समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~

१. विषय परिचय

वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी बाल कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका छन् । उनको समयको क्यानभासमा (२०६५) दोस्रो कथा सङ्ग्रह हो । समयको क्यानभास शर्मिला खड्काद्वारा रचित कथाहरूको सङ्गालो हो । यसमा जम्मा २४ ओटा कथा छन् । यी कथामध्ये अध्ययनका लागि छानिएको ‘‘यो उसको कथा हो ’’ नवौँ कथा हो । नेपाली साहित्यमा पछिल्लो चरणमा आएर विकास भएको विषयगत दृष्टिले अन्तर विषयहरू र चिन्तनका दृष्टिले बहुल पद्घतिमा समाश्रित हुन सक्ने समालोचनाका पद्घतिहरूको माध्यमबाट समालोचना गरिने यो एउटा पद्घति हो । यही आधारमा समालोचना गर्न मिल्ने कथाहरूमध्ये प्रस्तुत कथा उपयुक्त भएकोले यो कथा छनौट गरिएको हो ।

२. सैद्घान्तिक परिचय

शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ कथाको अन्तर विषय तथा विधा मिश्रण तथा परम्परागत मूल्य चेतनाको अन्त्यका लागि राजेन्द्र सुवेदीको अन्तर विषयक तथा विधा मिश्रणका सन्दर्भमा अमर न्यौपानेको ‘कथान्त’ कथाको अध्ययनको सिद्घान्तलाई आधार मानिएको छ ।

२.१ कथामा प्रयुक्त विषय क्षेत्र

‘यो उसको कथा हो ’ कथामा प्रयुक्त विषय क्षेत्र निम्नानुसार निर्धारित भएका छन् ः
अ) पर्यावरण, आ) समाज, इ) जाति, ई) संस्कृति उ) राष्ट्रियता ऊ) मनोविज्ञान ।

२.२ विधा मिश्रण क्षेत्र र विधान्त चेतनाका दृष्टिले आख्यान सन्दर्भ अवसानको उपस्थापन

‘यो उसको कथा हो ’ कथामा विमिश्रण र विधान्त चेतनाका पक्षहरू निम्नानुसार प्रस्तुत भएका छन् ः

क) नाटकीयता (सम्वादात्मकता, मञ्चीयता, अभिनेयता),
ख) निबन्धात्मकता (निजात्मकता)
ग) मनोवाद,

२.३ परम्परागत मूल्यचेतनाको अन्त्य

१) आख्यान परिपाटीबद्ध लेखनको अन्त (सन्दर्भ, सबल परिपाटीको अवसान),
२) लेखक (पात्र, परिवेश र कथानकीय परिपाटीको अवसान) को मृत्यु,
३) समग्र जीवनमूल्य (प्रत्येक पाठकका अगिल्तिर विकीर्ण अवस्थामा छिरलो परेको अवस्था) को प्रस्तुति,

यिनै सिद्घान्तका आधारमा शर्मिला खड्का (दाहाल) द्वारा रचित् ‘यो उसको कथा हो ’ शीर्षक कथाको अध्ययन गरिएको छ ।

२.४.यो उसको कथा हो कथाको विश्लेषण

२.४.१ कथामा प्रयुक्त हुने विषय क्षेत्र

साहित्यका चार विधा (आख्यान, नाटक, काव्य र निबन्ध) मध्ये आख्यान विधामा उपन्यास र कथा विधा पर्दछन् । कथा लेखनमा विश्व जगत्का सम्पूर्ण विषयवस्तु, घटना प्रयोग हुन सक्छन् । जसमध्ये शर्मिला खड्काद्वारा रचित ‘यो उसको कथा हो’ कथामा प्रयुक्त विषय क्षेत्रका आधारमा निम्न विषयहरू चर्चा गरिएको छः

अ) पर्यावरण

नेपाली बृहत् शब्दकोशमा कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरणलाई पर्यावरण (२०५५;७९६) भनिन्छ । पर्यावरण र जीवनको बिच अन्तिनष्ठ सम्बन्ध रहेको हुन्छ । प्रकृति जगत्का यावत् तŒवहरूको अस्तित्व र मानवसँग प्रकृति जगत्को सम्बन्ध आदि कालदेखि जोडिएर आएको कुरा वैदिक मन्त्रहरूमा निहित चिन्तनदेखि नै प्राप्त गर्न सकिन्छ । वैदिक मन्त्रहरूमा प्रकृतिका वनस्पति, जल, वायु, मेघ जस्ता समग्र पक्षहरू (यजुर्वेद,मन्त्र) मानव जीवनका निम्ति अनुकूल बनेर जाऊन् भन्ने इच्छार्थक भावहरूका तात्पर्य निहित रहनाले त्यस्ता अर्थहरूमा पर्यावरण र मानवको सम्बन्ध अनिवार्य रहने कुरालाई सहजै स्विकार्न (त्रिपाठी,२०६५;२०१८) सकिन्छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा प्रस्तुत पर्यावरणलाई यस प्रकार प्रस्तुत गरिएको छ ।

साक्ष्य–१, गाउँ जाँदा बाटामा पहिला जस्तो चहलपहल केही थिएन । गाउँघर असाध्यै शून्य थियो । मान्छेविहीन, पशुपन्छीविहीन गाउँ निर्जीव जस्ता देखिन्थे (दाहालः२०६५;७२)।
साक्ष्य–२, हुन पनि हो, पहाडको विशुद्घ हावापानी अनि विशुद्घ खानेकुरा खाएर हुर्केका मान्छे हुन् । हामी जस्ता हुन् र (दाहालः२०६५;७३÷७४) ?
साक्ष्य–४, कहिले गुमानेको छोरो मर्छ कहिले मेरो …विधवा बुहारी र नातिनातिनाको बिजोक हेरेर बस्नबाहेक केही सकेनौँँ (दाहालः२०६५;७४) ।
साक्ष्य–४, जुनसुकै क्षेत्र पनि देशमा चलेको गृहयुद्घले तहसनहस भएको रहेछ (दाहालः२०६५;७५) ।

