~आनन्द पोखरेल~
साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ र उसको स्वर सुन्न नपाउँदा ? उ स्वयम् पनि आकुल ब्याकुल हुन्छु भन्थि कुनै पल मेरो आवाज उसको सामु नपुगेको समयमा ।
पहिले म आफू माया प्रेमका कुामा विश्वास गर्ने मान्छे थिएँ । साथीहरुको माया र प्रेमको नाटक देखेर दिक्क भएको थिएँ अनि उनीहरुको पीडा सम्झेर अघाएको पनि । आफूले अनुभव नै नगरिकन पनि मलाई अमन भइसकेको थियो यो ‘माया’ भन्ने शब्ददेखि । यो अवस्था त्यो बेलासम्म कायम रह्यो, जतिबेलासम्म मेरो उसँग भेट भएको थिएन । जब हाम्रो भेटघाट हुन थाल्यो बिस्तारै सम्बन्धहरु बक्लिँदै जान थाले । सम्बन्ध त्यहाँबाट सुरु हुँदो रहेछ जब आफूले आफैलाई एक्लो महसुस गरिएको हुन्छ ।
सायद सानी पनि म जस्तै एक्लीएक रहिछे क्यारे जुन बेलामा हाम्रो भेट भएको थियो । उसले गुनासो गर्थी –‘म शहरमा भएर पनि गाउँको कुनै अनाकण्टर ठाउँमा छु, बुबाआमा कसैलाई मेरो वास्ता छैन, सबै आ–आफ्नै पारामा छन्, फगत एक्लो जीन्दगी बाँचेको छु ।’ हामी दुई भेटिएपछि हामीबीच कुराकानी गर्ने आफ्ना तिता मिठा अनुभवहरु र भोगाइ साटासाट गर्ने चौतारी बन्यो हाम्रो सामिप्यता एकअर्कालाई । त्यसैमा उसले भनि हाली तपईको मोवाइल नम्बर दिनु न ! उ त म भन्दा पनि फरवार्ड भएर मेरो नम्बर मागी सुरुमा त मैले मोवाइल नम्बर दिनलाई आनाकानी गरें । यद्यपी उसले मसँग गरेको विनम्रता पूर्वकको आग्रहलाई नकार्न सकिन, उसको ईच्छा पूरा गरिदीएँ आफ्नो सेल नम्बर दिएर ।
मेरो नम्बर पाएपछि उसले एकैछिनमाा फोन गरिहाली अनि दैनिक लामो समयसम्म फोनबाट कुराकानी हुन थाल्यो । कता कता मलाई पनि उसँगको सामीप्यता सुमधुर लाग्न थाल्यो अझै भनौं रमाइलो अनुभुति दिन थाल्यो । पछि मैले पनि उसलाई फोन सम्पर्क गर्न थालें तर यौटी असल साथी सम्झेर, जसले आफ्ना हरेक कुरा मसँग शेयर गर्ने गरेकी थिइ र मेरो पनि सुनिदिन्थी । आफूलाई एक्लोपनबाट बिस्तारै हट्दै गएको अनुभुति हुन थाल्यो मलाई उसको सामिप्यताले ।
फोनबाट मात्र कुराकानी गरेर नपुगेर हामीले फेसबुक, ट्वीटर, स्काइप लगायतका सामाजिक सञ्जलको भरपुर उपयोग गरिरहेका थियौँ । उसले पटक पटक मलाई यौटै प्रश्न गरेर कायल बनाउने गरेकी थिइ कुनै बेला । भन्थी, –‘तपाईले मलाई के सोच्नु भएको छ ?’ उसको प्रश्नले म एकछिन त हास्थें अनि उसले गम्भीर भएको भनेको हो साँच्ची भन्नुस् न भन्ने गर्थी । आफू सोझो मान्छे उत्तर दिने ठाउँ नपाएर केहि बेर त आवक् हुन्थें अन्ततः भन्ने गरेको थिएँ ‘तिम्लाई के लाग्छ ?’ मेरो यस्तो उत्तर सुनेर सानीले भन्ने गर्थी, –‘प्लीज क्रस क्वेशन नगर्नु न ।’ अनि मेरो सोझो सवाफ हुन्थ्यो –‘एउटी असल साथी, जसले हरेक पीडामा पनि सँगै रहेको जस्तै गरि साथ दिने गरेकी छे ।’
मेरो यस्तो खालको उत्तर पाएपछि केहि क्षण त उ चुपचाप लागेर बस्ने गर्थी अनि पछि कुराकानीको प्रसङ्ग मोड्न तिर लाग्थी । उसले मलाई बारम्बार त्यही प्रश्न सोधेर हैरान बनाउने गर्थी दिनमा कम्तीमा पनि तीन÷चार पटक उसको त्यहि एउटै प्रश्न दोहोरिने गरेको थियो । मेरो पनि त्यही एउटै उत्तर पाउने गरेपछि उ मसँग आजित भइछे क्यारे केहि दिन उसले अरु नै कुरा गरी । करीव हप्ता दिनको फरक प्रसंग पछि उसले त्यही पहिलेकै कुरा गर्न थालि भन्थी, –‘नढाँटी भन्नुस् है तपाई मलाई के सोच्नु हुन्छ ?’ बारम्बार उसले एउटै प्रश्न सोधेका कारण मेरो पनि पारो तात्यो अनि भन्दिएँ ‘अहिलेसम्म त साथी सोचेको छु, अब फेरि यहि प्रश्न दोहोरियो भने म सोच्न बाध्य हुनेछ मैले तिम्लाई के सोचेको छु भनेर ।’
