कविता : “डेज अफ ग्लोरी” र लज्जित इतिहास

~टंक वनेम~Tanka Wanem

बाँच्नेहरुको लागि
इतिहासको निर्माण हुँदै गरेको वेला
ज्ञान,विज्ञान र धन दौलत
भारतवर्षबाट अन्यत्र जान्थ्यो
धोका,षड्यन्त्र,फट्याई र कुटनीति
युरोपबाट एशिया आउँथ्यो
हो त्यहीँ –
स्वर्णभूमि र पावनभूमि भएको बेला
पाश्चात्यहरुको गिद्धे दृष्टिले
बुकीसुनको पहाड देख्यो
खैरो पखेट्टामा सुनको जलप लगाउँदै
षड्यन्त्रको नङग्रा तिखारेर
साम्राज्यवादी पाइतलाले
बङ्गालको खाडी टेक्यो।

टिष्टा र काङ्गडाले पालो कुर्नै परेन
बारी लेटर र मेजर पिटर आइ पुगे
२ हजार राइफलले मधुवनी थर्काउँदा
बख्तारसिंहको कर्के सङ्गीन र
पत्थरकला बन्दुकको
के जोड चल्थ्योर?
मध्य क्षेत्रको मोर्चा तोड्न
मेजर जनरल बन्नेट दानापुर आइ पुगे
ब्राड्सा प्यारिस सम्बलपुरको बाटो हँदै
आठ हजार राइफल लिएर अघि बढे
पश्चिम मोर्चा तोड्दै
सुलिमान टि गोरखपुर आइ पुगे
आत्याधुनिक हतियारको बलले
पत्थरकोट देखि बनगाइ सम्मको
स्वाधीनता तोड्यो
त्यसरी नै पश्चिम मोर्चा
तोपची,घोडचढी,मेवाती
रुहेला र पैदल फौजले
कटारमलको छाती टेक्यो।

हो महोदय!
यहीँ रीतले
हाम्रो स्वाधीनता एक एक गरेर
माटोमा मिलाइ छाडे
कुमाउ,गढवाल,जैथक
ह48डर,कोथेर,पस्ति
नाहान,कुमारसेन,सुवाढ
नैनटिप्पा,सिरमोर,बिलासपुर
सूर्यगढ,नारायण गढ,रुपर
मलाउँ,देउथल,चम्बी गढ
र देहरादुनको नालापानी
हाम्रो हातको मुठीबाट
जबरजस्ती खोसियो।

हाम्रो जिकिर छ
हामी त्यसै डायास्पोरिक भएका होइनौं
हाम्रो इतिहास निर्ममतापूर्वक मारियो
विशाल आमाको घाँटीमा
दिन दहाडै खुँडा रेटियो
हाम्रो पसिनाको श्रम लुटेर
बहादुर बनाइयो
अप्रवासी र
नोस्टलजियामा बाँच्न बाध्य पारियो
फिरङ्गी जादुले लठ्याएर
स्वार्थको घडा भरियो
हामीलाई राम्ररी थाहा छ
इतिहासले पढाएको
अमानवीय क्रुरताको पाठ
ज्यादतीले रङ्गिएको नमिठो अतित
परिवर्तनको नाममा
छलकपटको अनुच्छेद
स्वर्ण–भष्म घसेर हिराको मोल
अनि थाहा छ
दासत्वको दलदलमा गाड्ने
त्यहीँ इतिहासका तोपहरु
हरियो घाँस देखाउँदै
बूढी गाई लडाउँने निति
धृर्त बाघको खैरो आँखा
हाम्रो छातीमा संगीन घोचिन्दा
फष्टाएको व्यापार र
त्यहीँ व्यापारले निर्माण भएका
गगनचुम्बी महलहरु।

हो महोदय!
के सत्यको सर्वाङ्ग छोप्न सकिन्छर?
वेलायती सभ्यताको सडकमाथि
गोरखाली लासको चाङ थुप्रिएको
ओभाएका छैनन्
कौडीको भाउमा बिकेका
पसिना र विधुवाहरुको आँसु
हो अब –
त्यहीँ अध्यायको अन्त गर्न
म्याग्नाकार्टाको माटो
विग्बेल्को अगाडी उभेर
एलान गदैछौ हामी
“कटअफ डेट” न्याय संगत छैन्
“डेज अफ ग्लोरी” हेरेर लज्जित होउ।

ज्यानको उत्सर्ग,आहुति र
इमान्दारीले साटेका
भिसी,एमसी तक्माहरु छातीमा झुन्ड्याउँदै
मानव अधिकारको गलामा खादा ओढाएर
तिम्रो ढोँगी आडम्बरी अनुहार
प्रदर्शन गरी रहेछौं
नियाँ–निसाफ माग्न
युद्धको लाष्ट बाउण्डमा
नाङ्गो खुकुरी लिएर
दुश्मनहरुलाई धावा बोले झैं
धावा बोली रहेछौं
आयो गोर्खाली! आयो …….
घण्टाघरको ढोका खोल
दुई शताब्दी अघि शुरु भएको दलन
सधैँको लागि अन्त्य हुनु पर्छ
कि मर्न दे कि न्यायको मकलमा बत्ति बाल
सत्याग्रह शुरु भयो ………..

– ताप्लेजुङ् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.