~विराज बर्मा~
विश्वासको बन्दुकबाट
निस्कएका आघात र बज्रघातका
गोलीहरुको रुखो आवाज सुन्दै
रसातल देखि नै उर्लिएको भेलसँगै
उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै
मेरो सानु झुपडीको छिंडीबाट
तिम्रो आगमन च्याइरहेकी छु
म तिम्री एउटी नव दुही
तिमीलाई नै पर्खिरहेछु ।
मेरो विश्वासका प्रदिप्ती आंकाक्षाहरुले
तिम्रै वलिष्ठ आलिङ्गनको स्पर्सलाई
मौनताको ढुगाँमा सजाइरहेछन्
मेरै चाहनाका वेग र सम्वेगहरुले
तिम्रै प्रतिक्षालाई कुरिरहेछन्
खबरदार प्रिये !
ईश्वरले पठाएको उज्जर यो घुम्टोमा
कतै रगतको टाटा वस्लान
कतै सिनुमा पल्किएका गिद्धहरुले
मेरो सौभाग्य चिर्थोलान्
मेरो झुपडी भत्किएला
मेरो आश्रय विथोलिएला
म एउटी बेसहारे तिम्री बन्धु
तस्वीर जस्ती बनँुला
यो अँध्यारो खल्बलिएको
पृथ्वी थर्किएर कोलाहल चर्किएको
तिरस्कार गर्जिएर हा हाकार मच्चिएको
पञ्छीहरुले विलय गाइरहेको
बध्यस्थ्ल मौलाइरहेको
यो कालो अध्यारो लोकनगरिमा
आत्मीय प्रिय दुलाह (मृत्यु)
म जागै छु, मलाई निन्द्रा छैन
साँगुरा यी दुई झयालहरुबाट
एकहोरो म हेरीरहेछु, प्रिय दुलाहा !
मात्र तिम्रो आगमनलाई ।
यो नरभूमिको खडेरीमा आगो सल्किएको धुवाँले
नभोमण्डल आँखा मिचिरहेछ
उपेक्षित प्रेमको तरबार बोकी
टाढा कतै शान्ती उपाशक हाँसिरहेछ
यति ग्रस्त यो रणमैदानमा
म उहि अदृश्य ईश्वरलाई पुर्काछु ।
हे प्रभो ! यो अपवित्र रक्त भूमीमा
जन्मिरहेका रक्तबीजहरुलाई
बरु भ्रुणमै नष्ट गरि देऊ
नत्र मलाई स्वर्ग नगरीको नागरिक्ता देऊ
त्यहि नागरिक्ता दिलाउन, उहि प्रिय दुलाहा
जो एकपटक अवश्य मलाई सिन्दुर लगाउँछ
टाढा क्षितिजपारी बादल भित्रसम्म
म उसैको प्रतिक्षा गरिरहेछु
तिमी प्रिय “वर” को म एउटी “बधु”
तिमीलाई म पर्खिरहेछु ।
–विराज बर्मा, धनकुटा ४, स्कूलडाँडा ।
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)