~श्रीधर खनाल~
प्रस्तूती : माणिकरत्न शाक्य
शाक्य– हास्यव्यङ्ग्य लेख्नु भनेको एक प्रकारले गाली गर्नु होइन ?
खनाल– प्रकारान्तरले त्यसलाई गाली भन्न सकिएला तर हास्यव्यङ्ग्य लेख्नु र गाली गर्नु एउटै कुरा होइन । हुन्थ्यो भने कोही पनि लेखकले म हास्यव्यङ्ग्य लेख्छु भन्नुको सट्टा म गाली गर्छु भन्नु पर्ने थियो । अशिष्ट, असभ्य, अश्लिल र अभद्र कुरा गालीगलौज हो भने त्यसको विपरित शिष्ट, सभ्य, शालीन र भद्र आलोचना हास्यव्यङ्ग्य बन्छ ।
शाक्य– कुनै पनि व्यङ्ग्यकार, कलाकार तथा कार्टुनिष्टलाई उसको कृतिका आधारमा कसैले मार्ने धम्की वा मुद्दा हालेमा हामीकहाँ स्थापित निकायले त्यसको प्रतिकार गर्ला त ?
खनाल– नेपालमा चरित्रहत्या अभियान हर–क्षेत्रमा चलिरहेको हुनाले यहाँ कसैको लागि कोही अघि सर्दैन ।
शाक्य– हामीकहाँ औँलामा गन्न सकिने व्यङ्ग्य–हस्ती भएका बेला तपाइँले उहिल्यै दामीदामी लेखी नामी भैसक्नु भएर पनि ‘नमरी संसार देखिन्न’ बाहेक अरू कृतिको न्वारन नराउनु र वर्षभरीमा एक–दुई मात्र गहकिला रचना लेखिटोपल्नुको खाँटी कुरो चाहिँ के होला ?
खनाल– वर्षमा एकदुई पटक भन्ने शब्दलाई पचास साठी पटक पु¥याउन सक्नुहुन्छ । तर आफ्ना कृतिहरूको न्वारन गर्ने हकमा चाहिँ सरस्वती–पुत्रले लक्ष्मी–आमाको सराद्धे गर्न नसकेको जस्तो हो । गहकिलो र हलुको भन्ने विषयमा चाहिँ हलुकासँग हेर्दा हलुकै देखिने र त्यसको उल्टो हेर्दा गहकिलो देखिने प्रष्ट छ ।
शाक्य– तपाइँलाई अहिले हास्यव्यङ्ग्यकारहरू कुम्भकर्ण बनेजस्तो लाग्दैन ? लाग्छ भने यसको खास कारण के होला ?
खनाल– प्रजातन्त्रको नाममा भेडातन्त्र चलाइएपछि कुनै विधाका लेखक पनि कुम्भकर्ण हुन बाध्य हुन्छन् ।
शाक्य– कतिपय समालोचकहरूका दृष्टिमा हास्यव्यङ्ग्यको समालोचना गर्नु नै मूर्खता मानिन्छ । यस्तो प्रवृत्तिको बोलीलाई गोलीमा मिसाएर ठाडै कान समाती फित्कौलीको मट्याङ्ग्रा पार्न सक्नुहुन्छ ?
खनाल– आपूmले सिर्जना गर्न नसकेर अर्काको सिर्जनालाई ‘ताक परे तिवारी नत्र गोतामे’ बनेर आलोचना गर्ने छद्मभेषी समालोचकहरू यसै पनि मट्याङ्ग्रिएका छन् । यसरी मट्याङ्ग्रिइसकेकालाई फेरि मट्याङ्ग्रो पारिरहनु पर्छ र ?
शाक्य– हास्यव्यङ्ग्यका गम्भीर पाठकहरूको भनाइ यस्तो पनि भन्ने सुनिन्छ– “हास्यव्यङ्ग्यका स्रष्टाहरू भित्तैमा पुग्ने गरी व्यङ्ग्य कस्न सक्छन् तर हास्य निकाल्नु पर्यो भने बाउ म¥या जस्तै गर्छन् ।” यो भनाइप्रति यहाँको विचार ?
