~डिल्लीराज अर्याल~
बाटा, घाट, बजार शून्य सरि छन् शोभा घट्यो के भयो?
मान्छेका मनभित्र खास अहिले आँधी उठेको छ यो
काला बादल धुम्मिए गगनमा धर्ती अँध्यारै भयो
कल्ले शान्ति जुटाउला र ? मनमा उल्लास जाग्ला अहो?
लाखौं मानिस शोकसागर डुबे जस्ता हुँदैछन् जहाँ
लाखौंका मन दु:खले व्यथित छन् के भन्नु मैले कहाँ ?
राप्तीको जल लाशले मनुजकै दुर्गन्ध फैलाउँछ
कर्णाली पनि रक्तमै मनुजका उर्लन्छ,सुस्साउँछ
केले चित्त दुखेछ सोध्न नहुने आफन्त हामी पनि
केले रोक्न सकिन्छ युद्ध?मनमा सोचै नउठ्ने अनि ?
यो बाढी किन चाहियो रगतको ? रोकेर रोकिन्न र ?
छैनन् सोच,विचार,जाँगर भने बन्दैन हाम्रो घर ।
मान्छेले अघि मात्र हाँस, कुखुरा, पाडा र बोकाहरू
काट्थ्यो ईश्वरका अगाडि विधिले भै धर्म मान्ने बरू
त्यस्तो रीति परम्परा नजरमा हाम्रो रहेको थियो
कस्तो ज्ञान प्रभावले मनुज नै काट्ने र मार्ने भयो ?
हत्याकै भरमा यहाँ मनुजले सामर्थ्य देखाउँछ,
पैसा,मान र शान निम्ति उसले संसार रित्याउँछ ।
आमा, बाबु र दाजु, भाइ उसले गन्दैन कोही पनि
पैसा हुन्छ भने नहून् अरु कुरा बन्दै गए भो धनी
एकातर्फ छ होड यै रकमको खोस्ने, बटुल्ने कुरो
अर्कातर्फ मनुष्यमाथि उसको दादागिरीको कुरो
मान्छेले जति नै गरें भनिरहोस् संसारमा उन्नति
यै हो चाल भने हुनेछ यसको चाँडै ठूलो दुर्गति
हाम्रा पूर्वजका अनन्त सपना, संसार सच्याउने
सारा मानवको हितार्थ करुणा पीयूष बर्साउने
दैवी शक्ति समेत कल्पित गरी आनन्द सर्साउने
त्यागी आज सबै,बन्यौं दनुज झैं संहार मच्चाउने
यौटा वर्ग हराउँदैछ अहिले पीडा, व्यथा, शोकले
आँखा तिर्मिर हुन्छ, ढल्छ पथमै कम्जोर भै भोकले
जाडो, घाम, झरी सहे, तन सधैं खाना नपुग्दा गले
देख्ने को छ र खै ? समस्त ममता बिर्स्यो कि यो लोकले ?
एकातर्फ मनुष्य अन्न घरमा राख्न्छन् भकारी भरी
अर्कातर्फ छ भीड त्यै सडकमा मागेर बाँच्ने गरी
यस्तै चाल रह्योभने मुलुकमा आकाश धुम्मिन्न र
बाढी जान्छ अवश्य, एक दिन त्यो हट्दैन के मेघ र ?
मान्छेको नबुझेर खास महिमा आफ्नै भलोमा अति
स्वार्थी मानवले स्वयं मनुजको गर्दैछ बेइज्जती
त्यल्ले सुन्दर हुन्न हुन्न धरती, बन्धुत्व बिर्सेपछि
साझा हो धरती भने मनुज भै लाचार बस्ला कति ?
(स्रोत : नेपालीकविता डट कम)