~पिपला ढुङ्गाना~
जवानी भरीको माया भरेर
बाटेको बिश्वास को डोरीमा
धमिरा लागेपछि
सपनाहरू बिर्सिएर भोगेको
अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा
किरा लाग्न थाल्छ भन्ने जाने देखि
प्यारी आमा
तिम्रो संझना गाढा भएर आएको छ।
सपनाको बिस्कुन पोको पारेर
तिमीले ननिदाएरै म माथि देखेका
सपनाहरुको धज्जी उडिरँहदा
हावाको त्यो झोक्काले गाडेको
तिम्रो यादको खिल
मुटु सम्म बिझ्नेगरि चस्किरहेछ बाबा
जब अनिँदा सपनाहरुसँग
मस्त निन्द्राको सपनाको तालमेल हुँदैन
जिन्दगी बोझ लाग्ने रहेछ,
निरस लाग्ने रहेछ,
बकवास लाग्ने रहेछ,
अनि ग्लानी लाग्ने रहेछ
हो आजकल यस्तै लाग्छ जिन्दगी ।।
सुनेथेँ जति पुरानियो उति पक्का हुन्छ रे नाता
तर खै
पुरानो डुंगा जस्तो प्वालै प्वाल परेको छ अाजकल
आशुको भेल पसेरै डुबाउला जस्तो ।।
विश्वास पुरानिन्छ भनेर
तिमीले सिकाइदिएकि भएपनि त हुन्थ्यो
तिमी दुई बाहेकको माया आकर्षण मात्रै हो भनेर
बताईदिएकि भए पनि त हुन्थ्यो
हेर त तिमीले त्यति नसिकाईदिनाले
मैले मायाको अर्थ खुट्याउनै सकिनछु
मलाई ठुलो भ्रम सँग प्रेम भएछ मेरी आमा
बल्ल आज बिउझिएको छु।
र पछुतो लागेको छ
एउटा हिंश्रक निद प्रति
विश्वास चुडिएर बज्जारिएको
मनको घाउ आलो छ
थाहा छैन शंकाले रेटेको मायाको घाँटी
ठीक होला नहोला
अति समर्पण बाट निमोठिएको
प्रेमको मुना पलाउला नपलाउला
चाहन्छु तिमी अाकास धर्तीको
भरोसा नतोडियोस्
उठ्ने छु पक्कै अझै म हारेको छैन
तिम्रो पवित्रता प्रति अौँला ठड्याउने हरुलाइ
थाहा होस कि बाँकी चार अौँला उनिहरुलाई नै इंगित गर्दैछन् भनेर ।
अर्को एक पटक
हिम्मत गरेर लड्दैछु एउटा जंङ्ग
मेरो हिम्मत बनेर खडा हुनु ।।
गल्ती ठहरिएछ भने ठुक्क हुनु
अन्तिम अन्तिम गल्ती हुनेछ ।।
तर नभन्नु अविश्वास माथि विश्वास को जलप लगाउन ।।
छोरी भएकै कारणबाट
मुटु माथि पहाड खस्दा सहनुपर्छ नभन्नु।
नभन्नु समाजले के भन्ला भनेर
तिमी दुईको विश्वास मेरो पुर्ण विश्व हो
आउ र अाँट भरिदेउ
मेरो अन्तिम लडाइँको लागि
र बनाउ मलाई योद्धा जिन्दगीको ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)