कविता : बाँकी बाटो

~विप्लव ढकाल~

असङ्ख्य जूनकिरीहरू निभेको
यो सबभन्दा अँध्यारो कोठा
तिम्रो बाबुको हो,
जहाँ धेरै वर्ष
अन्धकारसँग गीत गाउँदै
उसले सबभन्दा उज्यालो
सपना देखेको थियो !
सहस्र प्वालहरू परेको
यो सबभन्दा पुरानो लुगा पनि
तिम्रो बाबुको हो,
जुन लुगा लगाएर
ऊ रुँदै बजार गएको थियो
र तिम्रा लागि
सबभन्दा नयाँ लुगा
किनिदिएको थियो !
यो त्यही तारेभीर हो,
जहाँ ताराहरूसँगै लाटोबुङ्गो बनेर
ऊ हजार पल्ट लडेको थियो
र बाँचेर उठेको थियो नरकबाट !
यो त्यही धुसेनी जङ्गल हो,
जहाँ उसले
कुनै दन्त्यकथाको सुनौलो पुतली
अथवा सुनकेशरी रानीको
हराएको केश खोज्दाखोज्दै
आफैलाई हराएको थियो हजारपल्ट
र अन्तिम पल्ट
भेटेको थियो तिमीलाई !
यो करिम्बक्सको आत्माजस्तो
सबभन्दा पुरानो जुत्ता
र आधा हिँडेको बाटो पनि
तिम्रो बाबुको हो !
छोरा !
कति लामो थियो यो बाटो ?
कति लामो थियो ?
सोध तिम्री जूनकिरीजस्ती आमालाई !
र अर्को एउटा प्रश्न पनि
सोध तिम्रो इतिहासलाई—
अब यो हिँड्न बाँकी रहेको
घनघोर जङ्गलको
नागबेली बाटो कसको हो ?
याे बाँकी बाटो कसको हाे ??

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.