~दिव्य गिरी~
भाइ भाइको काटमार हेरेर रुन्छ पहाड
बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड ।
दिनभर गुराँस वनमा गोठालो जान्छ उ
रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।
कति आए कति गए ऊ सधैँ उस्तै उस्तै छ
र पनि समय समयमा नेता चुन्छ पहाड ।
सपना सपना नै हो सब जान्दा जान्दै पनि
हरेक रातको सपना बटुली माला उन्छ पहाड
जहिले जहिले भेट्छु उसको मुहार देख्छु
सधैँ भोक र शोकमा डुबेको हुन्छ पहाड ।
गाउँ सुनसान हुँदैछ देश अरु विरान बन्दैछ
हिजोआज शान्तिको खोजमा राजधानी धुम्छ पहाड ।