कविता : आत्महत्याराको देश

~राजेन्द्र तारकिणी~

यो देशको प्रथम प्राइममिनिस्टरले
घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि
महाशय,
देशले कति क्युबिक मिटर विष पियो
के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित?

लण्डन म्युजियमबाट भीमसेनको टाउकोले
क्यालकुलेशन गरिरहेको भए
ऊ बिल्कुल प्रश्न गर्नेछ आज–
त्यसपछि किन कोही प्रधानमन्त्री
सिंहदरबारमा झुण्डिएको खबर आएन?

रगतले चामलको रङ साट्न
दुई वर्षअघि खाडी पुगेको वीरभान कामीले
किन गर्‍यो दुई हजार ७३ औँ आत्महत्या?
कोरियाको अनकण्टार धानखेतमा
किन फेला पर्‍यो हर्ष बहादुरको सुसाइड नोट?
प्रथम राष्ट्रपतिको जीवनी लेखेर
भूर्तेल किन ट्वाइलेटभित्र झुण्डिनुपर्‍यो?
क्रान्तिका गीत अधुरै छोडेर रिमालले किन हाम्फाल्यो?
जहानको अधुरो पोइट्रेट छाडेर
किन झुण्डियो खालिङ?
कालो धनको सेतो महलअगाडि
यो देशको इमानदार कर्मचारीले
किन रोज्यो एघार हजार उन्नाइसौँ आत्महत्या?

नागरिक आत्महत्याको अल्जेब्रा
कति धेरै जटिल छ हगि, भीमसेन?

आत्महत्या पागलको काम
– भन्नेहरूको सद्देपनमै शङ्का लाग्छ मलाई
आत्महत्या कायरको खेल
– भन्नेहरूको बहादुरीमै शङ्का छ
आत्महत्या मनोरोग कि मनोसामाजिक?
आत्महत्या कायरता कि विद्रोह?

तर अब ‘बहादुर’को देश पढ्न
विन्चेष्टर गोर्खा म्युजियममा जानू
महाशय,
‘आत्महत्यारा’को देश पढ्न मेरै देशमा आउनू
भर्खरै मात्र देख्नेछौँ तिमी–
मृगौलाको रोगी अस्पतालको छतबाट हाम्फालिरहेको
अन्तरजातीय जोडी एउटै डोरीमा तुर्लुङ्गिरहेको
गरिबीको रातो च्याउ खाएर चेपाङ परिवारले मुक्ति लिएको
भूकम्पपछिको विरहको त्रिपालमुनि
नानीमैयाँ आफ्नै घाटी थिचिरहेको….

भीमसेन जरुर प्रश्न गर्नेछ-
कति आत्महत्याराले
अन्तिम सास आफ्नै माटोमा फेर्न पाएन,
कतिले दुई पैसाविना विष पनि सहज रूपले पाएन,
आजसम्म सिंहदरबारमा
किन कोही प्रधानमन्त्री झुण्डेको खबर आएन?

पहिलोपोस्ट डट कम मा प्रकाशित
– न्वादेउ- ६, बैतडी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.