विश्लेषण
साक्ष्य १ ले नेपालमा चलेको दस वर्षे द्वन्द्वले गाउँलाई असर पारेको कुरा उल्लेख भएको छ । मानिसहरू धेरै मारिएको कारणले गाउँ शून्य भएको, मारिने डरले मानिसले गाउँ छोडेकोले मानिस नभएको स्थानमा पशुपन्छी पनि नरही गाउँ निर्जीव भएको, जनता बिनाको राज्य हुन थालेको भाव व्यक्त छ ।
साक्ष्य २ ले पहाड सहरमा जस्तो कृत्रिम वस्तु, मिसावट सामग्री उपभोग नगरी प्राकृतिक वस्तुको उपभोग गर्न पाइने हुनाले गाउँका मानिस हृष्टपुस्ट खाइलाग्दा हुन्छन् भन्ने भाव प्रस्तुत गरेको छ ।
साक्ष्य ३ ले समय परिवर्तन भएको पक्षको सङ्केत गरेको छ । सन्तान हुर्केर पढी महान् व्यक्ति बन्ने, आपसआपसमा मिल्ने, देशका लागि लायक भई देश विकासका लागि समर्पित बन्ने बाबुआमाको सोचाइ भए पनि समय परिवर्तनसँगै छोराछोरी बाबुआमाको सोचमा नचली हिँसाको मार्गमा लागेको कुरा व्यक्त छ ।
साक्ष्य ४ ले देशभरि चलेको गृहयुद्घले कुनै पनि स्थान सुरक्षित नभएको, देश नै युद्घको चपेटामा मुछिएर तहसनहस भएको कहीँ कतै शान्त नभएको भाव व्यक्त छ ।

आ) समाज

नेपाली बृहत् शब्दकोशमा एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई (२०५५;१३०५) समाज भनिन्छ भनिएको छ । समाज मानवीय संवेदना र समाजको स्वरूपका आधारमा पहिचान गर्न सकिन्छ । प्राकृतिक स्थिति, समाजिक स्वरूप र संरचनाका सीमाहरू आफ्नै काल, पर्यावरण र जातीय पहिचानको माध्यमबाट (जैन,पृष्ठ ३ उद्धृत, आर्.होगार्टबाट)समाजका वर्गको र लिङ्गको, संस्कार र संस्कृतिको, भाषा र जीवन शैलीको समग्र यथार्थता, सांस्कृतिक र साहित्यिक मूल्यको अवस्थिति त्यस राष्ट्रको राजनितिसँग पनि सम्बन्धित हुन्छ भन्ने कुरा पनि (माक्र्स पृष्ठ ११६, उद्धृत जैन)समाज भित्र राखेर मनन् गर्नु पर्ने हुन्छ । समाज आदि कालदेखि नै परिवर्तन हुँदै आएको छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो ’ शीर्षकको कथामा प्रस्तुत समाजलाई यस प्रकार प्रस्तुत गरिएको छ ।

साक्ष्य–१, केही पर एउटा घरमा धुवाँ आएजस्तो देखेँ । त्यहाँ केही गाईवस्तु पनि देखेँ (दाहालः२०६५;७२) ।
साक्ष्य–२, हाम्रा छोराछोरी छिमेकमा मिलेर बस्नु कता हो कता आफू आफू काटमार गरेर मर्न लागे बाबु (दाहालः२०६५;७४) ।
साक्ष्य–३, कतै यो सब त्यही अधर्मी धर्मानन्द पाध्येको काम हो कि भन्छु म त बाबु, किनभने मुखमा रामराम बगलीमा छुरा हुनेको भर हुन्न रे बाबु(दाहालः२०६५;७४) ।
साक्ष्य–४, …मर्दा क्रिया गर्छन् …(दाहालः२०६५;७४) ।
साक्ष्य–५, देशमा साम्प्रदायिक द्वन्द्व भट्किएको छ । तराई दुखिरहेको छ (दाहालः२०६५;७७) ।

विश्लेषण
साक्ष्य १ ले खाना पकाउँदा दाउरा बाल्ने ग्रामीण समाजको चित्रण भएको छ । साथै उक्त साक्ष्यमा गाउँमा गाईवस्तु पालेर जीविकोपार्जन गर्ने समाजको चित्रण भएको छ ।
साक्ष्य २ मा छिमेकमा जुनसुकै जात, धर्म, संस्कार, भाषा बोल्ने वा वर्गको भए पनि मिलेर बस्नुपर्नेमा वैमनस्यता साँचेर, रिसराग गरेर बाँचिरहेको, गाउँमा हिँसा बढी अशान्ति भएको कुरा व्यक्त भएको छ ।
साक्ष्य ३ ले गुरुप्रसाद मैनालीको कथामा धनजिते र गुमानेबिच आगोमा तेल थपेर झगडा बढाइदिने काम धर्मानन्दले गरेका थिए । त्यसै गरी अहिले पनि धर्मानन्दको रूपमा छिमेकछिमेकबिच झगडा पारिदिने काम वीरसिक्का खेल्न सिपालु धर्मानन्द पाध्यजस्तो छिमेकीहरू मिलेर बसेको देख्न नचाहनेबाट भएको भएको भाव व्यक्त भएको छ । यस साक्ष्यमा कुरा मिठा गरी मनमा ईष्र्या राख्ने मान्छेको विश्वास नहुने भाव पनि व्यक्त छ ।
साक्ष्य ४ ले हिन्दु धर्ममा बाबुको मृत्यु पछि छोराले कृया बसेर अन्तिम संस्कार गर्ने चलन रहे पनि अहिले ती संस्कार छाडिएको भाव व्यक्त गरिएको छ ।
साक्ष्य ५ मा नेपालमा राजनीतिक अस्थिरता भएकोले साम्प्रदायिक दङ्गा बढी अशान्ति फैलिएको, दस वर्षे जनयुद्घबाट माओवादी शान्ति प्रक्रियामा आए पनि तराई एक मद्येश एक प्रदेश हुनुपर्ने माग सहित आन्दोलनमा लाग्दा देश अशान्त भएको भाव प्रकट भएको छ ।

