~जसराज किराँती~
झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु
रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु
देश हुनु र देश नहुनु
बाटाहरू सर्प–रङको पल्टिनु र
यात्रीहरू तारा–रङमा हराउनु
लहरहरू हुनु र किनाराहरू नहुनु
एउटा राष्ट्र हुनु
लाग्छ— म त्यस बेला जन्मिएको थिएँ।
सम्मानित तर सडकमा उभ्याइएको
पुरानो सालिकजस्तो
म आमाको चेहरामा हेर्छु
हिउँद भइसकेको आँखाबाट
मेरी आमाको नतमस्तक मन्जुरी र विवशता बोकेर
हूलका हूल हिँडिरहेका मौसमहरू हेर्छु
सायद यो विरक्तिबाट छुटकारा मागेको बेला
अझ आफ्नो जवानीको अँगालो थापेर
आमाले आकाशसँग
निर्मल उज्यालो देऊ भन्नुहुँदा
मेरो जन्म भएको थियो।
माटोसित अँगालो मारेर सुतिरहेको बखत
मैले त्यहाँ मुठी बटारेर सङ्कल्प पनि गरेँ
म लाटाहरूलाई बोली दिन्छु
बहिराहरूलाई शब्द दिन्छु
र अन्धाहरूलाई आँखा दिन्छु
तर पछि आएर मैले बिर्सें
मेरो जन्मको अर्थ यहीँ कतै हराएँ।
(स्रोत : कविको कविता सङ्ग्रह “जसराज किरातीका प्रतिनिधि कविताहरू” बाट सभार)