~सहदेव खड्का~
दिनमा सुनसान हुँदो हो मेरो शहर
रातको चकमन्न शुन्यतामा
कुकुरहरु धरती थर्कनेगरी घुक्दा हुन,
छर्लङ्ग आकाशमा उदाईरहेको
जुन अनि चम्किरहेका तारा हेरेर
दङ्ग पर्दै सोच्दाहुन
के भएछ काठमाण्डौंवासीलाई
किन कोइ निस्कदैनन?
धत! भन्दै दपेड्दै कैले श्रीमतीको,
कैले हाकिमसाबको
अनि कैले कस्को कैले कस्को
रिस पोख्ने जड्याहाहरु काँ गए होलान?
असनको डबलिमा दिनभरी भारी बोकेर
रातमा मेरै नजिक सुत्ने ती भरिया दाइ।
काँ गए होलान।
हामिले डिनर गर्ने
त्यो मासु पसल अघिल्तिरको नालिमा
हाड्खुर नभेटेको महिनौ भयो,
पसल थुनेर बकडे दाजै
काँ गए होलान।
किन कोइ बताउदैनन ती कुकुरहरुलाई
कसलाइ सोधपुछ गरून् तिनिहरुले
बिचराहरु!
कति न्यास्रीएका हुंदो हुन।
ढकमक्क ज्याकराण्डाका
बैजनी फुलले शहर
बेहुलीझै शृङ्गारिएको होलान।
ज्याकराण्डाहरु अचम्मै पर्दै होलान।
के भयो मुलुककै भब्य-सभ्य
शहरका नागरिकलाई,
दरबारमार्गमा
मेरो सुन्दररतालाई जिस्काउदै
किन कोइ सेल्फी खिच्न आउदैनन?
टिप्न नस्क्ने भएर मात्रै
नत्र हजारौ प्रेमीहरु मेरा फुलको गुत्छा
प्रियतमालाई भेट चडाउथे होलान।
कति राम्री छु म!
छिट्टै मलाई कसैले नदेखे
मैले अर्को एक बर्ष कुर्नुपर्छ फेरि फक्रन!
किन मेरो फेदलाई मानिसहरुले
पान खाएर थुक्न नअएका होलान?
पोस्टर र पार्चापनि
अस्तिको असिना पानीले पखालिसक्यो!
किन बाल्टी र बुरुस बोकेर
नयाँ पर्चा टांस्न कोई नआएका होलान।
किन प्रेमजोडिहरु मेरो छेको परेर
प्रेमलाप गर्न छोडेका होलान?
फुलहरु पनि सोच्दोहुन,
मानिसहरुले कतै हाम्लाई
देख्नै नपाउने त हैनन।
कतै म कुरुप त भइन
कतै म बुढी त भइन?
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)