इ) जाति

नेपाली बृहत् शब्दकोशमा राष्ट्रियता, भौगोलिक सीमा, शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा चिनिने स्थावरलाई जाति भनिन्छ (२०५५;४८७) भनी भनिएको छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा प्रस्तुत जातिसँग सम्बन्धित कथनलाई यस प्रकार प्रस्तुत गरिएको छ ।
साक्ष्य, गुरुप्रसाद मैनालीले हामीलाई गुमाने घर्ती र धनजिते भोटे बनाएर छिमेकी बनाए (दाहालः२०६५;७३) ।

विश्लेषण
उपर्युल्लिखित साक्ष्यमा गुरुप्रसाद मैनलीबाट लेखिएको कथामा गुमाने र धनजिते फरक जातका भए पनि एकै ठाउँमा मिलेर मर्दाको मलामी र पर्दाको जन्ती बनेर दुःख–सुख बाँडिरहेका थिए भन्न भाव अभिधार्थमा अभिव्यक्त भएको छ । साथै यस उद्धृत अंशले पहिले जुनै जातका मानिसमा पनि मिलेर बस्नुपर्ने भाव रहेको तर अहिले तिनै मानिसहरूमा हिँसा र भैmझगडा परिरहेको, शत्रुता बढिरहेको भाव व्यक्त छ ।

ई) संस्कृति

विशेष गरी पूर्वको संस्कृतिलाई जोडतोडका साथ पश्चिमी करण गरिँदै गएका वर्तमान परिवेशमा संस्कृतिको मौलिक पहिचान सङ्कटापन्न अवस्थामा गुज्रिँदै गरको सन्दर्भ पनि यहाँ उल्लेखनीय छ (नायरःसन्२००८,४३,४४) । संस्कृतिगत कुलीनता र जनपक्षीयताका रूप र ढाँचाहरूका तथ्य पनि आजका संस्कृतिका परिवृत्त भित्र झाँगिन थालेका छन् । सांस्कृतिक बहुत्ववादको चर्चा द्वितीय विश्वयुद्ध पछिको संसारमा हुन थालेको र सांस्कृतिक विश्वीकरणको उच्च संरचनामा अनेक धर्म र संस्कारका, जाति र सामाजिक व्यवहारका पर्यावरणमा एकातिर उच्चवर्गीय शासक र अर्कातिर आफ्नै कर्मका निष्ठामा रहने मान्छेका सांस्कृतिक आचरण उपस्थापन गर्ने प्रयासहरू कतै स्वैच्छिक र कतै करकापका ढङ्गले परिचालित भएका छन् (गौतम,पृष्ठ१६०) । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो ’ शीर्षकको कथामा प्रस्तुत संस्कृति पक्षलाई यस प्रकार प्रस्तुत गरिएको छ ।
साक्ष्य,“हुँदैन, बाबु हुँदैन, अब पाहुना देवतासरह मान्ने दिन सकिए (दाहालः२०६५;७३)।”

विश्लेषण
उपर्युल्लिखित साक्ष्यमा पूर्वीय सभ्यतामा साँझमा आएको पाहुनाको अपमान गर्न नहुने उनीहरूमा ईश्वरको सत् हुने भन्ने नेपालको संस्कृति रहेकोमा अहिले साँझमा आएका मानिसले धोका दिन थालेको कुरा व्यक्त छ ।

उ) राष्ट्रियता

राष्ट्रियता शब्दलाई नेपाली बृहत् शब्दकोशमा राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना, राष्ट्रप्रेम (२०५५ः११४१)अर्थमा अथ्र्याइएको छ । यस अनुसार राष्ट्रप्रति भक्ति, निष्ठा वा आस्था व्यक्त हुनु राष्ट्रियता हो ।
साक्ष्य, तत्पश्चात् म भाडाको सिपाही भएर अस्तित्वविहीन र उद्देश्यविहीन भएर हैन आफ्नै देशको परिचय लिएर बाँच्छु भनेर भारतीय सैनिकबाट राजिनामा दिएर फर्केँ (दाहालः२०६५;७२)।

विश्लेषण
उपर्युल्लिखित साक्ष्यमा भाडाको सिपाही बनेर अरू देशलाई बनाएर आफू भत्केर बस्नु भन्दा अफ्नै देशका लागि काम गर्नु पर्ने, देशको इज्जत राख्नुपर्ने भाव व्यक्त छ ।

ऊ) मनोविज्ञान

सुषुप्तावस्थालाई व्युँझाउने, भित्रका असन्तोषलाई अभिव्यक्ति दिने, दमित इच्छालाई निकासा दिने हुदा मनोविज्ञानको साहित्यमा महत्व हुन्छ (गौतमः२०५९;७३) । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा वृद्घ मनोविज्ञान, युद्घ मनोविज्ञानको चित्रण गरिएको छ । यस कथामा प्रस्तुत मनोविज्ञानलाई साक्ष्यका रूपमा यस प्रकार गरिएको छ ।

साक्ष्य–१, सायद मलाई देख्दा आफ्नो कलकलाउँदो मुनाजस्तो छोराको सम्झना आयो होला उहाँलाई (दाहालः२०६५;७२) ।
साक्ष्य–२,देशको माया, गाउँको मायाले पिरोलिएर आएको मान्छे म अब गाउँ के जानु ? गाउँ त पहिलाको जस्तो रहेनछ (दाहालः२०६५;७२) ।
साक्ष्य–३, यसरी टुक्रिएर, भत्किएर बाँच्नु भन्दा त देशको माया छातीमा राखेर भाडाको सिपाही भएर नै बस्दा नै मलाई शान्ति थियो(दाहालः२०६५;७६) ।
साक्ष्य–४,छोराछोरीहरू धेरै पढ्छन्, बाबुआमालाई सुखशान्ति दिन्छन् अनि गाउँ र देशको विकास गर्छन् भनेर सोचेको थिएँ तर एकआपसमा मारामार गोली हानाहान गर्न पो सिकेछन् (दाहालः२०६५ः७४) ।
साक्ष्य–५,जताततै च्यातिएको मेरो राष्ट्र्यिताको ध्वजा कतै सिलाउने र टाल्ने ठाउँ नै मैले देखिनँ र भेटिनँ । त्यसैले म आफै भत्किएँ, टुक्रिएँ (दाहालः२०६५;७६) ।
साक्ष्य–६, मेरा काकाको छोरालाई इराकमा आतङ्ककारीले बीभत्स हत्या गरेका रहेछन् (दाहालः२०६५;७२) ।

