~नदीश~
हामी चेतनशीलहरु
चेतनाहरु छरपस्ट फुटपाथमा बिक्री गछौं
अनि
थोरै आधुनिक सपनाहरु खरिद गछौं
सजाउँछौं
सपनाहरु आखिर सपनै न हो
जब बासी हुन्छन् सपनाहरु
जब गन्हाउन थाल्छन् बासी सपनाहरु
तब
हामी चेतनशीलहरु
बासी आधुनिक सपनाहरु
फेरि छरपस्ट फुटपाथमा बिक्री गर्न बाध्य हुन्छौं
सिन्किको भाउमा
आखिर तिमीहरु हामीजस्तै न हो
आखिर हामीहरु तिमीजस्तै न हो
अनमोल सपनाहरु
सस्तो भाउमा किन्न लालायित हुन्छौं
तिमीहरुपिन
सजाउँछौं उस्तै गरी
गन्हाउन थाल्छन् उनै सपनाहरु
तिमीहरुलाई पनि ।
हामी आधुनिक सपनाहरुको नगन्य मोल
झुत्रो पटुकामा कुटुरो पारेर
मौलिकता किन्छौं अलिकति
हामी रैथानेहरु
सपनाहरु जब विपना हुँदैनन्
जब सपनाहरु
केबल सपनै जस्तो लाग्न थाल्छ
तब रमाउन थाल्छौं मौलिकतामा
या भनौं नाटक गर्छौँ
खरले छाएको झुप्रोभित्र
धुँवाको मुस्लोमाथि
अलिकति बासी ढिँडो मस्काउँदै
मागिएका एक हल गोरुसँग
रिस खन्याउँछौं
भाको त्यही एउटा सुर्को
बाँझो भएको निहुँमा
हामी नाटकका जीवन्त अभिनयकर्ताहरु
हामी रैथानेहरु
आधुनिक सपनाहरुसँगको लडाइँमा
जब हामी हार्छौं
हामी विजयओत्सव मनाउँछौं
हाम्रो मौलिकताको
हाम्रो अस्तित्वको
हाम्रो पहिचानको ।
(स्रोत : नेपालीकविता डट कम)