~अन्जु अञ्जली~
ढोकालाई सिमाना बनाएर
भित्र र बाहिर उभिएका थियौं
तिमी र म,
आँखाभरी अव्यक्त रारा बोकेर
मनभरी शुषुप्त ज्वालामुखी बोकेर
वायाँ छातिमा प्रेम
दायाँ छातिमा कर्तव्य सिउरिएर
विदा माग्यौ तिमीले
आफुभन्दा प्रिय जीवनसाथीलाई
आफुभन्दा प्रिय आफ्नो छायाँलाई
दुश्मन बिरुद्ध धावा बोल्न
तिमी लाग्यौ युद्धमैदानमा,
तिमी युद्धमा गएसँगै
मभित्र शुरु भएको छ अर्को युद्ध
तिम्रो सम्झनाको
तिम्रो प्रेमको
तिम्रो अवस्थाको
मनभरि मडारिएर संकाको सुनामी
सोच्दैछु तिमी र युद्धलाई
सोच्दैछु मेरो सिउँदो र युद्धको सिमानालाई
के युद्धवाट तिमी सकुसल फर्कन्छौं ?
या त कुनै अङ्ग गुमाएर
बहादुरीताको घाउहरु तकमा बनाएर
छातिमा भिरेर आउछौ ।
फेरि सोच्छु,
के युद्धले प्रेमको भाषा बुझ्न सक्छ ?
के युद्धले आँसुको मुल्य र हृदयको पुकार सुन्न सक्छ ?
म एक वहादुर सिपाइकी स्वास्नी
म एक बहादुर सिपाइकी छोरी
म एक बहादुर सिपाइकी आमा
गर्व छ मलाई यो सम्वोधनको
गर्व छ मलाई यो परिचयको
सँगसँगै छ एउटा प्रश्न पनि
आफु जस्तै मान्छे मार्नु के बिजय हो ?
के युद्धले कविता बुझ्छ ?
के बन्दुकको नालवाट कमलको फूल फूल्छ
जसलाई म जस्ता सिपाहीको स्वास्नी, छोरी र आमाहरुले
सप्रेम आफ्नो शिरमा शिउरिन सकोस ?
भोजपुर, कुलुङ
हाल : बेलायत