कविता : अछुत

~डम्बर बिकेल~

हिजो एउटा समुदायले
हिजो अर्को समुदायलाई
पानी नचल्ने बनायो
भात नचल्ने बनायो
अनुहार हेर्न नमिल्ने बनायो
नजिक आउन नमिल्ने बनायो
कुनै कुरा छुन नमिल्ने बनायो
हो, बनायो आफैँले उच्च वर्ग आफूलाई
हो, बनायो आफैँले निम्न वर्ग अर्कोलाई
आफूलाई बनायो ब्रम्ह र अर्कोलाई बनायो अछुत

अछुत हुँदाको पीडा कथित ब्रम्हलाई के थाहा
अछुत बनाइँदाको व्यथा कथित ब्रम्हलाई के थाहा
आज थाहा हुनुपर्छ, ती ब्राम्हणवादका खोल ओढ्नेहरुलाई
आज थाहा पाउनुपर्छ, ती ब्राम्हणवादका पृष्ठपोषकहरुले
जसले प्रेम गरेकै नाममा हत्या गरेका छन्
जसले उच्च बनेर निम्न सम्झेर हत्या गरेका छन्
नवराज मारिएका छन्, हजारौँ नवराजहरु जिउँदै मारिएका छन्
अछुत बनाउने अनि मार्ने
अछुत बनाएरै जिउँदै मार्ने

सावधान
आज संसारका सारा मानिस बनेका छौँ अछुत
एकले अर्कोको नजिक जान नमिल्ने
कसैले दिएको भात खान नमिल्ने
कसैले दिएको पानी पिउन नमिल्ने
कुनै कुरा छुन नमिल्ने
कसैको घर जान नमिल्ने
घरभित्र पस्न नमिल्ने
सँगै बस्न नमिल्ने
प्रेम गरी हात समाउन नमिल्ने
माया गरी अँगालो हाल्न नमिल्ने
एकले अर्कोलाई छुन मिल्दैन
अर्कोले अर्कोलाई छुन मिल्दैन
हो, आज हामी प्रत्येक मानिस अछुत
आज सबैलाई कोरोनाले बनायो अछुत

अब सोचौँ,
अछुत हुँदाको पीडा
अछुत बनाइँदाको व्यथा

त्यसैले,
सारा मानिसलाई अछुत बनाउने
कोरोनालाई चाँडै निर्मूल पारौँ
अर्को समुदायलाई अछुत बनाउने
ब्राम्हणवादलाई चाँडै निर्मूल पारौँ

अछुत हुनबाट आफू पनि बचौँ
अछुत हुनबाट अरुलाई पनि बचाऔँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.