सानीले मसँग कस्तो उत्तर खोजेकी थिइ भन्ने सोचाइमा म रहन थालें । सायद म सोच्न बाध्य हुनेछु भनेपछि उसलाई मायाको अलिकति आशा पलाएछ क्यारे । उसले भनि ‘के सोध्न बाध्य हुने ?’ उ मेरो सामु यसरी प्रस्तुत हुन्थी कि मानौं उसले केहि पनि चाल पाएकी छैन । सबै कुरामा उ अनविज्ञ छे । मेरो ‘अहिलेसम्म त साथी सोचेको छु, अब फेरि यहि प्रश्न दोहोरियो भने म सोच्न बाध्य हुनेछ मैले तिम्लाई के सोचेको छु भनेर ।’ भन्ने उत्तर पाएपछि त उसले झन् मलाई हैरान बनाउ थालि भन्थी के सोच्नुहुन्छ छिटो भन्नु न । उसको कुरालाई मैले पनि गफै गफमा प्रसंग घुमाएर टार्ने प्रयत्न गरिरहन्थें ।
यसै सिलसिलामा हामीबीच फोनमा घण्टौं कुराकानी हुन थालिसकेको थियो । प्रायः मैले भन्दा उसले नै अलि बढि फोन गर्थी, आफू त अफिसको काममा व्यस्त हुने भएको कारण पनि उसलाई फोन गर्ने फुर्सद पाउँदिनथें । कहिले काही त उसको फोन पनि उठाउन नभ्याउने अवस्थामा म रहेको हुन्थें । उसले फोन गर्दा गर्दै उसको मोवाइलमा ब्यालेन्स सकिएको अवस्थामा घरमा रहेको ल्याण्ड फोनबाट फोन गर्न पनि पछि हट्दीनथी । उसको ल्याण्डफोनबाट मेरो मोवाइलमा एसटीडी चार्ज लाग्थ्यो घरका मान्छेले टेलिफोन रेकर्ड हेरेको अवस्थामा मेरो मोवाइलमा कल गरेको रेकर्ड देखिने अवस्था थियो तर पनि उसले बारम्बार फोन गर्थी घरको ल्याण्डफोनबाट । यसैबीच एक दिन सानी अलि तनावमा भएको कुरा मैले थाहा पाएँ उसको बोली सुनेर ।
त्यो बेलामा म स्काइप अन गरेर बसेको थिएँ, सायद मेरो अफिस बिदाको दिन थियो क्यारे त्यो दिन । स्काइपमा बोलाउँदा पनि उ खासै बोल्ने मन गरेकी थिइन । उसले बोल्न नचाहे पनि लेखेर आफ्नो कुरा भन्ने भनेपछि मैले फेसबुकको च्याट अन गरेर स्काइप अफ गरि उ सँग गफ गर्न थालें । उसले लेखी,– ‘म तपाइँलाई यौटा कुरा भन्छु, तपाईँलाई कुनै अप्ठेरो त पर्दैन ?’ मैले लेखें, –‘तिमी त मेरो साथी हौ नि, तिम्रो दुखको कुरा शेयर गर्दा मलाई के को अप्ठेरो ?, तिमीलाई अप्ठेरो परेको बेलामा ज्यान दिन पनि तयार छु तिम्रो लागि त ।’ ल भन के कुरा भन्न खोज्दै छ्यौ ?
उसको कुरा सुन्न म तयार भएको बुझेपछि उसले च्याट बक्समा लेख्न थाली आफ्नो बिगतका समयको बारेमा । उसका बिगत सुनेर मलाई थाहा भयो कि उसले करिव डेढ वर्ष अगाडि उनको कुनै यौटा युवकसँग प्रेममा ब्रेकअप भएको रहेछ । उसका मनभित्रका पीडाहरु मैले अनुभुति गर्न सक्थें किनकी मानिस प्रेममा परेर धोका पाएपछिको अवस्थामा कुन रुपमा पुगेका हुन्छन् भन्ने कुरा मैले साथीहरुको देखेर पनि आँकलन गर्न सकें । मैले सुनेको अनि बुझेको थिएँ प्रेममा धोका दिनेहरुमा केटी नै बढि हुन्छन् भन्ने कुरा । तर सानीको जीवनमा म फेल भएँ उसलाई त केटाले नै धोकामा राखेको रैछ अन्ततः उसले सानीलाई झुक्काएर टाढिएको थियो भन्ने कुरा ।
