कविता : मलाई तिम्रो हुने मन छ

~हिमाल सरोवर~

तिम्रो नजिकैको छिमेकी हुन सकिन ठिकै छ,
तिमिसँग दोस्तियारी गर्न मन छ,
तिम्रो गट्टा खेल्दाको साथी हुन सकिन त के भो,
तिमिसँग लुकामारी खेल्ने मन छ,
तिमी पल्लो गाउकी हौ,म वल्लो गाउँको हुँ ठिकै छ,
तिमी त्यही गाउको माथिको लेकमा गोठालो जानू,
म मेरो गाउको माथी लेकतिर गोठालो जानेछु,
म वारिबाट पातको सुशेली हाल्नेछु,
तिमी पारिबाट सुशेली हाल्नु,
यसरी तिमिलाई जिस्काउने मन छ,
तिम्रो आमाले घाँस काट्न अर्हाउदा,
गोठालो नै जाने तिम्रो बहाना बन्ने मन छ,
तिमी हिड्ने बाटोको फुल बन्न नसकुला,
काँडा पन्छाउने मन छ,
तिम्रा हरेक थकानहरुमा चौतारी बन्ने मन छ,
तिमी अडेश लाग्ने बूढो रुख हुने मन छ,
साच्चै तिम्रो निम्ति मलाई वसन्त बनेर फुल्ने मन छ,
शिशिर बनेर झुल्ने मन छ,
तिम्रै तिम्ती हिउद बनेर झर्ने मन छ,
शरदहरुमा तिमिसँगै मुस्कुराउने मन छ,
मनै त हो ,यो मन तिमिलाई पछ्याईरहन्छ,
मलाई तिम्रो ऎना बनेर तिमिलाई हेर्ने मन छ,
तिम्रो सोर श्रृङ्गार बन्ने मन छ,
तिम्रो सुन्दरता भएर तिमिमा पहिरिने मन छ,
तिम्रो हरेक सुन्दरतामा आफुलाई समेट्ने मन छ,
यो मनमा के छ के छ,यो मन त पागल छ,
खयर यो मनको कुरा यतै छोडौं,
तिमिलाई पाउने चाहना,
तिमिलाई पाएपछि पाईरहने चाहना,
तिमिलाई कहिल्यै नगुमाउने चाहना,
यो चाहनाहरुको चाहनाले पनि तिमिलाइ नै चाहन्छ,
तिमिलाई नै प्रेम गर्छ।

– हिमाल सरोवर ठकुरी ,सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.