विश्लेषण
साक्ष्य १ ले जनयुद्घमा मारिएको आफ्नो छोरोको याद आएको कुरा उल्लेख छ । सँगै खेली, हुर्केको, बढ्दै गरेको छोरोको साथी देखेपछि अचेतन मनमा रहेको छोरोको याद वृद्घको मनमा आएको उल्लेख छ ।
साक्ष्य २ ले गाउँको मायाले गाउँको विकास गर्ने उद्देश्यसहित आए पनि गाउँमा झन् विकास निर्माणका धरोहर बिगार्ने, मानिस मानिसबिच काटमार बढेकोले गाउँमा जान मन नलाग्ने युद्घबाट उत्पन्न सन्त्रासको मनस्थिति चित्रण छ ।
साक्ष्य ३ मा नेपाल देश विभिन्न भूगोल, जातजाति, भाषा, संस्कृति आदिमा विभक्त भई अशान्तमा बस्नुभन्दा बरु विदेशमा दास भई सुरक्षित जीवन जिउनु वेस भन्ने आशय प्रकट छ । यसरी टुक्रिएर, भत्किएर बाँच्नुभन्दा त देशको माया छातीमा राखेर भाडाको सिपाही भएर बस्ता नै मलाई शान्ति थियो भन्दै युद्घको कारणले सन्तप्त भएको मनोविज्ञान प्रस्तुत छ ।
साक्ष्य ४ ले छाराछोरी धेरै पढेर बाबुआमाको सेवा गर्छन् नेपालको विकासमा लाग्छन् भनेको तर गलत शिक्षाको कारणले एकआपस नै हत्याको शिकारमा परेको भाव व्यक्त छ । यसमा मानिस बुढेसकालमा पुगेपछि छोराछोरी अवज्ञाकारी भएको भाव प्रस्तुत छ ।
साक्ष्य ५ मा देशमा बढेको राजनीतिक तथा साम्प्रदायिक दङ्गाले नेपालको राष्ट्रियता, नेपाली पहिचान हराएको मानसिकता प्रस्तुत भएको छ । यो मनोविज्ञान पनि युद्घले प्रभाव पार्दा उत्पन्न मनस्थिति हो ।
साक्ष्य ६ ले नेपालमा मात्र मानिसको वीभत्स हत्या भएको नभई नेपालीहरू इराकमा पनि विभत्स तरिकाले मारिएको र विश्वको कुनै पनि स्थानमा मानवीय जीवन सुरक्षित नभएको भाव व्यक्त छ । यसरी यस कथामा ऊ पात्रको काकाको छोरो इराकमा आतङ्ककारी दस्ताको आक्रमणमा परी बीभत्स हत्या गरी मारिएको छ । जसमा मानवीय जीवनको विसङ्गतता प्रकट भएको छ । यही घटनाबाट वृद्घ काकाले आफूलाई एक्लो, बेसहारा र जीवनलाई महत्वहीन ठानेको मानसिकता प्रस्तुत छ ।

२.४.२ विधा मिश्रण क्षेत्र र विधान्त चेतना

दुई वा दुई भन्दा बढी विधा एउटै विधामा अन्तरण भएर आउनु विधा मिश्रण हो । अर्थात् आख्यान (कथा र उपन्यास), नाटक, कविता र निबन्ध) मध्ये कुनै एक प्रधान विधामा अरू विधाहरू गौण रूपमा समाविष्ट हुनु विधा मिश्रण हो ।

अ) नाटकीयता

नाटक श्रव्य–दृश्य विधा हो । नाटकमा अनुकरणीयता, प्रेक्षणीयता, सम्वादात्मकता, मञ्चीयता र पठनीयता जस्ता गुणहरू हुन्छन् । सम्वादात्मक कलालाई आख्यानमा कथोपकथन भनेर काम चलाउने गरिन्छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो ’ शीर्षकको कथामा प्रयोग भएको नाटकीय गुणलाई यस प्रकार प्रस्तुत गरिएको छ ।

साक्ष्य–१हेलो शर्मिलाजी के छ हालखबर ? एउटा साहिात्यक कार्यक्रममा मेरो उससँग भेट हुन्छ (दाहालः२०६५;७०) ।
साक्ष्य–२, “घरमा को हुनुहुन्छ ? वास पाइन्छ कि…?” मैले विनम्रता बिछ्याएँ । घरभित्रबाट एक जना वृद्घ लौरो टेक्तै बाहिर निस्के अनि सशङ्कित र आश्चर्यमिश्रित भावले भोरिँदै मलाई हरेर भने, “बाबु को नि ? परदेशीलाई वास बस्न दिन पनि गाह्रो छ (दाहालः२०६५;७२) ।”
साक्ष्य–३,बूढाले घरभित्र बोलाउँदै भने,“त्यसो भए आउनुस् बाबु, भित्र बस्नुहोस्” भनेर अगेनीको छेउमा सुकुल बिछ्याइदिए (दाहालः२०६५;७२) ।
साक्ष्य–४, बूढा पनि अगेनीको छेउमा बसे । आगोको उज्यालामा वृद्घको मुहारमा अनौठा भावहरू देखिन्थे(दाहालः२०६५;७३) ।
साक्ष्य–५, “किन र बा, पाहुना देवतासरह हुँदैनन् र ?” मैले वास नपाउने सम्भाव्यतालाई पन्छाउँदै प्रश्न गरेँ ।
म्ोरो प्रश्न नसकिँदै बूढामान्छे जोसिए,“हुँदैन, बाबु हुँदैन, अब पाहुना देवतासरह मान्ने दिन सकिए”(दाहालः२०६५;७३) ।
साक्ष्य–६,“अनि बा तपाईँ को नि ?”
बृद्घले भने,“म धनविते हुँ बाबु, गुमाने भित्र सुतिरा’छ। उसले पहिला मलाई बिमारी हुँदा निकै चाकर गरेको थियो त्यसैले आज म उसको स्याहार गरिरहेछु (दाहालः२०६५;७३) ।”