उसले आफ्नो पूरै कुरा सुनाएपछि मलाई भनि,– ‘मेरो यो विगतको सम्बन्धले हाम्रो वर्तमानको सम्बन्धमा कुनै असर त पर्दैन ?’ उसको प्रश्नले मलाई साह्रै नै भावुक बनायो, मैले लेखें, –‘हेर सानी हामी मान्छे न हौं कसैले कसैलाई प्रेम गर्नु अपराध होइन तर प्रेममा धोका दिनु ठूलो अपराध हो जस्तो लाग्छ मलाई त, यहाँ मैले तिमी निर्दोष देखेको छु अनि किन हाम्रो सम्बन्धमा असर पर्छ र ?’ यो तिम्रो विगतको सम्बन्धमा मैले तिम्रो कुनै गल्ती नै देखिन तिमीले मसँग किन अप्ठेरो मानेकी छ्यौ ? जीवनमा अनेक तरहका दुर्घछनाहरु हुन्छन्, यसलाई पनि एउटा दुर्घटना सम्झेर बिर्सने कोसिस गर । अब कुरा रह्यो हाम्रो साथीत्वको तिमीले त जुन कुरा नलुकाइ मलाई शेयर गर्यौ यसबाट तिमी प्रति मेरो दृष्टिकोण झन् उच्च भएको छ ।’
मेरो कुराले उसलाई केही राहात दिएछ क्यारे । सायद सानीले आफू भित्रको पीडा मसँग बाँडेको भएर उसलाई केहि राहात भएको हुनसक्छ । उसले पहले मलाई बारम्बार सोध्ने प्रश्न पुनः सोधी र मेरो मैले उसलाई प्रतिप्रश्न तेर्साएँ, ‘के मान्छेले मुखबाट नै आई लभ यू भनेर भन्नु पर्छ र, तिमी प्रतिको लगाब नै काफी छैन ?’ सायद सानीले पहिले देखि नै मसँग यहि उत्तर खोजेकी रहिछ भन्ने कुरा मैले थाहा पाएँ । उसले भनि, ‘मुखले भनि रहनु पर्दैन, मैले पहिलेदेखि नै तपाईँबाट यहि उत्तरको खोजी गरिरहेको थिएँ ।’ उसको कुरा सुनेर म पुनः अवाक् भएँ, अनि एक पटक फेरि विगत तर्फ फर्किएँ जुन दिन उसले मसँग मेरो मोवाइल नम्बर मागेकी थिइ ।
म पनि के कम उसलाई सोधिहालें, ‘तिमीले मेरो मोवाइल नम्बर माग्नुको कारण यो पो हो ?’ उसले भनि –‘त्यो बेला हजुरसँग गफ गर्दा खुसी लाग्थ्यो, तपाइँ अलि अलि मन पनि पथ्र्यो ।’ उसको कुरा सुनेर पहिल्यै मलाई किन यो कुरा नगरेकी त लाटी भनेर मैले भनेपछि सानीले भनि, –‘म ढुक्क थिएँ तपाईको जीवनमा अरु कोहि छैन भनेर, त्यसैले किन मैले आत्तिएर प्रेमको प्रस्ताव राख्नु ?’ उसको कुरा सुनेपछि मेरो दिल गार्डेन गार्डेन हुन थाल्यो, उसको मायामा म पनि पग्लीन थालें । अझै भनौं पानी पानी भएँ सानीको मायाले । उसले आफ्नो कुराहरु सकेपछि मसँग मेरो विगतका घटनाहरु भन्नको लागि आग्रह गरिरहेकी हुन्थी मलाई बिगत सम्झने बानी छैन भनेर टार्ने कोसिस गर्थें । उसले मलाई बिगतको कुरा भन्नलाई बारम्बार आग्रह गरेपछि मैले पनि आफ्ना अतित एक एक गरि केलाउन थालें सानीको माझमा ।
म पीएन क्याम्पसमा पढ्ने बेला मान्छे निकै हावा थिएँ, न केहिको चिन्ता थियो मलाई न त कसैको डर । साथमा जस्ता साथीहरुको पनि संगत थियो, साथीहरु यस्ता थिए कि जसले परेको बेलामा ज्यान पनि दिन तयार हुन्थे । एक दिनको कुरा हो, म जतिबेला अध्ययनको अध्ययनको शिलशिलामा पोखरामा बस्ने गरेको थिएँ । कुनै एक अपरीच केटीको नामबाट स्ववियूमा मेरो नाममा पत्र आएको थियो । सायद त्यो पत्रमा लेखिएका शब्दहरु यौटा साथीको नाताले लेखिएका थिए । आनन्द म तपाईको निकै राम्रो फ्यान हुँ, तपाईँलाई नियमित रुपमा सुन्ने गरेको छु………. पत्रमा यस्तै यस्तै कुराहरु उल्लेख गरिएका थिए ।
त्यस्ता पत्रहरुमा मेरो खासै ध्यान जाँदैनथ्यो, पत्र पढेर पछि उक्त पत्रलाई क्याम्पसको कम्पाउण्डको डीलबाट सेतीको किनारमा पुग्ने गरि फाल्दीएँ । मलाई यसरी पत्र पठाउने ब्यक्ति हाम्रै तहमा पढ्ने तर शिक्षा शङ्कायकी रहिछन् । उनी कुनै बेला फुर्सदमा हाम्रो कक्षामा आएर पढ्ने गरेकी मेरो नजिको साथीबाट थाहा पाएँ । उसको र मेरो भेटघाट र चिनजान पनि भयो मेरो साथी राजकै माध्यमबाट । मैले उसलाई साथीको स्थानबाट दायाँ बायाँ रुपमा देख्न चाहिनँ बस् एउटा असल साथीको रुपमा सँधै लिइरहेँ ।
