~आशांक उपाध्याय~
पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा |
लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा ||
पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर |
उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा ||
मायामा मग्न भंगेरो, भंगेरी साथ बचेरो |
देखियो प्रेम स्वरूप, खेतको डिल आलीमा ||
हुल यो बाटो गोरेटो, घोच्दोछ तीर शिरेटो |
गुञ्जियो खुल्दो बिहानी, गाग्रीको धुन तालीमा ||
नारेर गोरु जुवामा, बदल्दो बाँझो रुवामा |
देखेर स्वप्न मुरीको, रमायो धर्ति फालीमा ||
हातमा लौरो लगानो, लाग्दैन जोश पुरानो |
असारे हिलो बन्दोछ , हलीको लक्ष्य बालीमा ||
गोठमा लैनो गाई छ, पगार्ने बाच्छो भाई छ |
छोराले मुख मिठ्यायो, रमायो दुध छालीमा ||
– कालिन्जोर-२, सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)