~राममाया अधिकारी~
म मूर्छित छु सबै माझ
म निन्द्रित छु सबै माझ
म पिल्सिएको छु तातो ज्वरोले
र त बरबराउँदै छु
मेरो सपना बेहोसमा हुन्छ
मेरो विपना पनि बेहोसमा हुन्छ
र त रमाउँछु सधैं निन्द्रित र मूर्छित अवस्थामा ।
म गन्तव्यहीन भएछु
म औचित्यहीन भएछु
आधिबाटोमा अलपत्र भएको
परिचयहीन यात्री
न तल जान सक्छु न माथि
ए कोही छ – मेरो सामु !
आऊ मेरा हात समाऊ
म वेसहारा भएँ,
म रोगी भएँ ।
म कहाँबाट आएँ र कहाँ जाँदैछु
मलाई कसले ल्यायो यहाँसम्म
र किन छाडेर गयो
म केही जान्दिन, म बेहोसमा छु
म मुर्छामा छु,
ममा होस भरिदेऊ
म प्राणहीन भएँ,
म रूपहीन भएँ ।
साँच्चै,
मेरो रूप कस्तो छ ?
मेरो आवाज कस्तो छ ?
म स्थूल छु वा सूक्ष्म
म ठोस छु वा तरल
म एक छु या अनेक
भन्न सक्छौ … ?
म तिम्रै पसिनाको मयल
म तिम्रै प्राणको प्रतिबिम्ब
भुल्यौ मलाई ?
यदि सक्छौ भने देऊ मेरो पहिचान
हजार आत्माको सामु
उच्च स्वर निकालेर ।
नत्र भने
म अझै गर्जने छु आकाशमा
म अझै वर्षे छु धर्तीमा
बस्ती-बस्तीबाट उच्छ्वास बोकेर
रगतको भोक मेटाउन ।
होसियार ! मूकदर्शक जनता
म तिम्रै मनको खुल्दुली
म तिम्रै प्रतिछायाँ
लोकतन्त्र !
नत्र म उग्रचण्डी बन्छु
रगतले भोक मेटाउन
म तिम्रैरै प्रतिछायाँ लोकतन्त्र !
(स्रोत : नेपालीकविता डट कम)