यस्तैमा मेरो पोखराको अध्ययन सकिएपछि म काठमाण्डौतिर बरालिन थालेँ एक दिन मेरो सेलमा म्यासेज आयो आनन्द तपाईँ कता ? म छक्क परें नचिनेको नयाँ नम्बरबाट म्यासेज आएपछि । त्यो बेलामा मेरो एउटा खराब भनौं या असल बानी भनौं के थियो भने नचिनेको नम्बरबाट आफ्नो परिचय नखुलाई कुनै म्यासेज आएमा त्यसको जवाफ नफर्काउनु । पछि राजले फोन ग¥यो र उसको बारेमा भन्यो, ‘आनन्द तलाईँ त लक्ष्मी (नाम परिवर्तन) ले खुब सम्झीरहेकी छिन् नि ?’ सम्झेकी होली साथी न हो, के तैले मलाई सम्झिदैनस् र ? मैले राजलाई जवाफ फर्काएँ ।
मेरो यस्तो उत्तर सुनेर राज अवाक् भयो उ केहि बेर त कुनै बादल लागेको बेलामा हावाहुरी आएर पानी हराएको जस्तरी हरायो । मैले प्रसङ्ग मोड्दै भने भन् कति कामले फोन गरेको थिइस् अनि दिनहरु कसरी बतिउँदै छस् ? बस् यतिकै बस्दैछु, तेरो नियास्रो लागेर फोन गरेको भन्दै राजले फोन राख्यो । म काठमाण्डौ पुगेको केहि समयपछि राज पनि काठमाण्डौ पुग्यो उसले लक्ष्मीकोे बारेमा सबै कुराहरु मलाई भन्न थाल्यो । ‘तँलाई त लक्ष्मीले खुब मन पराउँदी रैछे, मसँग भेट हुँदा उसले नियमित रुपमा तेरो खबर लिने गरेकी हुन्छे’ राजले भन्यो, ‘तँ उसलाई खुब मन मन पर्छ रे, तलाई मन पराउने कुरा गर्दै थिई ।’
‘अरे छोड यार यो हाम्रो समय भनेको माया गरेर समय खेर फाल्ने समय होइन यार अझै उ त खास साथी किन यस्तो कुरामा विचार लगेकी छे, तैले राम्ररी उसलाई सम्झा है’ मैले राजलाई भनें । यतिकैमा हाम्रो आई एको रिजल्ट पनि आएछ, संयोगले भनौं या पढेकै भएर हो, पास भइएछ । यो परीक्षाको नतिजा आएपछि मैले पढाइको लागि पोखरा छोड्ने निर्णय गरें । पोखरा बसेर पढ्न थालियो भने मेरो पढाइ डिस्टर्भ हुने सम्भावना धेरै थियो, यसै कुरालाई आधार मान्दै म स्नातक पढ्ने भनेर पुनः काठमाण्डौ तिर नै छिरें ।
काठमाण्डौको धेरै कलेजहरुमा धाएँ, पासाङ ह्लामु, त्रिचन्द्र, मनमोहन, सरस्वती लगायतका कलेजहरुमा दुई महिना जति हल्लिएँ । यद्यपी काठमाण्डौको वातावरणका कारण त्यहाँ नपढ्ने मनसाय बनाएँ, पोखरा त्यति सफ र सुन्दर ठाउँमा बसेर पढेको मान्छे म अनि काठमाण्डौ किन मन पथ्र्यो र ? अन्ततः निर्णय बदल्दै म पढाइको लागि चितवन तिर सिफ्ट भएँ । चितवनको बसाईँ रमाइलै भइरहेको थियो, आफू त तराईकै मान्छे भएको भएर होला यहाँको गर्मीले खासै असर पार्दैन काठमाण्डौको प्रदुषण भन्दा यो गर्मी नै ठीक भन्ने मानसिकतामा म थिएँ ।
चितवन तिरै बसेर पढाइको बन्दोबस्त मिलाउन थालेँ । बिहानी समयमा कक्षा हुने भएको कारण दिनभरि बेकाम भइन्थ्यो, कहिले कता घुम्न गयो कहिले कता घुम्न गयो । जति सुकै हावा भएर डुलेपनि क्याम्पसमा हल्ला गरेर हिँडे पनि घरमा भने बेलुकाको समयमा एक डेढ घण्टा किताब हेर्ने गर्थेँ । पढाइ सुरु भएको तीन महिना पछि कलेज गएको भएर कोर्षहरु पनि निकै अगाडि बढिसकेको थियो । आधा भन्दा बढि कोर्ष त पढाइ भइसकेको रहेछ त्यो समयमा ।
कोर्ष निकै नै अगाडि बढेको भए पछि त कता कता हो पढाइ भएको केहि पनि पत्तो नहुने रैछ । साथीको सहायताले छुटेको पढाइलाई निरन्तरता दिएँ । मलाई सहयोग गर्ने साथी मध्येमा बागलुङकी एकजना साथी थिइन् जो अति सरल स्वभावकी र मिजासिलि थिइ । उसँग छोटो समयमा नै म नजिकीन पुगें । खै उसको साथमा हुँदा त अर्कै अनुभुति हुन थाल्यो यो मनमा, एक दिन उ कलेज नआएको अवस्थामा बिल्नु तरकारी खाएको जस्तो पो हुन थाल्यो मलाई त चितवनको बसाँर्इँमा । मलाई जुन कुरामा विश्वास लाग्दैनथ्यो त्यै कुरा भयो त्यो पनि एकोहोरो । मेरो मनको फिलिङ्स उसलाई भन्न सकिन मैले, कारण हामीबीच एउटा असल साथीको सम्बन्ध थियो, यस्तो कुराले हाम्रो सम्बन्धमा असर पुर्याउन सक्थ्यो ।
