कविता : विरहिणीका उपर सखीको प्रश्न

~लेखनाथ पौड्याल~

जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी
बसी वजन ठाउँमा नयन नासिकामा धरी ।
विचार कुन तत्वको गरदछ्यौ अकेली बनी
सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।।

शरीरभर बाहिरै झलकदा नशाजाल यो
विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो ।
झुकीकन महेशको गरदछयौ पुकारा पनी
सखी भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।२।।

घडी विकट भस्त्रिका स्मरण हुन्छ नि:श्वासले
घडी अचल भै तिमी अडदछयौ सुखाभासले ।
विलक्षण छ वायुको गति बुझन्न केही पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ?।।३।।

वहाइ पसिना घना खलखली, सही कम्पन,
बलैसित उठायिछौ सब सहस्र पत्रासन ।
झिजो बहुत मान्दछयौ अलिक बात चल्दा पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।४।।

चढयो अब शनै: शनै: पवन कण्ठमा भन्दछयौ
विशालतम विश्व यो सकल शून्य झै ठान्दछयौ ।
बसी फगत सुन्दछयौ मधुर शान्त गुप्ती ध्वनि
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।५।।

जिऊ सब शुकिशक्यो, पलक लाउँदीनै रती
कुनै विषयमा पनी सुमुखि ? छैन भन्छयौ मति ।
असम्भव छ के अहो अ-च-ल-यै हुनामा पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।६।।

घडी तिमि लगाउँछयौ फगत दृष्टि नाडीतिर
घडी विविध चक्रको विषयतर्फ दिन्छयौ सुर ।
विचारकन गर्दछयौ बहुत कुण्डलीको पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।७।।

घुमाइ मनमा सदा प्र ण व लाइ नै बेसरी
निरन्त-र-त-रङ्गको मधुर तान एकै धरी ।
मुनिव्रत लिंदालिंदै शुकिशक्ये यसै जीवनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।८।।

चढयो चढनुसम्म यो अ-त-नु-वेघको वैभव
खडा छ पिंजडविषे फगत ‘हंस’ मात्रै अब ।
म देखदिन खेचरी हुन विलम्ब कत्ती पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।

निरन्जन निरीह निर्भय नि-तान्त निर्लेप यो
स्वरुपकन देखदा मन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनी
सखी ! भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।

(स्रोत : सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.