खनाल– आफू रोएर अरूलाइ हँसाउनु पर्ने युगमा व्यङ्ग्य–विनोदीहरू व्यङ्ग्यमै मात्र सीमित रहनु अस्वाभाविक देखिन्न ।
शाक्य– हास्यव्यङ्ग्यका स्रष्टाहरूलाई सम्मान, पुरस्कार र अभिनन्दन गैरसरकारी क्षेत्रबाट जति भइरहेका छन् त्यसको दाँजोमा प्रज्ञा, साझा प्रकाशन वा सरकारी क्षेत्रबाट यी कुराहरूमा चासो नराख्नुको तात्पर्य के होला जस्तो लाग्छ ?
खनाल – हास्यव्यङ्ग्यको ज्वलन्त उदाहरण भनेको नै त्यही हो ।
शाक्य– हास्यव्यङ्ग्यलाई मिति पुग्ने गरी तपाइँले अथ्र्याउनु पर्दा कसरी अथ्र्याउनुहुन्छ ?
खनाल– मैले मानिसको जीवन नै एउटा हास्य हो र जीवन–प्रणाली नै एउटा व्यङ्ग्य हो भन्ने ठानेको छु । त्यसैले पनि मलाई हास्यव्यङ्ग्य पूर्वक सोच्न, बोल्न, व्यवहार गर्न र लेख्न मन लाग्छ ।
शाक्य– ‘तीनजना तीनतिर यता न उता” भनेझैँ कार्टुनिष्ट, हास्यव्यङ्ग्य स्रष्टा र कलाकार यी तीन तत्वलाई एउटै समूहमा मिलाउँदा जनवल तथा व्यङ्ग्यवल बढ्ला जस्तो लाग्दैन ?
खनाल– लाग्दैन । किन भने एक्लै बसेर आफ्नो कार्य गर्दा जति स्वतन्त्रता र फराकिलो क्षेत्र पाइन्छ त्यति अरूसँग मिलेर गर्दा पाइँदैन । पारस्परिक हस्तक्षेप र भारी बोकाइले तीनै क्षेत्रका स्रष्टाहरू थिचिन्छन् ।
शाक्य– नेपाली हास्यव्यङ्ग्यको एउटा महत्वपूर्ण टौवा रहेको कौवा प्रकाशन आजकल किन हौवा भइराखेको छ । किन होला ?
खनाल– कौवा प्रकाशनको पदोन्नति भएर गरुड प्रकाशन बनिसकेको हुनाले हुनसक्छ ।
शाक्य– हास्यव्यङ्ग्य यतिबिघ्न जनप्रिय भैकन पनि यसको श्रीवृद्धिमा अपेक्षित काम हुन नसक्नुको कारण के हो जस्तो लाग्छ ?
खनाल– मनुष्य जीवननै हास्यपूर्ण व्यङ्ग्य हो भन्ने कुराले नै तड्कारो पार्छ ।
शाक्य– हास्य कलाकारहरू भन्छन्– गहकिलो रचना पाउन नसकेका कारण आफैँ लेखी अभिनय गर्छौँ ।
हास्यव्यङ्ग्यल लेखक भन्छन्– कुनै पनि कलाकार रचना माग्नै आउदैनन् । तपाइँ कलाकार तथा व्यङ्ग्यकार भएका नाताले यो मुद्दालाई कसरी छिनोफानो गर्नुहुन्छ ?
खनाल– वास्तविकतालाई देख्न नसकेर यी दुवै भ्रममा अलमलिएका छन् । त्यसैले परस्परमा अवान्छनीय दोषारोपण गर्दैछन् ।
शाक्य– तपाइँ कलाकार, व्यङ्ग्यकार, उपन्यासकार, पत्रकार आदित्यादिमा दह्रोसँग उभिइसकेको व्यक्ति हुनुहुन्छ । यद्यपि टुप्पी समाउने विषय चाहिँ कुन होला ?