मैले उसलाई मन पराउने कुरा मेरो एकजना मिल्ने साथीसँग शेयर गरेको थिएँ, सुरुमा त उ पनि चुपचाप बसेको थियो । करीब एक वर्षपछि मैले जसलाई मन पराउँथे उसको बिवाहको कुरो छिनिएछ, संयोगले त्यै दिनमा साथीले उसलाई मेरो सबै कुरा बताइदियो । साथीको कुरा सुनेपछि उसले मलाई तुरुन्त फोन गरि र एक्कासी गाली पो गर्न थालि तिम्ले मनमा कुरा किन लुकाएर राख्यौ भनेर ? ‘तिम्ले मलाई मन पराएको कुरा मलाई नै भन्नु पर्थेन र ?’ उसले भनि ‘सायद तिमीले मलाई यो कुरा महिले नै बताएको भए मैले केही सोच्थें ।’ उसको कुरा सुनेर धेरै बेर म मौन बसेँ र वाक्य फुट्यो ‘हामी एक असल साथी तिमीलाई प्रेम प्रस्ताव राख्दा कतै हाम्रो सम्बन्धमा आँच आउँछ कि भनेर म चुपचाप बसेको हो ।’ उसको र मेरो पीडा एउटै रहेछ उसले भनेका कुराहरुबाट मलाई थाहा भयो ।
उसको विवाहको कुरा छिनिएपछि अब चाहेर पनि केहि हुन नसक्ने भएपछि मैले उसलाई सम्झाउन थालेँ ‘अब जे भयो छोड नयाँ जीवन तर्फ सोच तिमीलाई शुभकामना छ नयाँ जीवनको ।’ फोनमा करिव एक घण्टाको कुराकानी पछि हामीले फोन काट्यौँ । उसको दाइ र म एकदमै मिल्ने साथी पनि थियौँ सयद उसको दाइलाई हाम्रो बारेमा केहि पनि थाहा थिएन । दाइ चैँ ले बहिनीको बिहेमा निम्ता गर्यो, साथीको विवाह हुँदैछ, नजाउँ पनि कसरी ? गएँ मन गह्रुङ्गो बनाएर उसको विवाहमा ।
उसको परिवारसँग मेरो पहिलो भेट थियो उसको विवाह । गएँ सबैसँग भेटघाट भयो साथीको घर राम्रै सत्कार भयो सायद एक हप्ता पाहुना बनेर बसेँ म उसको गाउँमा । राम्रै घर पाएकी रैछे, अमेरिकी ग्रिनकार्ड होल्डर पति पाइछे । घरमा पुगेपछि दाइले भनेर बल्ल थाहा पाएँ । विवाहको दिन आयो, पहाडको ठाउँमा क्याटरिङ यता उती भन्ने कुरा नहुने रैछ । सबै आफै गर्नु पर्ने, मैले पनि आफूले सकेको काम सघाएँ । दुलाहा सहितको जन्तिको टोलीको आइपुग्यो । घरको सबै काम सकिएको कारण कोहि जन्तिलाई खाना खुवाउन लागे मेरो काम भने फोटो खिच्नेमा पर्यो । मसँग एउटा प्रोफेसन क्यामारा पनि थियो, फोटो पनि राम्रै खिच्थेँ, प्रोफेसनल फोटो ग्राफरको तालिम लिएको भएर पनि होला फोटोमा केहि गुणस्तरीयता थियो ।
त्यहाँ मैले क्यामेरा लिएर जानु नै मेरो ठूलो भुल भएछ क्यारे, फोटो खिच्ने काम पाएपछि बल्ल थाहा पाएँ । फोटो खिच्दै थिएँ एक्कासी उ मेरो क्यामेराको लेन्समा परि । यस्ती थिइ मानौ हेरेरै नअघाइने जस्ती, जति हेरे पनि हेरु हेरु जस्तो । त्यति बेला चन्द्रमा उदाएको भए पनि सायद लजाएर बादलको छायाँमा लिन हुन पुग्थ्यो होला । म त फोटो खिच्नको साटो उसैलाई हेर्न पो थालेछु टोलाउँदै ।
यतिकैमा कसैले बोलाएको आवजले झसङ्ग हुँदै फोटो खिच्नको लागि तयार भएँ । फोटो खिच्दै गर्दा हिन्दू धर्मानुसार बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो । यो मन भक्कानीन थाल्यो अब त्यो फोटो कसरी खिच्ने ? अब त्यहाँबाट उम्कीनको लागि यौटा बाहाना बनाएँ, पेट दुखेको । यसपछि सजिलै त्यहाँबाट म उम्केर आराम गर्न थालेँ । केहि बेरपछि डोली दिने काम पनि सकियो, विवाह भएको साथीले मलाई भेट्न खोज्दै रहिछ मैले भेटिनँ । उ निराश हुँदै कर्म घर गई । भोलिपल्ट म पनि आफ्नो गन्तव्य तिर फर्केँ ।
