~दीपा राई पुन~
सम्झनाको गहिरो तलाउमा
अनायास एउटा आकृति झुल्कन्छ
मुस्कुराउँदै भन्छ
म तिम्रो पहिलो पात्र
तिम्रै कलमको निभबाट निस्केर
तिम्रो आँखामा बास माग्ने
तिम्रै मुटुको धड्कन हु भन्ने
तिम्रो शब्दहरू अक्षरहरू बनेर
हजारौँ आँखामा छाए
अनगिन्ती मनमा बसे
हामी शाब्दिक कुस्ती खेल्दै
निरन्तर अघि छौँ यात्रामा
तिमीले जीवनको अप्ठ्यारोमा
हिँडाएर स्व-बोध गरायौ
इन्द्रेणी मलाई थमाएर
शरदको सबै रड्गीन सपना दियौ
यो सम्पूर्णतामा
म तिम्रो अभाव भेट्छु
म के गरूँ कबिज्यू ?
आफैलाई बिर्सिएर
म पात्रलाई न्याय दिँदा
म थिए तिम्रो समीप
तिमीलाई पढिरहेको
पाए मैले मेरो आत्मामा
तिमी गढेको
हरक्षण हरपल साथै भएर
नहुनुको पीडा मलाई सोध
अँधेरोमा जीवनको अनुभूत जस्तै
जब म तिम्रो महसुस गर्छु
युगौ देखिको नाता आभास गर्छु
एक्काइसौ शताब्दीको
म तिम्रो पात्र
हृदयबाट प्रेम गर्छु र गरिरहन्छु।
– हाल, बोस्टन, अमेरिका