विश्लेषण
साक्ष्य १मा साहित्यिक कार्यक्रमको दृश्य छ । यो दृश्य नाटकीय घटना मञ्चन हुने स्थलको रूपमा आएको देखिन्छ ।
साक्ष्य २ मा म पात्र र बृद्घ पात्रको संवादका साथ अभिनेयात्मकता देख्न सकिन्छ ।
साक्ष्य ३ ले पनि अगेनी छेउको मञ्चीय स्थल एकातिर प्रस्तुत भएको देखिन्छ भने अर्कातिर अभिनेय गुण देखिन्छ ।
साक्ष्य ४ मा बुढा पात्र अगेनीको छेउमा आएर बसेको दृश्य र उसको अनुहारमा प्रस्तुत भएको भावले यसलाई अभिनेयात्मक बनाएको छ ।
साक्ष्य ५ मा संवाद प्रस्तुत छ यसले पनि नाटकीय गुण देखाएको छ ।
साक्ष्य ६ मा पनि संवाद प्रस्तुत भएको छ । यसले पनि यस कथामा नाटकीय गुण रहेको देखाएको छ ।

यसको साथै यस कथामा साहित्यिक कार्यक्रममा भएको शर्मिला र ऊ पात्रको संवाद दृश्य, दोस्रोमा ऊ पात्र र काकाको घरको संवाद र दृश्य र तेस्रोमा धनजितेको घरमा भएको ऊपात्र र धनजितेबिच भएका संवाद आदिले यसलाई नाटक विधासँग पनि नजिक्याएको छ ।

आ) निबन्धात्मकता

निबन्धको पहिलो पहिचान निजात्मकता हो । कल्पनाको प्राधान्य, भावुक सम्वेदना र वैयक्तिक, भावात्मक, विचारात्मक पक्षहरूको उपयोगबाट तयार हुने गद्य रचना निबन्ध हो । विधा सङ्गठन, विधा मिश्रण, विधा भञ्जन र विधा विघटनसम्मको यात्रामा विधा मिश्रणलाई अध्ययन गर्न सकिन्छ । निबन्धात्मक गद्य रचनाको मिश्रण हुन सक्ने सम्भावना आख्यानमा बढी देखिन्छ । आख्यानेतर गद्य विधाहरूका अनुशासनका विशेषताहरू विश्लेषित र ख्याख्या हुन सक्ने सम्भावनाका आधारमा यहाँ कथा भित्र जोडेर अध्ययन गर्न प्रयत्न गरिएको छ । विधा पहिचानको व्याख्या विधान्तर सीमामा मात्र हुन सक्ने तथ्यलाई भने भुल्नु हँदैन ।

निबन्धका अपेक्षित तŒवहरू हुन्—तार्किकता र वर्णनात्मकता, निजात्मकता (त्रिपाठीः२०६५,२२९) र परात्मकता, भावात्मकता र वैचारिकता, वैयक्तिकता र विवरणात्मकता । यस्ता निबन्धात्मक गुणहरू मिश्रण भएको अवस्थामा विधा मिश्रणको व्याख्या गर्न सकिने कुरा पनि सैद्धान्तिक अध्ययनबाट पुष्टि हुन्छ । विधान्तर चेतनाका सन्दर्भमा पहिलो आख्यानमा आख्यानेतर गद्यका अन्य उपविधाहरूको मिश्रण भएमा अथवा आख्यानेतर गद्यका विधा उपविधाहरूमा आख्यन विधाको मिश्रण भएमा, आख्यान वा आख्यानेतर गद्य विधाका गद्यहरूमा कविता वा काव्यात्मक तŒवको मिश्रण भएमा विधा मिश्रण, विधा भञ्जनदेखि लिएर विधा विघटनसम्मको यात्रालाई विवेचना गर्न सकिन्छ ।

विधमिश्रणका परिधिभित्र आख्यानसँग आख्यानेतर गद्यका निबन्धात्मक अनुशासनमा केन्द्रित नियात्रा लेखनका तŒवहरू मिश्रित हुन आउँछन् । त्यस्तै संस्मणात्मक लेखनका तŒवहरू, आत्मकथा लेखनका तŒवहरू, निवार्ता लेखनका तŒवहरू, निदैनिकी लेखन र निपत्रात्मक निबन्ध लेखनका तŒवहरू पनि मिश्रणबाट तयार भएका हुन्छन् । जीवनी र आत्मजीवनी लेखनका तŒवहरू पनि अख्यानेतर गद्यका अतिरिक्त विधाहरूमा सम्मिश्रित बनेर आएका हुन्छन् । त्यो मिश्रण अधिक, अधिकतर र अधिकतम हुँदै गएर विधाको मौलिक परिचय नै बिलयन हुने स्थितिसम्मको अवस्थालाई समेत यसै सन्दर्भमा बोध गर्नु पर्ने हुन्छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा प्रस्तुत निबन्धको गुणलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

साक्ष्य–१, राष्ट्रियताको बाढी उर्लेको थियो रे । अनि धेरै राष्ट्रिय सम्पत्ति पनि बगायो रे त्यस बाढीले । राष्ट्रियताको भावनाले पोलेको मेरो मनले केही शीतलता प्राप्त गर्छ कि भनेर सोचेको थिएँ तर झन तडपियो मेरो मन (दाहालः२०६५ः७२) ।
साक्ष्य–२, त्यसपछि मैले कला, साहित्य, सङ्गीततिर आफूलाई डो¥याएँ । त्यतातिर पनि मैले सबै ठाउँमा देश दुःखेको देखेको थिएँ । राष्ट्रियताको भावले ओतप्रोत भएको मेरो मस्तिष्कले राष्ट्रियता पोखिने बाटो खोज्यो । मैले सबैभन्दा बढी राष्ट्रियता भण्डारण हुने ठाउँ साहित्य नै देखेँ । त्यहाँ मैले मजस्ता धेरै पात्रहरू मजस्तै सजीव भएर बाँचेको देखेँ । यस प्रकार यस कथामा निबन्धमा झैँ आत्मपरक वर्णन छ (दाहालः२०६५;७५) ।