मेरो जीवनमा घटेको अप्रत्यासित यो कथा सुनाएपछि सानीले कुनै पनि प्रतिकृया दिइन । अनि मैले ‘के भयो लाटी किन नबोलेकी ?’ भनेपछि उसले केहि पनि होइन भन्दै संवाद अगाडि बढाइ । मैले प्राय उसलाई माया गरेर सानी वा लाटी भनेर बोलाउने गरेको थिएँ । यस दिन केहि बेरको कुराकानीपछि उसले आफू चितवन आउन लागेको कुरा मलाई बताई । खुसीको सिमा नै रहेन । माया गर्ने मान्छेसँग भेट हुने भयो भनेर उ आउने दिन गन्न सुरु गर्न थालेँ मैले ।
उ आफ्नो एकजना दाइ पर्नेको विवाहमा चितवन आउन लागेकी रहिछ । सायद असोजको २० गतेको कुरा हो उ दाइको विवाहमा यहाँ आएर मलाई फोन गरि । मैले अफिसबाट समय निकालेर उसलाई भेट्न गएँ । उसँगको भेटमा मुटुले छाति छेडेर निस्केला जस्तै भएर ढुकढुक गर्न थाल्यो गर्मी त्यति साह्रो नभएको भए पनि शरिरबाट चिटचिट पसिना निस्कन पो थाल्यो । म त उसको मायाले पानी पानी पो हुन थालेछु । केहिबेरको बातचित पछि म आफ्नो कार्यालय तर्फ फर्केँ उनीहरु पनि नयाँ दुलही लिएर गन्तव्य तिर लागे । उसँग भेट हुँदा अलि बेचैनी थिएँ छुटिएको केहि बेरमा नै मैले उसलाई म्यासेज पठाएँ मोवाइलमा ‘सरी सानी अगि तिमीसँग भेट हुँदा नर्भस हुन पुगेँ’ । यो र यस्तै अन्य म्यासेज अझै पनि मोवाइलको म्यासेजबक्समा सुरक्षित छन् । मेरो म्यासेज रिसीभ गर्ने बित्तिकै उसले फोन गरेर जिस्काउँदै भनि, – ‘हेर यस्तो मान्छेले पनि माया गर्छ ?’ मेरो उत्तर थियो, – ‘सायद आफ्नो भन्दा पनि धेरै माया भएको मान्छेसँग भेट भएर यस्तो भएको होला ।’
यतिकैमा दशै पनि आयो । अब मेरो व्यक्तिगत भन्ने कुरा केहि पनि थिएन । सबै वस्तु हाम्रो भइसकेको थियो । यतिसम्म कि कहिले काँही त उसले मेरो ट्वीटरबाट केटीहरुलाई जिस्काउँदी रहिछ म बनेर पछि अबजस मलाई आउँथ्यो । तर मैले अबजस सहेँ कसैलाई पनि होइन भनेर भनिनँ । कारण उसले अरुलाई जिस्काएको दिनमा मलाई भन्ने गर्थी, ‘लाटा मैले हजुरको एकाउण्टबाट फलानीलाई जिस्काएको थिएँ नि ।’ म चुपचाप बस्थेँ ।
हामी राति अबेरसम्म नेटमा कुरा गर्दै बस्ने गर्दथ्यौँ, अनि भोलि पल्ट बिहान जो चाँडै उठ्छ उसले अर्कोलाई उठाउनु पर्ने हाम्रो दैनिकी नै बनेको थियो । उसँग यति नजिकिएछु कि कुनै बेला फुर्सदमा भएँ भने उसैको मात्र खयाल आउने, अनि टोलाउन पुग्ने रहिछु । एक एक घण्टामा उसको फोन या म्यासेज आइरहन्थ्यो, उसको नआए म आफैले यताबाट फोन गर्ने गर्दथेँ । दिनहरु रमाइलै तरिकाले बित्दै थियो ।
दशैँमा उ मामाघर गइ, केहि दिन त हामीलाई निकै नै अप्ठेरो पर्यो । फोनमा कुरा गर्न नेटवर्कले अप्ठेरो पार्ने गरेको थियो । राति सुत्ने बेलामा एक अर्काको बोली नसुनी निन्द्रा नपर्ने लत नै लागिसकेको थियो । उ मावल हुँदा निकै अप्ठेरो पर्ने गरेको थियो, दशै पनि उ घरमा फर्की अनि केहि सहज भयो वातावरण । एकछिन फुर्सद मिल्यो भने कि फोन या त च्याटमा झुण्डिने त दिनचर्या नै बनेको थियो हाम्रो । दिनहरु रमाइलै सँग बितिरहेको थियो । दशैँ सकियो तिहारलाई स्वागत गर्ने तयारीका साथ सबैजना जुटिरहेका थिए, यतिकैमा उसले भेट्न भन्दै काठमाण्डौ बोलाई । यता आफ्नो भने छोड्नै नमिल्ने खालको जागिर थियो, यतिकै टार्दै बस्न म बिवस थिएँ । अझै भनौँ उसलाई केहि न केहि भनेर उम्कन खोजीरहेको थिएँ । उसले निकै