खनाल– पछाडि कारैकारको पुच्छर थुप्रो जोडिएका हुनाले बाँकी एउटा बेकार पनि त्यसमा थपिदिनुस् ।
शाक्य– प्रकाशहरूले सबै स्रष्टाहरूलाई ठग्दै आइरहेका छन् भनिन्छ । ठगिनेमा तपाइँ पनि हुनुहोला । अब भन्नुस् नठगिने उपाय चाहिँ के हो ?
खनाल– मैले अरूलाई ठग्न नसकेको हुनाले आफू कति र कसरी ठगिएँ भन्ने प्रश्न उठाउनै छोडी सकेँ ।
शाक्य– हास्यव्यङ्ग्यमा बाढी ल्याउन यहाँको विचारमा कस्तो थप्पड हान्नुपर्ला ?
खनाल– देशका भएभरका समालोचकहरूलाई एउटै धोक्रोमा हालेर बाढीमा बगाइदिन सक्नुपर्छ । अनि मात्र हास्यव्यङ्ग्यको लहरले बाटो पाउँछ ।
शाक्य– घतलाग्दो हास्यसहितको कुनै संस्मरण सुनाइ दिन सक्नुहोला ?
खनाल– वि.सं.. २०१२ सालमा म पाल्पा जाँदै थिए । बुटवलबाट मस्याम हँुदै मादीको फाँट काटुन्जेल बाटामा भेट भएका डोकेहरूले मलाई नेपालबाट आउनुभएको हो भनेर सोधे । गाउँघरका मानिसहरू काठमाडौँलाई नेपाल भन्दारहेछन् भन्ने ज्ञान मैले पाएँ । तानसेनमा बसेको केही दिनपछि एउटा ढुङ्गेधारामा नुहाउन गएँ । त्यहाँ मुसलमान नारीहरू लुगा धुन लागेका रहेछन् । मलाई देखेर उनीहरूले सोधे ‘कहाँबाट आउनु भो ?’ मैले उनीहरूबाटै पाएको ज्ञानअनुसार नेपालबाट आएको भनिदिएँ । त्यसमध्येकी एउटी नारीले व्यङ्ग्यपूर्वक हाँसेर मलाई फेरि सोधिन् “यो पनि नेपाल नै होइन र ?” । उनको यो प्रतिप्रश्नले नाजवाफ भएको क्षण कहिल्यै बिर्सन सकेको छैन ।
शाक्य– हास्यव्यङ्ग्य लेखनमै रमाउनाका कारण के हो ?
खनाल– साहित्यका अरु विधा वा शैलीमा कल्पनाको भर पर्नुपर्छ जुन असत्य पनि हुनसक्छ । हास्यव्यङ्ग्यमा आफूले देखेका र भोगेका कुराहरूमै भर गर्नुपर्दा सत्यम् शिवम् सुन्दरम् हुन जान्छ, त्यसैले ।
शाक्य– हास्यव्यङ्ग्यमा तपाइँ कोबाट प्रभावित हुनुहन्छ ?
खनाल– संस्कृत साहित्यका केही अज्ञात कवि, अङ्ग्रेजी साहित्यका मार्कट्वेन र नेपाली साहित्यका लक्ष्मीप्रसाद देवकोटाबाट मैले प्रोत्साहन पाएको छु ।
शाक्य– केही नेपाली समालोचकहरू भानुभक्तदेखि देवकोटा अघिसम्मका सबैलाई हास्यव्यङ्ग्य लेखक मान्छन् नि ?
खनाल– म मान्दिनँ । लक्ष्मीप्रसाद देवकोटोका अगाडि उनी अघिका त कुरै नगरौँ अहिलेसम्मकै हास्यव्यङ्ग्य लेखक केही पछाडि नै पर्छन् ।
शाक्य–आफ्ना समकालीनहरूमा तपाईंको आँखाले हेर्दा को चाहिँ बढी सफल भएको देख्नुहुन्छ ?
