~अमर गिरी~
इतिहासको अँध्यारोमा
खनिएका थिए
तिम्रा यात्राका डोबहरू
दुःखदायी मूर्च्छनामै इतिहासको
शिलान्यास गरिएको थियो
तिम्रो राजप्रासादको
तर आज
सबै थोक बद्लिएको छ महाराज
समय ब्यूँझिएको छ
इतिहासको मूर्च्छनाबाट ।
मेरा माता
मेरो बा, बाजे र जिजुबाजेहरू
एउटा दुःखद इतिहास छ उनीहरूको
मेरो जस्तै
जसले गुमाएका थिए आफ्नो आकाश
जसको हराएको थियो आफ्नो धर्ती
कुनै जून र ताराहरू थिएनन् उनीहरूका
तिमीले खोसेका थियौ सबै
बिल्कुल तिमीले
ती सबै निर्वासित थिए आफ्नो धर्तीमा
अँध्यारो श्रापित चेतनामा टेकेर
अग्लिरह्यो तिम्रो दरबार
निक्लिरहे तिम्रा सिपाहीहरू
विजय अभियानमा
तर आज
सबै थोक बद्लिएको छ महाराज
समय ब्यूँझिएको छ
इतिहासको मूर्च्छनाबाट ।
तिमी अझै
आफ्नो किल्ला मजबुत पार्न कस्सिएका छौ
आदिम मस्तिष्कको बैसाखी टेकेर
तिमी समयलाई
आफ्नो मूर्च्छनानुकूल हिंडाउन खोजिरहेछौ
तिम्रो चाहना विपरीत
कुनै पातहरू नहल्लिऊन्
पन्छीहरू गीत नगाऊन्
कोही नहिंडोस् दायाँबायाँ
आँखाहरू तलमाथि नगरून्
तिम्रा चाहना विपरीत
केही पनि नहोस् यस धर्तीमा
जाली चेतनाको खतरनाक उज्यालोमा
तिमी आफूलाई
सुरक्षित गर्न खोजिरहेछौ
तर आज
सबै थोक बद्लिएको छ महाराज
समय ब्यूँझिएको छ
इतिहासको मूर्च्छनाबाट ।
म तिमीबाट
अपहरित आफ्नो आकाश चाहन्छु
आफ्नो गीत, संगीत र प्रीत चाहन्छु
म सक्तिन
तिम्रो निरंकुश पदचापमुनि
मुर्झाउँदै गरेको देश हेर्न
म सक्तिन
मेरा हजुरबाहरूले जस्तै
विष्णुको अवतार भन्ठानेर
तिम्रो लुटको र्स्वर्गलाई माफ गर्न
तिम्रो सत्तालाई थेग्नेहरू पनि छन्
थेगून्
शकुनी राजनीतिका
दोपायाहरू पनि छन्
हुन सक्छ
उनीहरू तिम्रा निम्ति केही गरून्
तर यो सबै अब
काम नलाग्ने गरी भुत्तिएको छ
सबैथोक बद्लिएको छ महाराज
समय ब्यूँझिएको छ
इतिहासको मूर्च्छनाबाट ।
पाइतलाहरू
तिम्रो अभेद्य दुगतर्फबढिरहेछन्
इतिहासको अँध्यारोमा निर्मित
तिम्रो दरबारको जग
नराम्ररी हल्लिरहेछ
नयाँ इतिहास लेख्न
आतुर छन् कलमहरू
कसले छिमल्न सक्छ
यस नयाँ दीपलाई –
सब थोक बद्लिएको छ महाराज
समय
इतिहासको दुःखदायी
मूर्च्छनाबाट ब्यूँझिएको छ ।
– काठमाण्डौ
(स्रोत : नेपालीकविता डट कम)