छन्द कविता : आमा

~रमेश भट्टराई ‘सहृदयी’~

छन्द : शिखरिणी

तिमी आमा मेरी हृदयतलकी मालिक धनी
पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि
गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा
तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ ।

अरे संसारैले भनन जननी भुल्छ कसरी
भयो मान्छे स्वार्थी तब त ममता खुल्छ कसरी
जसै पोल्थ्यो, दुख्थ्यो मन भतभती दीन घरमा
तिमी मेरी आमा मकन त हुँ माग्ने हठमहाँ । २ ।

तिमी माते ज्ञानीे भुवन छ उँचो निष्कपटको
तिमी नै हौ खानी भुवनभरकी स्वच्छ घर हो
तिमी नै हौ तिर्थै व्रत र अझ पूजा सब भयो
सबै झुक्छन् आमा जगत जननी शास्त्र बल हो । ३ ।

त साराले बोलून् गुन सब धनी एक जननी
कथा गाथा हाम्रा अघट ममता पावन भनी
खुला आकाशै हो अटल जगमा मातृ ममता
सबै ज्ञानी हुन्छन् घर र परमा एक समता । ४ ।

बढे सारा प्यारा छ शिर उनको हात सबमा
लिई आशीर्वादै कठिन पथको साथ भवमा
परे साह्रो गाह्रो हृदय उनको कोमल कति
तिमी आमा देवी ! भुवनभरकी पूज्य दिलकी । ५ ।

छन्द : शिखरिणी : ISS SSS III IIS SII I S

२०७७÷०१÷११
Ramesh Bhattarai
Lecturer
Adarsha Multiple Campus
Gajuri 1, Dhading

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.