कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~

सम्झन खोजिरहेछु म अहिले
आफैलाई ।
सखारै आज
गुलाफको पत्रदलमा
फुलेको छ
शीतको एउटा थोपा,
त्यहीँ अडेर बसेको थाहा छ
मेरो दृष्टि
केही क्षण !

कति विभाजित पार्न
सकिरहेको मैले
आफुलाई !
धेरै क्षण
मन प्राणले सामीप्यमा
रहिरहन खोज्ने
अर्धाङ्गिनी—एउटा कोठा ।
सेक्रेसीहरु साटासाटमा
आत्मीय लाग्न खोज्ने
साथीहरु—एउटा कोठा ।
घर—गृहस्थीमा
भेट भइरहने

तिमीसित
उसित
टुक्रा टुक्रा म;
जीवनसित
जगतसित
चोइटा चोइटा म;

विपनासित
खण्ड खण्ड —म ।

अचलजस्तो म
निर्वाणको यात्रामा
आफैसित
निर्वासित
म !

उक्लेर
महत्वाकांक्षाको अग्लो पहाड
कतै पुग्नु छ—

कुनै न कुनै
खोजी
निरन्तर छ
—अविरल बगिरहेको;
खोला छ
चाहनाहरु बगिरहेछन्
असन्तुष्टि बगिरहेछ ।

कोमल सपनाका हातहरु
थामेर
कतै हाँस्तै हिँडिरहेको छु
म ।
मनोरथ प्राप्तिमा
मख्ख परेर
मुस्कुराइरहेछु
म ।
अप्राप्तिको अभिव्यक्तिसित
आँसु बनेर
रोइरहेको छु
म ।

आफुलाई एकक्षण
कतै बिसाएर
यात्राको गन्तव्य
सोध्न पनि सकिरहेको छैन !
देवकोटाको यात्रीलाई जस्तो
आफुलाई
झक्झकाउन पनि
पाइराखेको छैन ।
तर उक्लँदै गरेको
यो उमेरमा
एउटा मौन प्रार्थना
सल्बलाइरहेकोछ मनभित्र
कि खोज्नसकुँ मैले
आफुलाई म—भित्र
कि पाउनसकुँ मैले
आफुलाई म भित्र
कि चिन्नसकुँ मैले
आफुलाई मभित्र ।।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.