कविता : केही मन छैन

~इश्वरवल्लभ~

त्यो बेहानको उज्यालोले कहीं दाग छोडेको छ ,
कहीं आकाशनिर नीलो आवाज छोडेको छ ,

झङ्कृत तुल्याएर पूरा परिवेशहरुलाई ताराहरु जस्तै,
म आउनेछु भन्दै पहेंला फूलहरु टेक्तै,सुम्सुम्याउँदै ,
छाम्दै उकालो ओरालोहरुलाई ,

उसका बलेंसिका रंगजस्ता अनुभूतिलाई ,
तिमीले केही पनि भनिदिएनौ भन्ने उसलाई पीर हुनु
स्वाभाविक छ,
ऊ गाईजात्राको मुखुण्डो हो,
पूरा चादर सडकमा लतारेर हिंडिरहेछ ,
र हरेक डबलीमा नाच्ने देवतालाई
ऊ चिन्न खोछ ,

ऊ जात्राहरुमा आफ्ना सबै परिवारसित जान खोज्छ,
बूढो रूखले प्रतिज्ञा गरेजस्तै,
उसले गरेका प्रतिक्षाहरु जताततै अल्झिएर बस्छन् ,
सबै प्रतिक्षाहरुलाई समेटेर जम्मा गर्न खोज्न चाहने उसको इच्छा ,
अद्भुत छ |

बांगा टिंगा रंगका रेखाहरु जस्तै हुँदारहेछन्,
उसले हेरेका बैंसहरु ,
आफ्नै जस्तो पनि लाग्ने कतिले टाढाको इच्छा जस्तो ,
कल्पना , सानो माउसुलीले भाग्न चाहिरहेको
परका कालो ओडारसम्म ,
लुक्नलाई नदेखिने गरी कसैको आँखामा
भिज्नलाई नसुक्ने गरी कसैको बैंसमा ,
उसले हिंडिरहेका यात्रालाई बाटोमा नटेक्नू भन्ने आज्ञा !

जानदिन पर्छ नफर्किउन्जेल भनेको यस्तै हो
सयपत्रीको फूल फुलेको जस्तो दशैं र तिहारमा ,
र सायद त्यसैले मलाई उसलाई जस्तो मलाई उसलाई जस्तो कहीं जान मन छैन
र उसलाई जस्तो तिमीकहाँ आउन पनि मन छैन |

(स्रोत: कविता सङ्ग्रह “आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्”बाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.