~मनप्रसाद सुब्बा~
धरतीको धमिलो र फुस्रो पानामा
शिशिरले आफ्नै उपसंहारको
अन्तिम अरफहरु लेखिरहेथ्यो ।
खचेरासरिका क्षितिजका आँखाहरू
बुढ्याइँको तुवाँलोले धमिलिएका थिए ।
कुप्रिएका बुढा डाँडाहरू
नाङ्गा रुखहरूका लौरो टेकेर
दिनभरि मधुरो घाम तापिरहन्थे ।
हो, यस्तै समय/मेरो बुबा
आफ्नो आखिरी ढुकढुकी गन्ती गर्दै थिए ।
बित्दो शताब्दीको कम्बल ओढेर
यौटा विगत युग बित्दै थए मेरा बुबा ।
उनको आँखामा थियो परम्पराको पानी
जसले मेरा आँखा पनि भिजाइरहेथ्यो ।
त्यै पानीले सिञ्चित् म
एक वर्त्तमान उभिएको थिएँ उनको अघि ।
अनि बिते उनी/घरभरि रिक्तताहरु छोडेर ।
बिते चिसा दिनहरू कति
उनी घरभित्रै हुनुको झझल्कोहरूसित ।
हामी उनलाई बँचाइराख्न चाहन्थ्यौँ सायद
हाम्रा कुराहरू सुनिदिउन् भनेर
अनि हामीले गरेका कामहरू हेर्दै
हामिलाई सह्राना गरिदिउन् भनेर
तर उनको विचार र बोलीलाई चाहिँ अस्वीकारेर ।
झजल्को झस्काहरू बिस्तारै बिलाउन थाले ।
अनि एक दिन देखेँ हिँउँदका पखेरामा
सिमल र फलेदो/फूलहरुमा नाङ्गै व्यक्त भइरहेको ।
रिक्तता झन्झनाइरहेको गरभित्र पनि
नयाँ आएका गौँथलीहरु पसेर
चिर्विराउँदै गुँड बानउँने ठाउँ हेरिरहेको
बाबुको बित्नुमा त्यो चिर सत्यलाई स्वीकारेर
म आफैँ पनि त्यै सत्यमा मिल्न गइरहेको…..
– दार्जिलिङ, भारत