~यश घिमिरे~
तिमी बैचारिक आगो ओकल
म गर्छु उर्जा ब्यबस्थापन
किनकी
यहाँ सल्काइन्छ निस्फिक्री ‘आगो’ हरु
आफ्नै घर डढाएर बासुरी बजाईन्छ ||
देख्यौ तिमीले पनि
देखें मैले पनि
हवार हवार बल्दो चेतनको ज्वाला
रातो रहरलाग्दो प्रगतिको लाभा
ति उर्ध्वागामी ज्वाजल्य लप्का
निमेष भरमै
कुतर्कका खेलाडी हरु
हिनताबोधी ‘जुडासे’ हरु
अकर्मण्य यथास्थितिबादी हरु
पंक्तिबद्द
ओस्सियको सालको पात
गरिस्थ भुजामा बेर्दै
झ्याप झ्याप निभाऊन उध्यत रहे
निर्ममता पुर्बक कुल्चिन अभ्यस्त भए
मेरो साथी !
तिमी बिद्रोहको आगो खेलाऊ
म बढाउछु सहनशक्ति
किनकी
तिम्रो आँगभरी गरिबिको सिस्नो दलेर
अट्टहास गर्दैछन ज्यानमारा हरु
भोग्यौ तिमीले पनि
भोगें मैले पनि
ति लहलहाउदा प्रगतिका मुन्टा हरु
कल्कलाउदा भबिस्यका सुनाखरी हरु
निसास्सिन थालेका छन
ऐजेरू निस्फिक्री मौलाएको छ
बनमारा बेफिक्री डुल्दो छ
मेरो साथी !
तिमी परिबर्तनको आगोले डढेलो सल्काऊ
म उमार्ने छू स्वर्णिम भबिस्य को पालुवा ||
हाल: इजराएल
(कवि दीप्स साहको संयोजनमा ‘ईजराईलका नेपाली कविता’ विशेष)
(स्रोत : नेपालीकविता डट कम)