नै हठ गर्दै दिइ, यतिकैमा तिहार नजिकीदै गएको थियो, उसको महिलाहरु निकै नै जिद्दी हुन्छन् बोलेपछि आफ्नो विचार परिवर्तन गर्दैनन् भन्न् मैले सुनेको थिएँ तर त्यो दिनमा मलाई अनुभव भयो । उसलाई भेट्न नगइ सुख नपाइने भए पछि अफिसमा विदा लिनको लागि यौटा जुक्ति निकालेँ । ‘मेरो माइला बा बेस्सरी बिरामी भएर टिचिङमा लगेका रहेछन्, भेट्न जानु पर्यो’ यति भनेपछि अफिसबाट बिदा मिल्यो । तिहार आउन ४ दिन बाँकी थियो । म काठमाण्डौँ हानिएँ अनि घरमा पनि गफ दिएँ काठमाण्डौँमा मेरो तालिम पर्यो म तिहारको अघिल्लो दिनमा मात्र घरमा आउँछु । म काठमाण्डौं पुग्ने बित्तीकै त्यहाँ गएर बस्ने होटलमा पुग्दा मामा पनि त्यहीँ रहेछन्, धन्न उनी घर फर्किन लागेका उनलाई पनि ढाँटे ‘मामा तालिममा म तालिम लिन आएको हो, तिहारको अघिल्लो दिनमा घर जान्छु होला ।’ यस पालाको तिहार मनाउन नहुने भएर पनि मलाई त्यति इम्पोर्टेन्ट लागेको थिएन, काठमाण्डौँ जानु पर्दा ।
म काठमाण्डौ पुगेकै दिनमा उसँग भेट भयो, मलाई भेट्न उ नयाँ बसपार्क आइपुगी । हामी रमाइला गफ गर्दै गोँगबुबाट ठमेल, न्यूरोड, बसन्तपुर, नागदह, बानेश्वर कालिमाटीका ठाउँहरु पैदलै डुल्यौँ । त्यो दिनमा मैले सन्तोष दाइ र प्रदिपभाइलाई पनि भेटेँ । काठमाण्डौ आउनुको बारे उनीहरुले सोध्दा तिनीहरुलाई पनि ढाँटे तर म यहाँ निर पक्रिएँ अनि बोलेरै टारेँ । शनिबारको दिनमा पनि सरकारी कार्यालयमा काम छ भनेर झुट बोल्दा म पक्रिएको थिएँ । उनीहरुले अलि अलि शंका गरेको भए पनि राम्ररी भेउ पाउन सकेनन् क्यारे । लक्ष्मीपूजाको भोलिपल्ट काठमाण्डौबाट सानी र म सँगै फर्कियौँ उसलाई धादिङ झर्नु थियो भने मलाई घरमा पुग्नु पर्ने थियो । यात्राको क्रममा अन्तरङ्ग कुराकानी गर्दै हिँडीएको थियो, कति खेर उ झर्ने ठाउँ आइपुगेछ पत्तै भएन, नारायणगढ तर्फ फर्कने बेलामा मलेखु कटेपछि उ झरी । त्यसपछि बसभरि मान्छे भए पनि म एक्लै भएँ । बीचबीचमा उसले फोन गरिरहन्थी ।
फेरि तिहारको यो तीन दिन हाम्रो सम्बन्ध पातलियो । उ धादिङबाट काठमाण्डौँ फर्केपछि हाम्रो सम्बन्ध पहिलेकै जस्तरी बित्न थाल्यो । राति अबेरसम्म गफिने अनि बिहान जो चाँडै उठ्छ उले अर्कोलाई उठाउनु पर्ने । दिनहरु रमाइलोसँग बित्दै गइरहेको थिए, यतिकैमा देशमा संविधानसभा सदस्यको निर्वाचनको सारगर्मी पनि एकाएक बढ्दै थियो । आफ्नो पेशाको कारण चुनावमा निकै नै व्यस्त भइयो, न खाने समय मिल्थ्यो न त समयमा नै सुत्न पाइन्थ्यो । सानीसँग पनि फोनमा मात्र कुरा हुन थाल्यो, सामाजिक सञ्जालबाट टाढिनु परेको थियो । प्रविधि साथमा भए पनि समय थिएन साथमा । यस्तैमा मंसिर १ गते समय निकालेर म नेटमा बसेँ सुरुमा नै उसको अकाउण्ट खोल्ने प्रयास गरेको थिएँ उसले पासवर्ड परिवर्तन गरिसकेकी रहिछ, जसरी बसन्तमा रुखले पालुवा फेर्छ । उसको व्यक्तिगत मामिलामा भनेर मैले कुनै प्रतिकृया जनाइनँ ।