विश्लेषण
साक्ष्य १ मा निबन्धमा रहने निजात्मक शैलीबाट राष्ट्रियताको भाव वर्णन गरिएको छ । यसमा राष्ट्रियताको बाढी, धेरै राष्ट्रिय सम्पत्ति बग्नु, शीतलता जस्ता शब्दले निबन्धमा रहने भाव पक्ष प्रस्तुत भएको छ । यसले यस कथालाई निबन्ध बनाएको देखिन्छ ।
साक्ष्य २ मा पनि निजात्मक शैलीबाट देशप्रेम र राष्ट्रियताको भावना प्रस्तुत भएको छ । यो निजात्मक शैलीबाट गरिएको वर्णनले कथालाई निबन्ध विधाको सन्निकट पु¥याएको देखिन्छ ।

इ) मनोवाद

नेपाली बृहत् शब्दकोश अनुसार आफूमात्र एक्लै गुनगुनाउने काम वा स्वगत कथन, एकालाप अथवा एक्लै वार्तालापयुक्त साहित्यिक रचना (२०५५;१०४८) लाई मनोवाद भनिन्छ । शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा प्रस्तुत मनोवादलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

साक्ष्य–१, मैले कथा पढ्दापढ्दै धेरैचोटि रोकिएर उसको मुख हेरेको थिएँ । ऊ विदेशबाट फर्किएको भन्नेचाहिँ थाहा थियो । उसको सिपाहीले नै ऊ सिपाही हो भन्ने पनि देखिन्थ्यो, तर ऊ नव सिलवालको कारगिलको मोर्चाको पात्र भन्नेचाहिँ थाहा थिएन । म कथा पढिसकेर पाना बन्द गर्दा नगर्दै उसले फेरि आफ्नो रफ्तार सुरु ग¥यो । म उसकै कथाको विषयमा घोरिइरहेको थिएँ । यो कसरी सम्भव छ भनेर । एउटा कथाको पात्र पनि जीवित भएर बाँच्न सक्छ (दाहालः२०६५;७६) ।
साक्ष्य–२, म मनोवाद गर्दछु किनभने उसले मलाई बोल्ने मौका दिने छैन भन्ने मलाई थाहा छ । वास्तवमा हो पनि हामी नेपाली नयाँ कुरालाई पचाउन सक्दैनौँ । नयाँ कुरा विश्लेषण गर्न सक्दैनौँ । कुनै पनि राम्रा नराम्रा कुरा अरूले भनिदिनु पर्छ । हामी नयाँ सोच र विचारलाई सजिलै पचाउन सक्दैनौँ । अझ झन नारीले गरेका नयाँ कुरा त कहिल्यै मान्य र पाच्य हँुदैन यो समाजलाई । म पनि उसका यी कुरामा सहमत थिएँ, तर उसको कथा छापिने विषयमा सहमत थिइनँ किनभने देशमा शान्ति आइसकेको थियो (दाहालः२०६५;७७) ।
साक्ष्यका रूपमा प्रस्तुत १ ‘यो उसको कथा हो’ शीर्षक कथाको पात्र शर्मिलाले आफ्नै मनभित्र कथाको म वा नवसिलवाल पात्रको बारेमा गरेको मनोवाद हो । त्यस्तै साक्ष्य २ मा नेपालीलाई कुनै पनि कुराको राम्रा नराम्रा पक्ष अरूले बताएपछि मात्र आत्मसाथ गर्ने बानी रहेको अझ नेपाली समाजमा नारीले जतिसुकै राम्रो भने पनि वा गरे पनि कसैले नपत्याउने कुरा आत्मालापबाट गरिएको छ ।
यसरी यस कथामा आख्यानको गुण मूल रूपमा तथा निबन्ध, नाटक र मनोवाद विधाको गुण आँशिक रूपमा प्रयोग भई विधा भञ्जन भएको छ ।

२.४.३ परम्परागत मूल्यचेतनाको अन्त्य

आख्यान परिपाटीमा आबद्ध हुन्छ र अझ कथाले त चुस्त र सबल एवं सघन प्रस्तुतीकरणमा आफ्नो आकृति निर्धारण गर्दछ । आज कलाचेतना शिथिल बन्दै गएका कथा धारणालाई व्यवहारमा उतार्ने काम यस्तै अनौचारिक कथाहरूले सम्पन्न गर्ने गरेका छन् । कथाको अन्त, पात्रको अन्त, आख्यान योजनाको अनिवार्य तŒव मानिने सन्दर्भ योजना अर्थात् कथानक योजनाको अन्त्य र लेखक समेतको अन्त्य उद्घोष भएका यस समयमा लेखिएका यस ‘यो उसको कथा हो’ कथाले परम्परागत मूल्य चेतनाको अन्त भएको सन्दर्भ प्रस्तुत गरेको छ । सिद्धान्तका आधारमा हुने विधा सङ्गठन, धारणा शिथिल बन्दै जाँदा सृजनामा प्रयोग हुने विविध रूपहरूको मिश्रण, विधा विघटन अर्थात् विधा विलयनसम्मका सूचकहरू यस सन्दर्भमा अभिलक्षित हुन्छन् । शर्मिला खड्काको यस कथामा कथाको अन्त, पात्रको अन्त, आख्यान योजनाको अनिवार्य तŒव मानिने सन्दर्भ योजना अर्थात् कथानक योजनाको अन्त्य र लेखक समेतको अन्त्य उद्घोष भएका सूचनाहरू देहाय अनुसार प्रस्तुत भएका छन् । रोलाँ बार्थले भनेका छन्– एउटा रचना वा कृति पूरा हुनासाथ त्यसका लेखकको मृत्यु हुन्छ (लामाःइ.२०१०;८३) । यही बार्थको सिद्घान्त यस कथामा प्रस्तुत छ । यस कथामा ऊ पात्रले म शर्मिला पात्रलाई आफ्नै नामबाट कथा छपाए पनि केही हुँदैन । मेरो नाममा छापिनु पर्दैन । मलाई मात्र कथा छापिए पुग्छ भनेको र सो कुरा शर्मिलाले स्वीकार गरेकी छे –
अहिले अरूको गीत रिमिक्स बनाउँदै गाउँदा त भइरहेछ भने यो त झन सिर्जना र बौद्घिकताको कुरा भयो । यसमा नयाँ धार र प्रयोग भएको छ । त्यसैले मैलेउसको कथा आफ्नै नाममा छाप्ने निर्णय गरेँ र मेल गरेर पठाएँ । यसरी यहाँ कथा लेख्ने ऊ पात्रको मृत्यु भएको छ (दाहालः२०६५;७७)।

