~जनार्दन रिजाल~
म जन्मे पहाडको कन्दरामा
तराईका हरिया फाँटहरुमा
यायाबर झै घुम्दै उफ्रिदै
विताएका मेरा थाकथलो छोडेर
घरपरिवारलाई चटक्क छोडेर
पापी पेटको लागि
पर देश भासिएको
कर्म गरी एक गाँसको जोहो गर्न
शहर बजार ईटा भट्टामा
आफुलाई होम्दै
यायावर बनी रोजिरोटिका लागि
यो महामारी कठै ठूलालाई मार्न
सानाका भोको पेटमा लात मार्न
कहिले बन्दका नाउँमा
कहिले रोगका नाउँमा
बेला बेलामा आईरहन्छ
नाङ्गो नाच नाचिरहन्छ
मृत्युको
अपराधी बन्द अपराधी रोग
म आफनो संझेर
रातदिन नभनी बोर्डरमा
दिनरात नभनी राजमार्गमा
तर खोई मेरो आफ्नो
पैसा विछ्याएर लिएको घर
घरबेटिले उजाड बनाईदियो
श्रम दिएर किनेको काम
मालिकले लत्याई दियो
पिडा र विचलन भएको मन
बुझाउन देश भनेर फर्केको
आमा वित्दा समेत
क्वारिन्टाईनमा किरिया गराई दियो
राजमार्गमा हिड्न समेत
अनुमति लिनुपर्ने
भोक भोकै सडकमा नै लडाई दियो
म देश हराएको मान्छे
म माया हराएको मान्छे
म मानवता हराएको मान्छेको भिडमा
म श्रमजीवि मान्छे ।
– २०७७।१।४
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)