कविता : मैले एउटा कविता लेख्नुछ

~बिपिन शर्मा~

मैले एउटा कविता लेख्नुछ
विद्वानहरु भन्छन् पढ्नेले मात्र लेख्न सक्छ
म नयाँ र पुराना पत्रिकाका पाना पाना पल्टाउँछु
…………….पढ्छु-
आजको रात रंगिन बनाउनुस्
सफलताको प्रतिक…….धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ
तपाई म र ब्यागपाइपर
मदिरा सेवन गरेर सवारी चलाउनु मृत्युलाई निम्त्याउनु हो
साहसीको एक मात्र चाहना
क्यान्सरको उपचार गराउँदा गराउँदै युवक बेखर्चि
—— रेष्टुरेण्ट एण्ड बार तपाईको सेवामा सदैव तत्पर
मोटरसाइकल दुर्घटनामा मृत्यु
——-क्याविन रेष्टुरेण्ट, —–दोहोरी साँझ, —–डान्स रेस्टुरेण्ट
स्वागत छ तपाईलाई
प्रहरीद्वारा क्याविनमा छापा
दुई दर्जन गिरफ्तार
अस्लिल नृत्य गर्ने पक्राउ

भै गो कविता बन्न सकेन !!!!!!!

तर मैले एउटा कविता लेख्नैछ,
……. कसै गरि
नयाँ श्रृङ्खला समाचारको‍-
यौनकर्मीहरु प्रहरीवाटै शोसित
बम्बै पुगेर फर्केकी शुसिला (नाम परिवर्तन) गाउँमा तिरस्कृत
चम्पा प्रहरि खोरमै बलात्कृत
आफ्नै बाबुद्वारा सानी बेचिई

उफ !!……बिद्वानहरु झुठा रहेछन्
मैले कविता लेख्न सकिन
भैगो मैले लेख्न सकिन
…………………
……………..
तर मैले लेख्नै छ एउटा कविता
मैले कसै गरि लेख्‍नुछ
विद्वानहरु भन्छन्
पढ्नुपर्छ अझै धेरै पढ्नुपर्छ लेख्नको लागि

म अरु पाना पल्टाउँछु-
प्रेममा धोका पाउने युवकद्वारा आत्महत्या
प्रेम प्रस्ताव अस्विकार गरेको आक्रोसमा हत्याको प्रयास
दाइजो नल्याएको निहुँमा श्रीमतिको हत्या
एक युवति माथि सामुहिक बलात्कार
सात वर्षिय वालिकाको बलात्कार पछि हत्या
दुई युवति हराएको सुचना—-

मेरो कविता !!!!! मेरो कविता ????
यहिं कतै हुनुपर्छ
म खोज्छु……….
परिक्षामा असफल भएपछि विष सेवन
हाम्रो विद्यालयवाट शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तिर्ण
गरिविको कारण गिटि कुटेर पेट पाल्न बाध्य छन् धादिङका यि बालकहरु
पुस्तकालय, प्रयोगशाला लगायत सुविधा सम्पन्न स्कूलमा भर्ना खुल्यो
परिक्षामा कम अंक आएकोमा विद्यार्थीले विश्वविद्यालय जलाए
समुद्रपार अध्ययनकोलागि जान चाहनेलाई सुवर्ण अवसर
सडकनै घर हो उसको आकासनै छानो हो

अहँ कविता बन्न सकेन

तर कसै गरि लेख्नुछ एउटा कविता

म अझै पढ्छु-
—–ज्यूलाई गो.द.वा. पाउनुभएकोमा हार्दिक बधाई
आर्थिक अभावले पतिको लास उठाउन पनि सकिनन्
—– को ४५औं दिनको पूण्यतिथीमा हार्दिक श्रद्धान्जलि
ऋण तिर्न नसकेर एकै परिवारका पाँचजनाले सामुहिक आत्महत्या गरे
बैंकका कर्मचारीको मिलेमतोमा बिनाधितो ऋण प्रवाह
पूर्वाग्रह राखेर सरुवा गरियो
बैंकको कालोसूचिमा मन्त्रिपनि
भ्रष्टचारीलाई नछोड्ने सरकारको प्रतिबद्धता
यो राजनीतिक प्रतिशोध हो
अवको आन्दोलनमा जनताले साथ दिनै पर्छ
प्रेसले राष्ट्रप्रतिको दायित्व भुल्न हुँदैन
न्यायलयले संविधानको सहि ब्याख्या गर्नुपर्छ
संविधान मुर्छित छ
होईन संविधान मरिसक्यो
हलोजोतिरहेको किसान गोलि लागेर ठहरै
चन्दा नदिएकोमा शिक्षक खेदिए
आतंककारीलाई सहयोग गरेको आरोपमा युवक वेपत्ता पारिए
यात्रुबाहक बस एम्बुसमा- ४० को मृत्यु दर्जनौं घाइते
यो मानव अधिकारको उल्लंघन हो
दोहोरो मुठभेडमा ५ आतंककारी र ५ सुरक्षाकर्मीको मृत्यु
घटनामा सात निर्दोष गाउँलेको ज्यान गयो
दुवै पक्षले जेनेभा सन्धिको पालना गर्नु पर्छ
बम विस्फोटमा दुई बालकको मृत्यु
घटनाको जिम्मेवारी हाल सम्म कसैले लिएन ?? !!!
……..त्यो भुलवश भएको हो, अव त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गर्छौं
घाटि रेटेर पाशविक हत्या
हामी यसको घोर निन्दा गर्छौं
शान्ति स्थापनाको बाटोमा कसैलाई अवरोध नबन्न सरकारको चेतावनि
गैह्र घातक सैन्य सहयोग नरोकिने
हातहतियार सहयोग निरन्तर रहने मित्रराष्ट्रहरुको प्रतिवद्धता
शान्ति एकमात्र चाहना
………………..
………………..
बार्ता, संविधानसभा, आन्दोलन, सर्वदलिय सरकार
प्रजातन्त्र, गणतन्त्र, राजतन्त्र, निरंकुश तन्त्र
विदेशी सहयोग, आर्थीक अध्यादेश, भन्सार, कर
शिक्षा, सुचना प्रविधि, सडक, सञ्चार
ग्रामिण विकास, खानेपानी, ढलनिकास
बन्द, चक्काजाम, तोडफोड, आगजनी
हत्या, बलात्कार, आत्महत्या
……………………………
……………………….
!!!!!!!!!!!!!
???????
आजकल कति राग छन्
कति रस छन्
कति छन्द छन्
कति ढाँचा छन् समाचारका पनि
कति नयाँ ढंग छन् लेखाइका पनि
विद्वानहरुले ठिकै भनेका हुन् पढ्नु पर्छ लेख्नलाई,
तर विद्वानहरुले गलत भनेका हुन्-
मैले यतिका पढेर पनि कविता लेख्न सकिन
अहँ, अहिले कविता लेख्न सकिन
पत्रिकको पानामा अझै धेरै समाचार बाँकी छन्
तपाई त्यहि पढ्दै गर्नुस्
म लेख्ने कोशिस गरूँला
मैले एउटा कविता लेख्नैछ कसैगरि ।।

Bipin Mishra
Gairi Dhara, KTM

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.