~सीमा आभास~
घङ्गारुको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अन्जुलीभरि पानी उघाएर भन्छिन्-
फेरिएनन् यी रुखका पातहरु
संग्लिएन सप्तकोशी
चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार
बाबै !
आस्थाको तोरण चुँडियो
बिश्वासको छानो भत्कियो
फूलको रङ हरायो
रगतले नुहाएर देउराली रोयो
साँझको घामसँग गएका
नातिनातिना फर्किएनन्
लामो सास तान्दै भन्छिन्-
उफ !
ताराका लामसँगै
इतिहासका पाना फेरिए
लोककथा दन्त्यकथा गीतका धून श्लोक फेरिए
अँहँ ! फेरिएनन्
आँगनमै घोप्टिएका
चिसा काला अमिला…
ऋतु गीतहरु
सन्तान हराएको दलानमा बसेर
सुर्तीको लामो सर्को तान्दै भन्छिन्-
दैलाको सङ्घार लिप्ने रातोमाटोमा
छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा
छोरीको रङ छ
सम्झनाको नमिठो छाँया लिपेर
औँलाले तस्विर कोर्छिन्-
आँसुका गीतको
नफेरिएका ऋतुका गीतको
पूर्णचन्द्रमूनि उभिएर भन्छिन्-
बुझिराखेस् बाबै !
फूलको रङमा मेरा नातिनातिना छन्
जो हराए आँखाबाट
जो भेटिएनन् आजसम्म
यीनैलाई सम्झँदै
मेरो आँसुमा-फूल चरा झण्डा माटो…
रोईरहे
यी नभेट्टिउन्जेल
आँखामा सप्तकोशी छचल्किरहनेछ
सम्झिराखेस् बाबै !
आँखामा सप्तकोशी छचल्किरहनेछ ।
ओखलढुङ्गा
हालः- त्रिभुवन विश्वबिद्यालय किर्तिपुर
अङ्ग्रेजी केन्द्रीय विभाग