~सिएम रिमाल~
ए प्रिय मान्छे,
जनताको मतमा
दुक्की तुरूप फ्याली
आफू मात्र हास्ने
आफू मात्र मुस्कुराउने
न घाम, न पानी,
न असिना, न हावाहुरी, न चट्याङ्
यस्तो विषम परिस्थितिमा नि
जीवन जीउन विवश
ती भोका नाङ्गाको अवस्था देखेर ?
धिक्कार छ,
धिक्कार छ भोका नाङ्गाको
धैर्यता र साहसलाई कुल्ची
आफ्नो अस्तित्व जोगाउन
हरतरह जिउँदो लासझैँ
बाचिरहेका प्रिय मान्छेलाई ।
सलाम छ,
सलाम छ त्यो निडरतालाई
हर बिहान, हर पल, हर क्षण
आफ्नै पन अनि अस्तित्व जोगाउन
बेग्लै संसारमा
जीवन व्यतित गरिरहेका
त्रासले भरिएको बेला पनि
आफ्नो प्राण पर्खिरहेका
ती जीवित मनहरुलाई ।
ए प्रिय मान्छे,
कता लाँदैछौ देशको स्टेरिङ
कहाँ धकेल्दैछौ देशलाई
निस्किन नसक्नेगरी दलदलमा
कहाँ लुकाउँदैछौ कालोधन
कति खान्छौ भन कमिशन
ए प्रिय दलाल हो
भागबन्डाको फोहोरी खेल खेल्दै
जनताको पसिना र रगतको आहालमा ।
ए प्रिय मान्छे,
तिम्रो सास रोकिँदैन हो ?
तिम्रो धड्कनको चालमा
कुनै अवरोध आउँदैन हो ?
के तिमीलाई कत्ति पनि
डर, भय एवम् त्रास छैन हो ?
यतिबेला सारा विश्व त्रसित छ
आक्रान्त, महामारीमा आतङ्कित छ,
ठुलै विषम परिस्थितिको जालोमा
रुमलिएको यो विश्व
आज संसार जित्नेहरु
भएका छन् हारमा परिणत
तिम्रो घरमा मात्र
केबल आयो सिंहदरबार
आयो त केबल बालुवाटार
भोक र गरिबीमा
पिल्सिएका लालाबालाहरु
जनताको झुपडीमा
सबैतिर छ्वाप्पै छोपेको छ
थिचेको छ भय र त्रासको भकारीले
अदृष्य शक्तिको चक्रव्यूँमा
विवश छन् आज
रात काट्न ।
मकैबारीका स्यालहरुलाई
कति काखी च्याप्दै हिँड्छौ ?
जालझेलको भूमरीमा पारी
सोझासाझा जनको मन
ए आफ्नो मात्र प्रिय मान्छे ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)