘यतिको धेरै लाइनमा छन्, तैपनि, साँझमा आउँ न त, भ्याए आजै सकाईदिउला नि’ पसलेले भन्यो । पसलमा आउनेजानेको भीड उत्तिकै थियो । ‘म त सिलाएको पनि हेर्ने हो दाई,’ उसले पसले लाई अनुरोध ग¥यो, ‘यतै कतै बस्दा हुन्न र ।’
व्यस्ततामा कपिलको कुराले पसले अकमक्क परे । तैपनि पसलेले उसलाई बस्न भने । करिब एकघन्टाको बसाईपछि मान्छेको चाप घट्यो । एकैछिन्मा उसको कपडामा पसलेले ठुलो कैची चलाउन थाले । लामो र सफा कपडा साना–साना टुक्रा बने । आफ्नो नयाँ कपडामा यसरी कैची चलाएको देखेर कपिललाई भाउन्न भो । उसको आँखाबाट आँशु निस्कन थाले । पसलबाहिर निस्केर रुदै घरतिर दौड्यो । घर पुग्ने वित्तिकै उ रुदै कराउन थाल्यो, ‘आमा मेरो सप्पै कपडा काटिदिए, अब दशैमा के लाउने ।’ कपिलको कुरा सुनेर आमा हास्न थाल्नुभो, ‘कपडा नकाटि सिलाउनै सकिदै न नि छोरा । पहिले नाप्यो होला, अनि काटे होला, अनि सिलाउछन् । त्यसपछि तयार भइहाल्छ नि ।’
आमाको कुराले उसको रुवाई रोकेन । बरु उ झनै ठुलो स्वरमा रुन थाले । ‘बावु नरोउ ल, अब गएर हेर तिम्रो कपडा तयारी भयो होला,’ आमाले सम्झाउदै भन्नुभयो । ‘म त जान्न त्यस्तो काटेको कपडा लिन, आफै जानु, साँझमा आउनु भने का छन् ।’ साँझमा आमाले कपडा ल्याउनुभयो । बुवाको फोन पनि आयो । नौलो कपडाको घटनाले बाआमा र कपिल फोनमै मरीमरी हाँस्न थाले ।
-कान्तिपुर दैनिकको कोपिलामा २०७० फागुन ११ गते प्रकाशित ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)