~गोविन्दराज विनोदी~
प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि
कम्पले घरको मेरो जग नापिरहेसरि
जब बाह्र गते आयो महाभूकम्प देशमा
लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा
भासिए नासिए कैयौं सम्पदा र धरोहर
लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर
झम्टेझैँ बाघले बारम्बार त्यो मृग घायल
किन झट्का दिएको छ कम्पले पलका पल
ठूला महलका स्वप्न छन् सारा क्षत विक्षत
त्रिपालमुनि छन् आज राजा रङ्क समाश्रित
जता जाऊँ उतै पीडा भयका स्वर मात्र छन्
जन वैभवको ठूलो क्षयका स्वर मात्र छन्
रोई रोई बसेका छन् बाँचेका कति आहत
भोकभोकै बसेका छन् कोही पर्खेर राहत
सरकार कहाँ हुन्छ थाहै छैन कतैतिर
के गर्ने र कता जाने ? राहै छैन कतैतिर
फेरि आउँछ रे भन्ने हल्लाको अभिसार छ
यति बेला कठै ! म्लान धर्तीको अनुहार छ
मिलेर बस नेपाली भनेको हो कि कम्पले ?
भनेको हो कि वा कैल्यै भलो हुँदैन दम्भले
नेपाली सिक है पाठ ऐक्यबद्ध भई उठ !
भनेको हो कि लौ चाँडै नवनिर्माणमा जुट
आउला कति भूकम्प छौँ हामी प्रतिरोधमा
यो बेला आत्मरक्षाको छौँ हामी प्रयिबोधमा
राष्ट्रबनत्वको मन्त्र जप्दै जप्दै सगौरव
नयाँ निर्माणमा लाग्छौँ एकताबद्ध भै अब
– गैँडाकोट, नवलपरासी