~मधुश्री~
एकै छत मुनि हुर्कि बढी ठूला भयौँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
अधिकार लेख्थ्यौ तिमी ब्यवहार खोज्थेँ मैले
समानता भन्थ्यौ तिमी खण्डहर देख्थेँ मैले
वाहवाह तिम्रो हुँदा निशाना म भएँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
हावा बोल्दै, फूल हाँस्दा, मान्छे सदा सुखी ठान्थ्यौ
पसिना र रगत ती झरनाको पानी भन्थ्यौ
सत्य त्यसो हैन भन्दा उग्रवादी भएँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
झूटो सत्य हुन्न कठै आफ्नै पासो पर्यौँ तिमी
ज्यू-ज्यू हजुर भन्दाभन्दै नफक्रिँदै झर्यौँ तिमी
उकाली यो ओराली त्यो वारीपारी भयौँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
तिम्रो आँशु पानी हुँदा मेरो आँशु क्रान्ति हुन्थ्यो
तिम्रो पिडा कुण्ठा बन्दा मेरो पिडा बिस्फोट हुन्थ्यो
भिन्न यति तिमी कवि म बिद्रोही भएँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
मधुश्री
२३ असार २०६८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)