~प्रेम राई परिक्षित~
तिमी पखेटा फिजाएर
तल माथि अनि माथि तल गर्दै
आकाश भरि फैलिन्छौ
र मलाई सोच्न बाध्य पार्छौ
म पटक्क सक्तिन
नियन्त्रण गर्न आफुलाई
अनि खोलिदिन्छु पाखण्डी ढोकाहरु
फुरुरुरु उड्छन् मनहरु
पिन्जडाको सुगा झैं
स्वतन्त्रतताको श्वास फेर्दै
तिमी भन्दा माथि माथि
अनि तिमी भन्दा पर… पर…
मेरो मन तिम्रा ती पखेटा भन्दा
के कम छन् र ?
पलभरमै सन्सार घुमिदिन्छन् ।
घाम जून पलभरमै
परेलीको गोजिभित्र अटाइदिन्छन्
बादल उघारेर चिहाइरहन्छन्
अनि छितिज नाघेर उडिरहन्छन
म आफै दङ्ग हुन्छु
आफ्नै क्षमता प्रति
मलाई तिमी जस्तै हुनु छैन
तिमीभन्दा अब्बल हुनु छ मैले
तिमी सिमिततामा बाधिन्छौ
र म अनन्त उडिरहन्छु
तिमी आहाराको खोजिमा तलासिन्छौ
र म साङ्ग्रीलाको खोजिमा आकासिन्छु
नियन्त्रण गर्न सक्छौ तिमी
तिम्रा ती पखेटाका उडानहरु
तर,थाम्न सक्तिन म
खाँदिएका जिजिबिषाहरु
मेरा गतिशील मनका उडानहरु
एकपछिअर्को गर्दै उडिरहन्छन्
कर्याङ्कुरुङलाई पछि पार्दै
जो मनकै राडर
नियन्त्रण गर्न नसकेर अवाक छन्
बस्
यति फरक छ तिमी र म मा
अनि यति फरक छ
तिम्रो र मेरो उडानमा !
(स्रोत : परिवर्तन खबर डट कम)