कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~

दिनहुँ हेर्छु
घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा
डम्फू, मादल र सारंगीको मौन धारण
र गीति अक्षरहरुको शान्त मलामी
माथि
सल्लाघारीको डाँडामा बसेर
जीर्ण तन र वितृष्ण मन बोकी
शव यात्राको दृश्यावलोकन गर्छ
भत्केको बूढो माने गुम्बा
र गाउँको बीच चाउरमा
तरुण गिर्जाघर उफ्रिँदै नाच्छे
क्यारोलको संगीतमय धुनमा ।

दिनहुँ हेर्छु
मनको असारे हिलोमा छप–छप
आनन्दको रोपाइँ गर्ने हातहरु
गाउँलाई नै शून्य पारी
विदेशमा भाँडा माँझ्न गाको छन्‍
र उकाली–ओराली गर्दै
गोठ–खर्क धाउने युवाहरु
लप्सीको आचार र किनामालाई माया मारी
विदेशमा परेड खेल्न गाको छन्‍ ।

दिनहुव हेर्छु
बेंशीको मनमा खेतको डील–डील
धानको बाला द्मुलेको छैन,
लेकको निधारमा बारीको कान्ला–कान्ला
काफल चरी र क्वैली चरीले
गीत गाएको छैन,
र गाउँको बाटोहरु
रसाएका आँखाहरु बोकी निदाउन थालेछन्‍
आफन्तहरुलाई कुर्दा–कुर्दै ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.