बार्थबाट नै व्यक्त रचना पाठक प्रतिक्रिया सिद्घान्त पनि यस कथामा प्रयोग भएको छ । एउटा रचना पाठले जबसम्म रचना पाठक पाउँदैन तबसम्म त्यस रचना पाठकको कुनै मूल्य हुँदैन । रचना पाठ पढेपछि रचना पाठकले व्यक्त गरेको प्रतिक्रिया, अनुभव आदि नै रचना पाठक प्रतिक्रिया सिद्घान्त हो । यस आधारमा प्रस्तुत कथामा ऊ पात्रबाट लखिएको मेरो अन्तिम कामना यही छ कथाले रचना पाठकको रूपमा शर्मिला वा म पात्रलाई प्राप्त गरेको छ । उल्फग्याङ आइजरले वास्तविक र अन्तिर्नहित रचना पाठक गरी दुई प्रकारका रचना पाठक देखाएका छन् (लामाःइ.२०१०;८५) । यस कथामा शर्मिला ऊ पात्र लिखित मेरो अन्तिम कामना यही छ उपकथा पढ्ने अन्तिर्नहित रचना पाठकका रूपमा आएकी छे ।

शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ कथामा रचना पाठको अन्त भएको छैन ।

होइन, यो कथा मैले जनयुद्घताका नै लेखेर दिएको छापिन्छ भनेर कुर्दाकुर्दै देशमा जनयुद्घ समाप्त भयो त्यसपछि त कसैलेछाप्न नै मानेनन् …शर्मिलाजी अझै देशमा शान्ति आएको छैन । देशमा साम्प्रदायिक द्वन्द्व भट्किएको छ । तराई दुखिइरहेको छ । अब मेरे भेट धनजिते र गुमानेसँग नभएर कुनै बुधराम, सनिरामसँग अवश्य हुनेछ अनि उनीहरूले मलाई यिनै कुरा गर्नेछन् … मेरो अन्तिम कामना पूरा भएको छैन(दाहालः२०६५ः७४) ।

यसबाट यस रचना पाठको अन्त भएको देखिन्न । रचना पाठक प्रतिक्रिया सिद्घान्तले पनि रचना पाठ प्रतिको बुझाइमा प्रत्येक रचना पाठक स्वतन्त्र रहन्छ र हुनुपर्छ पनि । रचना पाठको अर्थ संरचना होइन तर रचना पाठकको अनुभवमा निर्भर रहन्छ ।(लामाःइ.२०१०;८३) यस आधारमा प्रस्तुत कथामा ऊ पात्र लिखित मेरो अन्तिम कामना यही छ समाप्त भएपछि ऊ पात्र पनि रचना पाठक बनेको छ र उसले स्वतन्त्र रूपमा युगीन परिवेशको वर्णन गरी धनजिते र गुमानेको कथा सकिए पनि बुधराम, सनिरामको कथा बाँकी रहेको, आफ्नो अन्तिम कामना पूरा नभएको व्यक्त गरी रचना पाठकोअन्त नभएको बताएका छन् । विनिर्माणवाद टेक्स्ट (रचना पाठ) को अनेकत्वमा, बेमेलमा जोड दिन्छ । यस आधारमा शर्मिला खड्काद्वारा रचित ‘यो उसको कथा हो ’ शीर्षकको कथाभित्र दुई ओटा विनिर्माणका रचना पाठहरू छन् । साहित्यिक कार्यक्रममा शर्मिला र ऊ पात्रको भेटको आख्यान, कारगिलको युद्घमा लडेर बाँचेर आएको शर्मिलाको कथाभित्रको ऊ (नवसिलवाल) पात्रको कथा मेरो अन्तिम कामना यही छ आख्यान छ । मेरो अन्तिम कामना यही छ रचना पाठभित्र पनि कारगिलको युद्घ लडी बाँचेर आएको रचना पाठ, ऊ पात्र आफ्नो गाउँ तनहुँको वसन्तपुर जाँदा बाटोमा पर्ने काकाको घरमा पस्दा काकाको घरको दुर्गतिको रचना पाठ, धनजितेको घरमा पस्दा धनजितेको रचना पाठ छन् । एउटै रचना पाठभित्र रहेका यी अनेक रचना पाठले यस कथालाई विनिर्माण बनाएको छ ।

शर्मिला रचित यस कथामा एक पात्र शर्मिला आफै रहेकी छे भने दोस्रो पात्र कारगिलबाट लडेर आउने ऊ पात्र छ । त्यस्तै ऊ पात्रद्वारा रचित ‘यो उसको कथा हो’ मा ऊ पात्र नै म पात्रको रूपमा रहेको छ । ऊ पात्रद्वारा रचित मेरो अन्तिम कामना यही छ गर्भित कथामा पनि ऊ पात्रको काका पर्ने पात्र र उसको छोराको घटना, गाउँका वृद्घले वास बस्न नदिएको घटना तथा गुरूप्रसाद मैनालीबाट रचित छिमेकी कथाका पात्र धनजिते र गुमानेको कथा रचना पाठ अन्तरण गरिएको छ । साथै यस कथामा शर्मिलाद्वारा रचित समयको क्यानभासमा, अनिर्णयको बन्दी जस्ता कथाको पनि नामोल्लेख छ । यसरी यस कथाको रचना पाठमा बेमेल छ, रचना पाठमा अनेकत्व छ जसले परम्परागत कथा लेखन परिपाटीको अन्त भएको छ ।

पाहुनालाई भगवान्सरह मान्ने हाम्रो सभ्यतामा एउटा बुर्जुगले यसो भनेको सुनेर(२०६५ः७३) । यसरी यस कथामा पुराना मान्यता र आदर्श भत्किएको देखाइको छ जुन इतिहासको अन्त्य हो ।

यस कथामा नेपाली खानाले घरमा बेलुका आएका पाहुनाको स्वागत गरिनुको साटो पाहुना स्वयम्ले ल्याएको चाउचाउ खाना प्रयोग भएको छ । यसले एकातिर नेपाली परम्परा खण्डित भएको छ भने अर्कातिर नेपाली दाल, भात, ढिँडोको सट्टा चाउचाउ प्रयोग भएको छ ।