खनाल– नराम्रो कोही पनि छैन । को कति मात्रामा राम्रो छ भनेर छुट्याउने काम पाठकहरूको हो ।
शाक्य– नयाँ पुस्ताका हास्यव्यङ्ग्यकर्मीहरूलाई तपाइँको सन्देश केही छ कि ?
खनाल– स्वादिलो भयो भन्दैमा विष खाँदा जुन फल पाइन्छ हासो उठ्छ भन्दैमा र व्यङ्ग्य कस्ने भन्दैमा पूर्वाग्रह सहितको व्यङ्ग्य र विवेकले पचाउन नसक्ने हाँसो सिर्जना गर्नु गराउनु लेखक, पाठक, प्रकाशक, सबैका लागि अवान्छनीय छ । वर्तमानमा यस्ता कुराले काम चलाउन सके पनि भविष्यले यस्तो लेखनलाई सराप्नेछ ।
शाक्य– हास्यव्यङ्ग्यकार रामकुमार पाँडेका बारेमा केही भन्नुपर्दा ?
खनाल– स्तरको कुरा छाडी समष्टिमा समाजको सोचाइस्तर पाँडेजीले बुझेको जस्तो लाग्छ ।
शाक्य– आजकलका हास्यव्यङ्ग्यकारलाई कविताबाट व्यङ्ग्य गर्नोस् न ?
खनाल– हास्यको व्यङ्ग्यको यो छुसी विधा
भन्छन् गाउँछन् लाहुरे सदा
कोही छन् आशले लम्किने छिटो
कोही छन् त्रासले थर्किने छिटो ।
हास्यमा व्यङ्ग्यमा मात्र लेखेर नै
सत्यको फाँटमा मात्र टेकेर नै
छन् बढेका अगाडि नरोकीकन
तीन कौडी भनाइ खपी हेरन ।
(नेपाली हास्यव्यङ्ग्य लेखनका क्षेत्रमा विभिन्न उपनामले चर्चित हास्यव्यङ्ग्य हस्तीको नाम हो श्रीधर खनाल । वि.सं. १९८८ सालमा त्रिपुरेश्वरमा जन्मनुभएका ठट्यौलो तथा हक्की स्वभावका निबन्धकार खनालका ‘नमरी संसार देखिन्न’ (निबन्धसङ्ग्रह) र ‘उल्लीविल्ली’ (हास्यव्यङ्ग्य लेखसङ्ग्रह) प्रकाशित छन् । निबन्धका अतिरिक्त उहाँका फुटकर हास्यव्यङ्ग्य कविता, गीत र प्यारोडीहरू पनि प्रशस्तै छन् । खनालले दर्जनौँ जासूसी उपन्यासका लेखक, अनेकौँ चलचित्रहरूमा अभिनय र विभिन्न पत्रपत्रिकामा स्तम्भकार भई आफ्नो बहुमुखी क्षमता प्रस्तुत गरी सक्नुभएको छ । विभिन्न सङ्घ–संस्थासँग संलग्न रहेर पनि बचेखुचेको समयलाई सदुपयोग गर्न रुचाउनुहुन्छ । उहाँ हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट दुई पुरस्कार ‘भैरव पुरस्कार (२०५०)’ र ‘वासुदेव लुइँटेल पुरस्कार (२०५६)’ द्वारा सम्मानित हुनुभएको छ । नेपाली सामाजिक जनजीवनका अँध्यारा पक्षहरूको स्वाभाविक चित्रण गर्दै प्रहारक व्यङ्ग्य गर्ने हास्यव्यङ्ग्यकार श्रीधर खनालसँग समसामयिक हास्यव्यङ्ग्यका बारेमा फित्कौलीका निम्ति माणिकरत्न शाक्यले गर्नुभएको वार्ताका प्रमुख अंश प्रस्तुत छ ।) –सम्पादक
– काठमाडौँ
‘फित्कौली’ अङ्क ८ बाट
(स्रोत : फित्कौली डट कम)