~भुपेन्द्रा सुब्बा~
म तोते बोल्दै
टुकूल-टुकूल हिँड्ने हुँदा
जन्मेको हुनुपर्छ
मेरो बाजे स्व. अम्बरधोज सुब्बा।
त्यसपछि ऊ
कथा जस्तै हुर्कँदै गयो।
हेर्दा हेर्दै ऊ
हाँसने भयो
खेल्ने भयो
र म सँगसँगै हिड्ने भयो।
म जति जति हुर्कँदै गएँ
मेरो बाजे उति नै जवान बन्दै गए
र उसको जवान पाखुरामा
तागेरानिवाफुमाङ्ले थुपारेको
आकाश
धरती माटो ढुङ्गा चल्मलाउन थालेपछि
बनियो एउटा घर।
यही घरमा मेरो बाऊले
उनको पहिलो सपना देखे
र कविता लेखे।
(यो अर्कै कुरा हो कि मेरो बाजेले
बाऊका कविता कहिल्यै पढेनन् र थप्पडि पनि मारेनन्।)
म स्कूल जाँदा
ऊ बारी जान्थ्यो।
मैले स्कूलमा अ आ सिक्दा
ऊ बारीमा आफ्नै अक्षरहरु उमार्दै हुन्थ्यो।
उसले उमारेको अक्षरका स्वरहरुले
घर बोल्ने भयो
घरले गीत गाउन सक्ने भयो।
म खेल्न जान्थें
ऊ हाट भर्न जान्थ्यो।
म साथीहरुसित बाझ्दै मिल्थें
ऊ जिन्दगीसँग जुझ्दै उठ्थ्यो।
म कहिले रुन्थें
उसले भगवत् गीता जत्तिकै मीठो
पालाम गाउँथ्यो।
म किशोर अवस्थामा पुग्दा
ऊ फैलिरहेको आकाश भइसकेको थियो।
र एकदिन मेरो सपनामा
उनी आए
मेरो नाडी छामे र भने-
”तैंले सुनिराखेस्!
अम्बरको सन्तान होस् तँ!
तँ जहाँ जान्छस् जहाँ पुग्छस्
त्यहाँसम्म तेरो शिरको आकाश भएर म पुगेकै हुनेछु!
तँ जहाँ हुन्छस्
त्यहाँसम्म र त्यहाँदेखि उता पनि
म फैलिरहेकै हुनेछु!”
म बिम्झँदा
घरमाथिको नीलो ब्रम्हाण्डमा
अम्बरधोज
थेबा साम् भएर विराजमान भइसकेको थियो। ₹
(फेब्रअरी १४, मेरो बाजेको पुण्यतिथी। चोला छैन उनको अहिले। तर सम्झनाको आकाश छ आँखैभरि।)
(स्रोत : नेपालीकविता डट कम)