उत्तर आधुनिक मान्यतामा एकत्व छैन छ त बहुलता (गौतमः२०६४;३८) । यस कथामा प्रस्तुत प्रसङ्गहरू अनेकत्व÷बहुलतामा विभाजित छ । बाबुआमा जुन आदर्शमा हिँडेका छन्, छोराछोरीले ती कुरालाई अङ्गालेका छैनन् । छोराछोरीहरू बाबुको आदर्श स्वीकार गर्दैनन्, व्यक्ति सत्ता बलियो भएको देखाइएको छ ।

यो कथा छाप्नका लागि मैले कति दुःख खेपेँ । कोही भन्छन् यो गुमाने र धनजितेको हो ? कोही भन्छन् तपाईँ को हो ? तपाईँको परिचय के हो ? यस प्रकार यस कथामा मानिस भएर पनि मानिसले आफ्नो परिचय खोज्नु पर्ने अवस्था छ । यसरी परिचय खोज्नु पर्ने अवस्था सिमान्तकृत अवस्था हो ।

यस कथामा ऊ पात्रको कथा प्रकाशकले नछापिदिँदा ऊ पात्रले म पात्रलाई कथा मेलबाट पठाउन आग्रह गरेको छ र कथा मेल गरेरपठाइएको छ । यसप्रकार यस कथामा विद्युतीय सामग्रीको उपयोग भएको छ । यसले विश्वमा सञ्चार माध्यमका कारणले भएको भूमण्डलीकरणको प्रभाव देखाएको छ

शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो’ शीर्षकको कथामा भाषालाई भाँचभुँच पारेर प्रस्तुत गरिएको हुन्छ । यस क्रममा कविता लामा उल्लेख गर्छन् साहित्य लेखनमा उत्तरआधुनिकतावादीहरू भाषालाई पनि नवीन रूपले प्रयोग गर्छन् (सन्२०१०;८८) । यस कथामा आयामेली भाषामा प्रयोग गरिने चिनारी कलिलो, रात छिप्पिएको जस्ता पदावली र जिउँदाको जन्ती र मर्दाको मलामीलाई मर्दाको जन्ती जिउँदाको मलामी बनाई प्रयोग गरिएको छ । यस कथामा प्रस्तुत यस्ता भाषाले कथालाई आलङ्कारिक बनाएको छ । यसरी आलङ्कारिक हुनु पनि उत्तरआधुनिकवादको एउटा विशेषता हो ।

यस कथामा अगेनु, लिस्नु सुकुल जस्ता ग्रामीण भइसकेका शब्द एकातिर प्रयोग भएको छ भने अर्कातिर नेट, एक्सेलेटर, ब्रेक जस्ता शब्द पनि प्रयोग भएको छ जसले भाषामा मिश्रण देखा परेको छ ।
यस कथामा पनि यस यस प्रकार यस कथामा विधा भञ्जन, विनर्माण, आदर्श बिघटन, शून्यता बोध, भूमडलीकरण र लेखकका मृत्यु जस्ता प्रवृत्ति प्रयोग भएको छ ।

३. निष्कर्ष

शर्मिला खड्काद्वारा रचित् ‘यो उसको कथा हो ’ कथामा विषयगत बहुलताका विषयहरू चयन गरी तिनका विशेषताका आधारमा कथाको विश्लेषण र ती विश्लेषित बुँदाहरूका आधारमा व्यख्या हुनसक्ने पक्षहरूको पहिचान गर्ने प्रयत्न गरिएको छ । यस विश्लेषणमा पर्यावरणका पक्षहरू परिवेशको भूमिकामा रहेका छन् । जीवनका विविध आयाम र अवस्था लिएर कथाभरि व्याप्त छ । जातिका सन्दर्भमा व्याख्या हुने खालका विभेदक र राष्ट्रियतामा राष्ट्रप्रति देखाइएका भावहरू प्रस्तुत छन् । यसै गरी मनोविज्ञानमा यस कथाका पात्रमा विभिन्न कारणले परेको मानसिक असर उल्लेख छन् । यस कथामा नाटक, निबन्ध, मनोवाद आदि विषय क्षेत्रको प्रयोग भई विधा भञ्जन भएको छ । यसको साथै परम्परागत कथा लेखन प्रवृत्तिको अन्त्य गरी यस कथामा विनिर्माण, आदर्श विघटन, भूमण्डलीकरण, लेखकको मृत्यु, परम्परागत कथा लेखनको मृत्यु भएको छ । यस प्रकार यस कथामा उत्तर आधुनिक कथा लेखनका प्रवृत्तिहरू प्रयोग भएका छन् ।

सन्दर्भ सामग्री सूची

अधिकारी, इन्द्रविलास , पश्चिमी साहित्य सिद्घान्त, ललितपुरःसाझा प्रकाशन, २०६१।
गौतम, कृष्ण, आधुनिक आलोचनाः अनेक रूप अनेक पठन(दोसं),ललितपुरःसाझा प्रकाशन, २०६१ ।
…………………..,उत्तर आधुनिक जिज्ञासा, काठमाडौंः भृकुटी एकेडेमिक पब्लिकेशन्स्,२०६४।
त्रिपाठी, वासुदेव, साहित्य–सिद्घान्तः शोध तथा सृजनविधि, काठमाडौंः पाठ्यसामग्री पसल,२०६६
दाहाल, शर्मिला खड्का, समयको क्यानभासमा, इटहरीः उत्खनन नारी साहित्य प्रतिष्ठान, २०५९ ।
लामा, कविता, अनुशीलन, दार्जिलिङः माया प्रकाशन, सन्२०१०।
शर्मा, मोहनराज, आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना,काठमाडौंःक्वेस्ट पसल,२०६६
सुवेदी, राजेन्द्र, अन्तर विषयक तथा विधा मिश्रणका सन्दर्भमा अमर न्यौपानेको ‘कथान्त’ कथाको अन्त्य, ? ।

-फर्पिङ, दक्षिणकाली 

This entry was posted in समालोचना and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.