सायद सम्बन्धमा के भएर कहाँबाट दरार उत्पन्न भएछ क्यारे फोन गर्दा समेत रिसिभ गर्न झिँझो मान्न थालि । फोन उठ्दैनथ्यो, उठिहाल्यो भने पनि नचिनेको मान्छेसँग फोनमा कुरा गरेको जस्तो व्यवहार गर्न थाली । के भयो भनेर सयौँ पटक सोधेँ तर केहि पनि भएको छैन भन्दै टार्दै टाढीन थालि । चुनावी माहौल सकियो देशमा, अलि हलुका महसुस हुन थाल्यो । मोवाइलमा म्यासेज पठाउथेँ उत्तर आउँथेन, अनि आजित भएर भ्वाइस मेल पठाएँ । पाँच मिनेटको भ्वाइसमेलको जिस्ट थियो, ‘मेरो उपस्थितिबीना समय बिताउन अप्ठेरो हुन्छ भन्ने मान्छे अचेल किन यसरी टाढा हुँदैछ्यौ ? आखिर मैले के गल्ती गरेको छु र यसरी सजायँ पाउँदै छु ?’ यो म्यासेजले उसलाई छोएछ क्यारे बल्ल रिप्लाई गरि, ‘प्लीज तपाइँले मलाई फोन नगर्नुस्, अ बिचलित हुन्छु तपाइँको अवाज सुनेर, मैले तपाईँलाई मलमको रुपमा प्रयोग गर्न पुगेछु, सरी मलाई बिर्सीदिनु ।’ उसको रिप्लाईले म अतालिएँ, भक्कानिएँ, सायद आफ्नो कुनै अङ्गमा ठूलो बज्र प्रहार भएको जस्तो पीडा हुन थाल्यो ।
मेरो न कुनै गल्ती न कुनै दोष थियो, उसले मेरो मायामा कुठाराघात गरि । यदि उसले मसँग टाढिनुको चित्त बुझ्दो जवाफ दिँदी हो त म पनि अबुझ त कहाँ थिएँ र ? मलाई पनि थाहा छ मान्छेका बाध्यता र विवसता धेरै हुन्छन् । माया प्राप्ती मात्र होइन समर्पण पनि हो भन्ने कुरा मैले राम्ररी जानेको थिएँ । तर समर्पण के का लागि ? यो उत्तर त मैले पाउनु पर्यो नि । चित्त बुझ्दो जवाफ नै नपाएपछि ……. जीवन पीडा नै पीडाले ब्याप्त भयो । सामाजिक सञ्जालबाट पनि टाढिदै गएको थिएँ । त्यता गायो कि मन खिन्न हुन्थ्यो । यतिकैमा उसले मलाई ब्लक गर्न पुगिछ । म एकसुरे भएको थिएँ ट्वीट त गर्थेँ तर त्यसमा पीडा धेरै हुने रैछ, अनि कसैप्रति तिखो बाण तर कसैको नाममा पनि बाण हानिएको थिएन ।
उसलाई र मलाई चिन्नेहरुले मेरो बारेमा उसलाई चुक्ली लगाउँदा रहेछन् । उसले मोवाइलमा म्यासेज गर्दै मेरा ट्वीट प्रति आपत्ती जनाउन थालि तर मेरा ट्वीटमा उसको नाम कतै पनि उल्लेख गरिएको थिएन । उसलाई मैले एकफेर फोन गरेर सोधेँ ‘मलाई किन ब्लक गरेकी ?’ उसले भनि, ‘मैले तपाईँलाई ब्लक गरिनँ भने तपाइँलाई भुल्नै सक्दिनँ त्यसैले ब्लक गरेको हो ।’ त्यति धेरै मायाका आशा देखाउने मान्छे आज एकाएक टाढिदै गएपछि मुटुमा चोट त लाग्ने नै भयो । अनि मनमा पनि पीडाका बादलहरु मडारिन थाले, अलि कति ठाउँ पाए कि बादलरुपी मनबाट आँसु रुपी पानी बन्दै आँखाको सहायताले बरबर झर्न सुरु गर्दथे । यसपछि मन बिचलित भएर सामाजिक सञ्जाललाई नै निस्कृय बनाएर बसेँ । सामाजिक सञ्जालभन्दा टाढा बसेर उसलाई भुल्न झन् मुस्किल भएर पुनः यता आएँ ।
दिन जसो तसो काट्ने गरेको भए पनि रात काट्न गाह्रो हुने गरेको थियो । न निन्द्र पथ्र्यो झुक्केर निदाए पनि सपनामा आएर झस्काउने गर्दथी । आफूलाई रिकोभर गर्न निकै कसरत गर्न पर्यो । बल्ल सामान्य अवस्थामा फर्किएको छु तर अझै पनि कसैले उसको याद दिलाइदिन्छन् अनि मनमा पीडाका सुलहरु दौडीन थाल्छन् । एक्कासी मुटु फुलेर आउँछ । उसले दिएको पीडामा खाटो बसेको भए पनि चोट पूरै निको भने भएको छैन । सानो ठक्कर लाग्यो भने पनि चोट लागेको ठाउँ दुख्ने रहेछ । जसरी खाटो बसेको घाउमा लाग्दा रगत आउँछ त्यसैगरि पीडाले मन भरिन्छ । उ मनमा नै छे तर टाढिएकी छे, साथमै छे तर मेरो लागि मरिसकेकी छे । अथवा उसले मेरो लागि आफूलाई मारेकी छे । कसैको लागि आफूलाई समर्पपण गरेकी छे रे उसलाई जसले पहिला पीडा दिएको थियो । मलाई पीडा दिएर उसलाई पहिला पीडा दिने मान्छेको सामु लुपुक्क टाँसिदै छे भन्ने सुनेको छु । खुसी छे खुसी नै रहोस् जीवन भरि शुभकामनारुपी शब्दगुच्छाहरु तिम्रो लागि ।
अस्तु । । । ।
– नवलपुर, मध्यविन्दु-३, नवलपरासी
बसाईँ : भरतपुर
(स्रोत : रचनाकारको ब्लगबाट सभार)