छन्द कविता : गर्छौं त दम्भै किन ?

~अनिता (ढकाल) गौतम~

छन्द : शार्दुलविक्रीडित

संसारै अहिले छ शून्य दुनियाँ सम्पूर्णता खै कता
मेरै यो अझ शान, मान, धन रे भन्दै किन हो उता ?
छोड्दैछौ किन आज जन्म धरणी विर्सेर आफ्नो थलो
आमाको ममता बुझेर अहिले फर्केर आए भलो ।

व्यर्थेमा परियो त भन्छ मनले तेरो र मेरो अझै
बुढ्यौली अझ लालबाल सँगमा दुष्कर्म बन्दा सबै
भोग्दैछन् सबले त कालकटनी आधार अभ्यास हो
मान्छेका तनमा त हुन्छ श्रम यो उद्धार बन्ने छ जो ।

पीडा लौ मनमा गडेछ सबका मान्छे छ सन्त्रासमा
ज्यूँने हो कसरी त आज भन लौ पर्देछ आक्रान्तमा
लोभै–पापहरु बढे जगतमा सत्ता र आक्रोशले
गर्दै छन् सवले तथापि अहिले हेर्दै छ ईश्वरले ।

मेरा बाल–सखा त बान्धवहरू बर्चस्व ठाने पनि
जाने हो सब लौ त आखिर उँभो सर्वस्व माने पनि
अर्काको उपकारमा त सपना देख्ने गरौँ कि कतै ?
मान्छेले गुणगान गर्छ घरमा सौभाग्य बाँच्छ यतै ।

मेरो हो धन धान्यपूर्ण महिमा ठानेर आफ्नै भलो
गर्देछौ अझ झन घमण्ड मनले खै हुन्छ कस्को भलो ?
बन्दैनन् इतिहासका जगहरू भत्केर जान्छन् बरु
छर्दै मानवता समाज हितमा कल्याण गर्ने अरू ।

लाग्ने लौ धमिरो समस्त तनमा मान्छे सबै मर्छ रे
हो जल्ने अथवा त गाडिन छ हे सासै त उड्ने छ रे
चेष्टा ज्ञानसँगै विवेक धनमा सोच्दैन मान्छे किन
ईष्र्या, लोभ, घमण्ड, क्रोध छ सवै गर्छौँ त दम्भै किन ?

-निबुवाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला,
हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.